बिहीबार, चैत १५, २०८०

काठमाडौंमा वायु प्रदूषण केही घट्यो

नेपालखोज २०७७ पुष २२ गते १८:४९

काठमाडौं । काठमाडौंमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसम बदलीसँगै मङ्गलबार हिजो र सोमबार अस्ति काठमाण्डौलगायतका सहरमा वायु प्रदूषणको स्तर बढेर घातक स्तरमा पुगेको थियो ।

मौसममा सुधार आएसँगै वायु प्रदुषणको मात्रा पनि घटेको वातावरण विभागले जनाएको छ । काठमाण्डौ उपत्यकामा रहेका प्रदूषण मापन केन्द्रहरूले हावाको स्तर पहेँलो अर्थात् मानिसको स्वास्थ्यका लागि ठिकै अवस्थामा रहेको सङ्केत गरेका छन् ।

यद्यपि अहिले पनि जनकपुर, विराटनगर र हेटौँडामा भने हावाको गुणस्तर जोखिमयुक्त अवस्थामै रहेको छ । वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घरबाहिर ननिस्कन आग्रहसमेत गरेको थियो ।

आजदेखि मौसममा सुधार हुँदै आएको र केही ठाउँमा मात्र थोरै बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौलगायत देशभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीले केही दिन हिमाली भागमा हिमपात र काठमाण्डौलगायत केही ठाउँमा थोरै वर्षासमेत गराएको थियो ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । काठमाण्डौ उपत्यकामा वायु प्रदूषण एक प्रमुख सामस्या हो भने यहाँको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा झण्डै पाँच गुणा माथि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण झण्डै ३७ हजार जनाको ज्यान गएको थियो ।

नेपालमा हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुन्छ । वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँटा भट्टाबाट हुने उत्सर्जन, जथाभाबी फोहर फाल्ने तथा बाल्ने लगायत हुन् ।

यसैबीच काठमाण्डौमा वायु प्रदूषण बढेकाले केही दिन मर्निङ वाकमा नजान, निर्माणका काम रोक्न र अत्यावश्यक नपरेसम्म गाडी नचलाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । प्रदूषणको मात्रा बढेकाले फोहोर नजलाइ उचित व्यवस्थापन गर्न पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया