मंगलबार, वैशाख १६, २०८२

धितोपत्र बोर्डद्धारा जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू

नेपालखोज २०७७ असोज १४ गते १७:५८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गरेको छ । बोर्डका अनुसार अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४”, “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३” तथा नेपाल धितोपत्र बोर्डबाट जारी भएको “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६”मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्न तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमित तथा व्यवस्थित गर्नका लागि आज बुुधबार देखि जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागु गरिएको हो ।

बोर्डका अनुसार यो म्यानुअल सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासअनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी)को मापदण्डहरुलाई समेत आधार मानी तयार गरिएको हो । यो म्यानुुअल धितोपत्र व्यवसायीहरुको जोखिममा आधारित रहेको, धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग स्केल १ देखि ५ को बीचमा गर्ने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको तथा धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे बोर्डले जनाएको छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन गर्दा धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिमका आधारमा गरिने छ ।

यो विशेषताहरु भएकोे सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू भए पश्चात बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्थालाई अझ प्रभावकारीरुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कामकारवाहीहरु थप नियमित तथा व्यवस्थित भई लगानीमैत्री तथा पारदर्शी धितोपत्र बजारको विकासमा टेवा पुग्ने अपेक्षा बोर्डले गरेको छ ।

प्रतिक्रिया