शुक्रबार, वैशाख १४, २०८१

‘रेल सञ्चालन गर्न पूर्वतयारी पुगेन’

आशा साह २०७७ माघ ११ गते १५:३२

गुरुप्रसाद भट्टराई नेपाल रेलवे कम्पनीका महाप्रबन्धक हुन् । गत जेठमा मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा रेलवे कम्पनीको महाप्रबन्धकमा दुई वर्षका लागि भट्टराईलाई नियुक्त गरेको हो । महोत्तरी निवासी भट्टराईसँग तोकिएकै मितिमा तथा समयमा रेल सञ्चालन हुने सम्भावना कति छ ? कर्मचारी भर्नाको तयारी कहाँ पुग्यो लगायतका विषयमा केन्द्रित रहेर नेपालखोजकी कार्यकारी सम्पादक आशा साहले गरेको कुराकानीको सारसंक्षेप :

नेपाल रेलवे कम्पनीले माघ अन्तिम सातासम्म रेल सञ्चालनमा ल्याउने तयारी गरेको छ, तयारी कहाँ पुग्यो ?
रेल सञ्चालन गर्ने तयारी करिव–करिव अन्तिम चरणमा पुगेको छ । जसका लागि एक–दुई वटा आर्थिक प्रस्ताव मन्त्रिपरिषद्मा जानुपर्ने छ । त्यो एक–दुई दिनभित्र मन्त्रिपरिषदमा पठाउँदै छौ । अरु प्रशासनिक र आर्थिक विषय लगभग तयार भइसकेको छ ।

त्यसो भए जुन तीव्र गतिका साथ तपाईंहरुले काम गरिरहनु भएको छ, यो अवस्थामा माघ अन्तिम सातासम्म रेल सञ्चालन हुन्छ ?
प्रविधिक तयारी हाम्रो हुन्छ । अर्को कुरा के छ भने, नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले रेल उद्घाटन गर्ने तय भइसकेको छ । यो अवस्थामा उहाँहरुले समय कसरी मिलाउन सक्नुहुन्छ त्यो हिसाबले एक–दुई हप्ता तलमाथि हुन सक्छ । तर, हाम्रो तयारी चाहिँ त्यहि अनुसारले हुन्छ ।

तर, करिब ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई वटा रेल गत असोज २ गते जनकपुर ल्याइएको थियो । पूर्व तयारी बिना नै रेल ल्याउन चाहिँ किन हतार गरियो ?
रेल ल्याउन हतार गरेको होइन । हामीले किनेको रेल तयार भएपछि हामीले नल्याएर कसलाई दिने ? रेल बनाउन दिने बेलामा रेल कहिले बनिसक्छ र हामीले कहिले प्राप्त गर्छौं भन्ने विषयमा मात्रै ध्यान गयो । तर, कोभिड तथा अन्य प्राविधिक कारणले तयारी नपुगेको एउटा पाटो हो । जसले गर्दा हामीले सोचेअनुसार काम गर्न सकेनौ । तर, रेल सञ्चालनबारे पूर्व तयारी पनि नभएको हो । रेल खरिद गर्ने निर्णय गरियो, रेल बनाउन लगायौं, तर त्यसका निम्ति आवश्यक जनशक्ति, सर्भिसिङ र संरचना तयार छ कि छैन भन्ने विषयमा चाहिँ ध्यान दिइएन । यो सबै कुरा नहुँदानहुँदै पनि रेल तयार भएर भारतीय भूमिमा राखिएको थियो । तयार भइसकेको रेल उता नराखेर आफ्नै मुलुकमा ल्याउनु नै थियो । उतै राखेको भए कसैले हल्ला नगर्ने रहेछ, तर आफ्नो रेल आफ्नो भूमिमा ल्याएर राख्दा अनेक खालका कुरा हुने ?

