दुर्व्यसनीमा युवा : एक जटिल सामाजिक सवाल
“जब सूसुचित र सशक्त युवाहरू समाजप्रति आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छन्, तब उनीहरू विश्वलाई परिवर्तन गर्ने सामथ्र्य राख्छन्” – जेन गोडाल

प्रशिद्ध मानवशास्त्री जेन गेडालको भनाईझैँ विश्वका अधिकांश क्रान्तिकारी परिवर्तनहरू युवाको सक्रियतामा नै भएका छन् । सामाजिक न्यायसहितको सभ्य समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । तर, जब युवाहरूमा नै गलत आचरण हावि हुन्छ, जब युवाहरू नै गलत बाटोमा लाग्न थाल्छन् तब समाज गतिहिन हुन थाल्छ । अहिले ‘युवा दुर्व्यसन’को समस्याले विश्वलाई नै गाँज्दै लगिरहेको छ । यो समस्याबाट नेपाल पनि अछुतो रहन सकेको छैन । यो समस्याबारे युवा स्वयं नै सचेत हुनु जरुरी छ र युवा दुर्व्यसनीको बढ्दो क्रमलाई रोक्नका लागि युवाहरू नै जागरुक हुनु आवश्यक छ । यसको लागि युवा दुर्व्यसनका कारण र यसले पारेको प्रभावबारे वहस हुनु जरुरी छ । यसै सम्बन्धमा चर्चा गर्ने उद्देश्यले यस लेख तयार पारिएको हो ।
विभिन्न देशको युवासम्बन्धी उमेरगत परिभाषा फरक फरक छ । संयुक्त राज्य अमेरिकाले २५ वर्षभन्दा कम उमेरकालाई युवा मानेको छ भने जापानमा ३० वर्षभन्दा कम उमेरकालाई युवा मानिन्छ । त्यस्तै बेलायतले १६ वर्षदेखि २९ वर्षसम्म, भारतले १५ वर्षदेखि २९ सम्म र दक्षिण अफ्रिकाले १४ वर्ष देखी ३५ वर्षसम्मका उमेर समूहलाई युवा मानेको छ । नेपालको राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई युवा उमेर मानिएको छ । यस परिभाषाअनुसार सन् २०११ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४०.४ प्रतिशत युवा वर्गमा पर्दछन् ।
युवा परिवर्तनको संवाहक हो । राज्यको शासन प्रणालीको परिवर्तन समाजका विकृतिहरूको उन्मूलन, वर्गीय, लैंगिक, जातीय विभेदहरू विरुद्धका आन्दोलनहरूमा युवाहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । नेपालकै सन्दर्भमा पनि शासन व्यवस्था परिवर्तनदेखि खाडी मुलुकहरूमा पुगेर विप्रेषण भित्य्राएर देशकै अर्थतन्त्रलाई धान्ने सम्मको योगदान युवाकै छ । तसर्थ, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाको अग्रणी भूमिका रहँदै आएको छ ।
