शनिबार, जेठ ५, २०८१

प्रदेश १ मा ३ हजार ५७६ डोज ‘कोभिसिल्ड’ खोप दिइने

नेपालखोज २०७७ माघ १२ गते १६:५०

मोरङ । प्रदेश–१ मा कोरोनाविरुद्धको ३ हजार ५ सय ७६ डोज खोप दिइने भएको छ । कोभिड १९ विरुद्धको ९ हजार ६ सय डोज खोप प्रदेश १ मा आइपुगेको छ । भारत सरकारले उपहारस्वरूप दिएको ‘कोभिसिल्ड’ खोपमध्ये प्रदेश १ मा ३ हजार ५ सय ७६ डोज राखिने विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसबाहेक ६ हजार २४ डोज प्रदेश २ को सिरहा र सप्तरी लगिने छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा सोमबार मोरङ र सुनसरी जिल्लामा आवश्यक खोप उपलब्ध गराएको छ । प्रदेश १ को १४ जिल्लाका लागि खोप आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सो संख्याभित्र प्रदेश २ को सिराह र सप्तरीका लागि समेत खोप आएको हो ।

मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले प्रदेशमा बुधबारबाट खोप लगाइने तयारी भइरहेको जानकारी दिइन्। स्वास्थ्य अधिकृत राजवंशीले पहिलो चरणको डोज लगाउनेमा स्वास्थ्यकर्मी, अस्पताल कर्मचारी, सरसफाईका कर्मचारी, सुरक्षा र एम्बुलेन्स चालक रहेको बताइन्।

मंगलबार बेलुकासम्म प्रदेशका बाँकी जिल्लामा खोप पुराउने मन्त्रालयले जनाएको छ । प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ जना र १४ वटै जिल्लाका ७ सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने भएको छ।

ताप्लेजुङमा १४ हजार ३, मोरङमा १२ हजार ५६, सुनसरीमा ५ हजार २ सय ३३, झापामा ४ हजार ९ सय ७७, धनकुटामा ८ सय ३१, उदयपुरमा १ हजार २ सय ३७, भोजपुरमा १ हजार १ सय ७६, इलाममा १ हजार ६ सय ९०, ओखलढुंगामा १ हजार ३ सय ६६, खोटाङमा १ हजार ६ सय, पाँचथरमा ९ सय २४, संखुवासभामा ९ सय ४९, तेह्रथुममा ७ सय २३ र सोलुमा ६ सय ८६ जना सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाइने तयारी मन्त्रालयको रहेको छ।

प्रतिक्रिया