३५ किलोमिटर रेल सञ्चालनमा करिब २ सय कर्मचारी आवश्यक पर्छ । तर, यतिबेला कम्पनीमा जम्मा १२ जना मात्रै कर्मचारी छन् ? अरु कर्मचारी भर्ना प्रक्रिया कसरी हुँदैछ ?
लोकसेवाले दिने कर्मचारी द्रुत तरिकाले हुँदैहुँदैन । किनभने यो रेल्वेसँग सम्बन्धित कुरा भएकोले यससँग सम्बन्धित पाठ्क्रम पनि छैन र विज्ञता पनि । योभन्दा अगाडि परीक्षा लिइएको इतिहास पनि छैन । सामान्य प्रशासन तिर भर्ना गर्न सकिन्छ तर, प्राविधिक तिर समस्या हुन्छ । यसका लागि पाठ्यक्रम आवश्यक पर्छ । यो त सबै नयाँ हो । लोकसेवाले यसलाई शून्यबाट शुरु गर्नुपर्छ । त्यसकारण यो तत्काल हुने काम होइन त्यसको लागि समय लाग्छ । तर, समय लाग्छ भन्दाभन्दै रेल चाहिँ त्यतिकै थन्क्याएर राख्न मिलेन नि ।

त्यसो भए यी सारा हिसाब हेर्दा माघ अन्तिम साता पनि रेल सञ्चालन नहुने भयो ?
यो हिसाबले भन्ने नै कुरा भएन । रेल सञ्चालनका लागि कर्मचारी भर्ना गर्न प्रक्रिया अगाडि बढाउँछौं । लोकससेवालाई पनि हामी अनुरोध गर्छौं । रेल सञ्चालन गर्न मन्त्रालय अन्तर्गतबाट करिब करिब ५० जना जति निजामती कर्मचारी आउँदै हुनुहुन्छ । उहाँहरुले पत्र पनि पाइसक्नु भएको छ । नयाँ कर्मचारी भर्ना नहुन्जेल उहाँहरु काजमा आउनुहुन्छ । त्यसपछि बाँकी रहेका ५०–६० जना पुरानो रेल्वेमा काम गरेका अवकाश प्राप्त कर्मचारीलाई ल्याउँछौं । र, भारतबाट २६ जना जनशक्ति आउने कुरा तय भइसकेको छ । यति भएपछि रेल सञ्चालनको लागि अरु कुराले अड्काउने स्थिति छैन ।

एक महिनाभित्र रेल सञ्चालन गर्ने बताएको रेल विभाग र रेलवे कम्पनी रेल आएको चार महिना वितिसक्दा समेत चलाउन नसक्ने अवस्थामा पुगेको छ नि ?
पूर्व तयारी नभएको कुरा हो । म आएपछि मैले शून्यबाट काम शुरु गरेँ । अफिसियल कर्मचारी म एक्लो छु । यो सारा कुरा शून्यबाट शुरु गर्नु सजिलो होइन । शून्य भएको संस्थालाई मैले उठाउनु छ, यो बनिबनाउ संस्था होइन । हिजो कसैले सञ्चालन गरेको संस्था पनि होइन । जहाँ एउटा कर्मचारीको ठाउँमा म नियुक्त भएर आएको होइन । आफ्नो कार्यालय आफैँ बनाएर बस्नुपर्ने स्थितिमा म आएको हुँ । अब हिजो किन भएन, कसले तयारी गरेन भन्ने प्रश्नको जवाफ म दिन सक्दिन । तर, अब म आइसकेपछि चाहिँ भएका कामहरु के–के भए भनेर सोध्नुभयो भने यसको जवाफ मैले दिने हो । आएको भोलिपल्टदेखि फाइल बोकेर मन्त्रालय दौडिएको छु । कर्मचारीको व्यवस्थापन छैन, बजेट कहाँ बाट ल्याउने त्यसको टुंगो छैन, रेल कसले सञ्चालन गर्छ, प्रविधिक दक्ष कसरी ल्याउने टुंगो छैन, कति पैसा लाग्छ त्यसको पनि टुंगो छैन ।

ल्याएको दिन देखि वा छिट्टै सञ्चालन गरेको भए पो यसले लागत उठाउन शुरु गथ्र्याे होला, नचलाईबस्दा त झनै लगानी बढेन र ?
रेल मेरो मातहत भित्र आइसकेको छैन । त्यो विभागले खरिद गरेको रेल हो । कम्पनीलाई हस्तान्तरण भइसकेको होइन । हस्तान्तरण गर्न खोजिएको हो । तर, प्रविधिक, संरचना सवै कुरा तयार भएपछि मात्रै हाम्रो मातहतमा ल्याउँछौं, बिना तयारी ल्याउँदैनौं । त्यसैले त्यो अहिले विभागकै मातहतमा छ । राज्यले एक अर्ब रुपैयाँ खर्च गरेर रेल खरिद गरेको हो ।

प्रतिक्रिया