तथापि, माथि उल्लेख गरिएझैँ विश्वमा नै ‘लागुपदार्थ दुर्व्यसन’ एक प्रमुख समस्या बन्दै आएको छ । दक्षिण अमेरिकी मुलुकहरू, त्यसमा पनि मेक्सिकोको लागि लागुपदार्थ दुर्व्यसन सबैभन्दा जटिल समस्या बनेको छ भने लागुपदार्थको वसारपसारका हिसाबले उ विश्वमा नै निन्दनीय बन्न पुगेको छ । पूर्वी एसियामा फिलिपिन्सको लागि लागुऔषध प्रमुख टाउको दुखाईको विषय बनेको छ । सन् २०१६ मा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टले ‘वार अन ड्रग्स नाम दिएर “लागुऔषध दुर्व्यसनीलाई जहाँ भेटिन्छ गोली हान्दिनु” भनेर दिएको कडा आदेश विश्वव्यापी रुपमा चर्चाको विषय बनेको थियो । उनको आदेशपश्चात् केही समयमा नै त्यहाँ ६ हजारभन्दा धेरै लागुऔषध प्रयोगकर्ता र व्यापारी हरू मारिएका थिए ।
कुनै न कुनै रुपमा संसारका अधिकांश मुलुकहरू लागुपदार्थ दुर्व्यसनीको समस्याबाट पीडित छन् । ती देशहरूमा कुन उमेर समूह कुलतमा फसेको छ भन्ने कुराले गहिरो अर्थ बोकेको हुन्छ । दुर्व्यसनीमा बालबालिका, युवा, वयस्क, वृृद्धवृद्धा जोसुकै परेको हुन सक्छन् । तर पनि राष्ट्रको भविष्यसँग जोडिएका युवा पुस्ता नै कुलतमा फसेपछि देशको आर्थिक, सामाजिक संरचनामा नकारात्मक असर गर्ने हुँदा ‘युवा दुव्र्यसनी’ हरेक देशको लागि चिन्ताको विषय बन्दै आएको छ । यस समस्याबाट नेपाल पनि ग्रसित छ । लागुपदार्थ दुर्व्यसनीको कारण नेपालमा पनि कयौँ अपराधिक घटनाहरू भएको सर्वविदितै छ ।
लागुपदार्थ दुर्व्यसन नेपाल लगायत विश्वभर नै बढ्दो चुनौतीको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनले मस्तिष्कको कामलाई उत्तेजित बनाउने अवैध लागुऔषधीको हानिकारक वा खतरनाक प्रयोगलाई ‘लागुऔषध दुर्व्यसन’ मानेको छ । लागुऔषध ऐन, २०३३ का अनुसार लागुऔषध भन्नाले गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी गाँजा, औषधोपयोगी अफिम, कोकाको झारपात र अफिम तथा कोकाको सारतत्व, मिश्रण तथा लवणसमेत मिसाई तयार गरिने कुनै पदार्थ भन्ने बुझिन्छ । यस परिभाषाअनुसार विश्वमा ३ करोड ५० लाख भन्दा बढी लागुऔषध दुर्व्यसनीहरू छन् । लागुऔषध दुर्व्यसनीमध्ये सबैभन्दा बढी युवा र किशोरकिशोरी छन् (स्रोत: UNODC: United Nations Office on Drug and Crime)।
नेपालमा वि.सं. २०६९ सालमा गरिएको एक सर्वेक्षणले ९१ हजार ५०० जना लागुऔषध दुर्व्यसनी रहेको देखाएको छ । अहिलेसम्म त्यो सङ्ख्यामा धेरै नै वृद्धि भएको हुन सक्छ । उक्त सङ्ख्यामध्ये ५५.६ प्रतिशत २० देखि २९ वर्ष समूहका छन् भने १९.९ प्रतिशत दुर्व्यसनी १५ देखि १९ वर्षसम्मका छन् । यसरी लागुऔषध दुर्व्यसनीमध्ये झण्डै ७५ प्रतिशत दुर्व्यसनी युवाहरू छन् (स्रोत : Survey Report on Current Hard Drug Users in Nepal, 2069) । लागुऔषध दुव्र्यसनबाट युवाहरूलाई मुक्त गर्नका लागि सर्वप्रथम उनीहरू दुव्र्यसनमा लाग्नुका कारणहरू के हुन् भन्ने बुझ्नु जरुरी छ भने यसले दुव्र्यसनी र उसका परिवारलाई कस्तो प्रभाव पार्दछ भनी बुझाउनु पर्दछ । लागुपदार्थ दुव्र्यसनीमा युवाहरू कसरी फँस्छन् भन्नेबारे चर्चा गर्नका लागि केही प्रतिनिधि घटनालाई हेरौँ ।
घटना १:
मकवानपुरका राम तामाङ (नाम परिवर्तन गरिएको छ) अहिले २५ वर्षका भए । आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएका उनी सरकारी स्कूलमा अध्ययन गर्दथे । कक्षा ७ सम्म राम्रो पढाई भएका उनी अत्यन्तै मिहेनती थिए । तर, विस्तारै उनको पढाइ खस्किँदै गयो । कक्षा कोठामा उनको उपस्थिति पनि पातलिँदै गयो । हुँदाहुँदा उनलाई परिक्षामा उत्तीर्ण हुन समेत मुस्किल पर्न थाल्यो । एकदिन विद्यालय छेउमै गाँजा सेवन गरिरहेको अवस्थामा उनी फेला परे । उनलाई रंगेहात फेला पार्ने शिक्षकले उनका बाआमालाई सचेत गराए । तर, आफैँ दिनरात मादक पदार्थ सेवन गर्ने उनका बुवाले वास्ता गरेनन् । त्यहि विद्यालयमा सहयोगीको काम गर्ने उनकी आमाले छोरोलाई ध्यान दिन सकिनन् । उ दिनदिनै कुलतको दलदलमा झन्झन् फस्दै गयो । अव उसको दिनचर्या साथीभाईसँग झगडा गर्नु, विद्यालय नआउनु, परिवारमा झैझगडा गर्नु, पैसा चोर्नु बन्न थाल्यो ।
सोधखोज गर्दा बुझियोकि रामको बुवा उनी पढ्नै विद्यालयमा नै काम गर्दथे । तर, त्यहाँ उनलाई चोरीको आरोप लागेपछि विद्यालयबाट उनलाई निस्कासन गरियो । त्यसपछि बुबाले रामको आमालाई छाडेर अर्को विवाह गरी अन्यत्रै गए । रामको भाई पनि चोरीकै आरोपमा जेल परे । राम पनि लागुऔषध दुव्र्यसनमा लागेपछि आमाले उनलाई सुधार्न अनेक कोशिस गरिन् । सुधार केन्द्र पु¥याईन् । त्यँहा रहुन्जेल स्थिती सामान्य भए तापनि घर फर्किएपछि राम फेरी दुव्र्यसन गर्दो रहेछ । आर्थिक अवस्था कमजोर भएकाले आमाले उनलाई सधैँ सुधार केन्द्रमा राख्नु सम्भव थिएन । अन्ततः आजित भएर आफ्नो छोरी लिएर आमा पनि काठमाडौंतिर लागिछन् । अहिले रामलाई मानव सेवा आश्रमले उद्धार गरेर बासस्थान दिइरहेको छ ।
यो घटना हेर्दा राम लागुऔषध दुर्व्यसनमा लाग्नुमा पारिवारिक किचलो प्रमुख कारण रहेको बुझिन्छ । परिवारका मुली बुबा नै चोरी गर्ने कार्यमा लागेर आफु कार्यरत विद्यालयबाट निष्कासन भएपछि रामलाई आफ्नो साथीभाई माझ लज्जित हुनु परेको देखिन्छ । त्यस्तै, बाबुकै सिको गर्दै उनका भाई पनि चोरीकै आरोपमा जेल परे । यसले अभिभावकले छोराहरूलाई राम्रो संस्कार दिन नसकेको देखिन्छ । आफ्नो गल्तिबाट सिकी सुध्रिनुको सट्टा रामका बुबा अर्कै महिलालाई लिएर हिँडेपछि राम अझै विक्षिप्त भएको हुन सक्छ । यसले उसको दुव्र्यसन गर्ने बानी झनै बढेको थियो । रामको दुर्व्यसनका कारण उनको आमा सबैभन्दा पीडित भएकि छिन् । यो घटनाले परिवारको अवस्था नै डामाडोल भएको छ ।
घटना २ :
मकवानपुर जिल्लाकै कृष्ण केसी र श्याम केसी नाम परिवर्तन दुई दाजुभाई हुन् । उनीहरूका बाआमा र एक दिदी छिन् । उनीहरूको सानो र सम्पन्न परिवार थियो । बाआमा दुबै जागिरे । उनीहरूलाई नपुग्दो केही थिएन । बाआमाको व्यस्तता र प्रशस्त खर्च गर्न पाएका दाजुभाई विस्तारै कुलतमा फँस्दै गए । समाजमा उनीहरूको परिवार बदनाम हुन थाल्यो । अवस्था यतिसम्म पुग्यो कि छरछिमेकीले उनीहरूबाट आफ्ना छोराछोरी जोगाउनु पर्ने भयो । पटक–पटक सुधार केन्द्रमा राख्दा पनि केही सीप नचलेपछि अन्ततः परिवार नै बसाँई सरेर विस्थापित हुनु पर्यो । दुई दाजुभाइले किशोर अवस्थामा नै महंगो लागुऔषध सेवन गर्ने गरेको भेटिनु चिन्ताजनक विषय हो । उनीहरूले सानै उमेरमै त्यस्तो लागुऔषध कसरी र कँहाबाट प्राप्त गरे भन्ने एउटा गहन प्रश्न हो । कतै समाजलाई भित्रभित्रै लागुऔषध दुव्र्यसनले लपेटी सकेको त होइन भन्ने आशंका यो घटनाले जन्माएको छ ।
दोस्रो घटनामा आमाबाबुको व्यस्तता र उनीहरूले छोराछोरीको दिनचर्यामाथि निगरानी गर्न नसक्नु नै दुव्र्यसनको प्रमुख कारण रहेको देखिन्छ । आधुनिक जीवनशैलीले गाँज्दै लगेको शहरी समाजमा प्राय अभिभावकहरू व्यवशायिक जीवनमा नै व्यस्त हुन्छन् । परिवारको बढ्दो आवश्यकता पूर्ति गर्नका लागि कमाई गर्न अभिभावकहरू व्यस्त हुनुपर्छ नै । उनीहरू आफ्नो छोराछोरी के गरिरहेका छन्, उनीहरूको साथीसंगत कस्तोसँग छ भन्ने बुझ्न पाउँदैनन् । यो घटनाले बदलिँदै आधुनिक जीवनशैली पनि लागुऔषध दुव्र्यसनको कारण हुन सक्ने देखिन्छ ।
घटना ३ :
मकवानपुर जिल्ला, हेटौडाको पूर्वी भेगस्थित एक टोलका विश्वकर्मा परिवारको सदस्य रितेश विश्वकर्मा
(सूचनादाताको अनुरोधमा नाम परिवर्तन गरिएको) हाल १७ वर्षका भए र उनी गत डेढवर्षदेखि चितवनस्थित एक सुधारगृहमा बसिरहेका छन् । आर्थिक रुपमा अत्यन्तै न्यून परिवारमा जन्मेका उनी १३ वर्षको हुँदा स्थानीय विद्यालयमा ७ कक्षामा पढ्दथे । उसलाई धेरै पढेर परिवारको लागि केही गर्ने चाहना थियो । तर, विश्वकर्मा भएकै कारण कक्षाका साथीहरूबाट उनले सँधै हेपिनु पर्दथ्यो । उनलाई सहपाठीहरूले बेलाबेलामा ‘कामी’ वा ‘खाते’ भनी हियाउँथे । मनमा अत्यन्तै रिस उठ्थ्यो तर पनि उ केही भन्न सक्दैनथ्यो । विद्यालयबाट घर फर्केपछि काम गर्नु पर्दथ्यो । बिदामा उनी आफ्ना बाबुसँग आरनमा काम गर्दथे । जातीय विभेद र आर्थिक अभावकै कारणले आफु हेपिनु परेको भन्ने लाग्थ्यो । बिस्तारै उनी गलत संगतमा पुगे र सुरुमा चुरोटको सेवन गर्न थाले । बिस्तारै गाँजा हुँदै विभिन्न प्रकारका लागुऔषधको दुव्र्यसनी बन्न पुगे । दुर्व्यसनको मात्रा बढ्दै गयो र त्यसको पूर्तिका लागि घरको पैसा चोर्ने, छिमेकमा सामान चोर्ने गर्न थाले । दुईपटक त उनलाई थुनाइयो पनि । धेरैपटक छिमेकीको कुटाई पनि खानु प¥यो । परिवारका सदस्यहरू पनि वाक्कदिक्क भए । एक सामाजिक संस्थाको सहयोगमा उनी अहिले सुधारगृहमा दिन बिताइरहेका छन् ।
तेस्रो घटनामा एक किशोर आर्थिक अभाव र जातीय विभेदको हेपाईकै कारण बिरक्तिएर लागुऔषधको कुलतमा परेको देखिन्छ । कसैले पनि उ किन कुलतमा पर्यो, त्यसको कारण के हो भन्ने खोज्नेतर्फ लागेनन् । उल्टै, उसलाई कुट्ने र पुलिस थानामा थुनाउने गरियो । अन्त्यमा, उ झनझनै दुर्व्यसनमा फँस्दै गयो र सिंगो परिवारको लागि उ बोझ बन्न पुग्यो ।
लागुऔषधको समस्याबाट हज्जारौँ युवाहरू सङ्क्रमित भइसक्दा पनि राज्यबाट यसको समाधानको लागि आवश्यक कदम नचाल्नु अर्को कारण देखिन्छ । लागुऔषधका व्यापारीहरू ‘जसरी पनि पैसा कमाउने’ धन्दामा लागेका छन् । उनीहरू लागुऔषध दुर्व्यसनीको सङ्ख्या वृद्धि गर्न अनेक उपाय अपनाउँछन् । तर, राज्यले यसको समाधानको लागि कडा नीति ल्याउन सकेको छैन । त्यस्ता व्यापारीहरू पक्राउ परे तापनि ‘पैसा र पहुँच’ प्रयोग गरेर तत्कालै रिहा हुन्छन् । यसले राज्यको अकर्मण्यता स्पष्ट देखाउँछ ।
युवाहरूमा बढ्दो प्रतिष्पर्धात्मक अपेक्षा, अपेक्षा पुरा नभएपछि उनीहरूमा पैदा हुने निराशाले पनि उनीहरूलाई दुर्व्यसनी बनाउन सहयोग गर्दछ । त्यस्तै, युवा बेरोजगारी, असफलता, समाजमा विद्यमान असमान व्यवहार, जातीय विभेद, गरिबी तथा अभाव जस्ता कारणहरूले पनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा दुव्र्यसन बढाउन भूमिका खेलिरहेको हुन्छ ।
यो विश्वभरि एक सामाजिक र जनस्वास्थ्यको एउटा गम्भीर समस्या हो । यसले मानसिक र सामाजिक तहमा पनि असर पारेको हुन्छ । लागुपदार्थको लगातार प्रयोगले व्यक्तिलाई तत्कालिन असर नदेखाए तापनि दीर्घकालिन रुपमा धेरै नै असर पुर्याउँछ । लागुपदार्थ सेवन गर्ने इच्छा हुने, यसको प्रयोग नियन्त्रण गर्न कठिनाइ हुने हानिकारक नतिजाहरूको बावजुद यसको लतबाट मुक्त हुन नसक्ने, अन्य गतिविधिहरू र दायित्वहरू भन्दा औषधीको प्रयोगलाई उच्च प्राथमिकता दिने जस्ता प्रभावहरू लागुपदार्थको प्रयोगकर्तामा देखिन्छन् । लामो समयसम्मको लागुऔषधको प्रयोगले मानिस त्यसको लतमा फँस्न पुग्छ । लतलाई एक ‘क्रोनिक, रिलेप्सिंग डिसअर्डर’को रूपमा परिभाषित गरिएको छ । लागुऔषधले मानिसको मस्तिष्कमा प्रतिकुल असर पु¥याउँछ । जसको फलस्वरूप मानिसको तनाव र आत्मनियन्त्रणमा संलग्न मस्तिष्कको कार्यात्मक परिवर्तन हुन थाल्दछ । व्यक्तिले लागुपदार्थ सेवन गर्न रोक्दा पनि ती परिवर्तन भने लामो समयसम्म रहिरहन्छ ।
युवामा लागुऔषधको प्रयोगले दुर्व्यसनीमा मात्र नभई उसको परिवार, समाज र सिंगो राष्ट्रलाई नै असर पु¥याएको हुन्छ । लागुपदार्थ दुर्व्यसनीले व्यक्तिको प्रतिरक्षा प्रणाली क्षतिग्रस्त गर्नुका साथसाथै उसमा पेटको समस्या निम्त्याउने, कलेजोमा अवरोध हुने, हृदयघात हुने र मस्तिष्कमा असर पुर्याउने जस्ता जटिल समस्याहरू उत्पन्न गराउँछ । यसको प्रभाव केवल व्यक्तिमा मात्र नभई परिवार र समाज पनि गम्भीर हुन्छ । समाजबाट तिरस्कृत हुने, झैझगडा परी कानुनी कार्यवाहीमा पर्ने, कार्यक्षमतामा असर पर्नुका साथसाथै दुर्व्यसनीले कुनैपनि व्यक्तिको आर्थिक स्थितीमा समेत नकारात्मक असर पारेको हुन्छ । सृजनात्मक कार्यमा लाग्नुपर्ने युवाहरू नै देशको सामाजिक–आर्थिक विकासका आधार हुन् । यदि युवाहरू नै दुर्व्यसनमा फँसे भने सिंगो देशलाई नै असर पर्न जान्छ ।
तसर्थ, परिवारको उचित माया, हेरचाह र सही मार्गदर्शन पाएमा युवा वर्गलाई लागुऔषधको कुलतबाट बचाउन सकिन्छ । लागुपऔषधको ओसार–पसार तथा बेचविखन जस्ता अपराधिक क्रियाकलाप गर्नेहरूको सञ्जाल पत्ता लगाई उनीहरूलाई कानुनी कार्यवाही गर्नु पर्दछ । विद्यालय तहमा हुने लागुऔषधको कूव्यापार र यस्ता व्यापारमा सङ्लग्न गिरोहहरूबारे विद्यार्थीहरूलाई बेलैमा सचेत बनाई लागुऔषधको ओसारपसारसम्बन्धी कडाभन्दा कडा कानुन ल्याई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ । एउटा व्यक्ति कुलतमा फस्नु भनेका स्वयम् व्यक्ति, उसको परिवार, गाउँसमाज र राष्ट्रलाई नै क्षति पुग्नु हो । त्यसैले, सरकार, समाज, परिवार, विद्यालय लगायत सम्बन्धित सबैले बेलैमा ध्यान दिएर लागुऔषध दुर्व्यसन तथा अपराध मुक्त समाज निमार्णमा योगदान दिनु अपरिहार्य छ । समाज परिवर्तनका मुल वाहक युवाहरूलाई जोगाउन राज्यले सही नीति बनाई त्यसको प्रभावकारी कार्यान्वयन गर्न ढिला भइसकेको छ । यसबारे सबैको ध्यान जाओस् ।
लेखिका जनस्वास्थ्य विषयमा स्नातक हुन् भने उनी हाल युवासँग सम्बन्धित
विषयमाथि गरिने कार्यमुलक अनुसन्धानमा सङ्लग्न छन्
प्रतिक्रिया