सन्दीपले टी-ट्वान्टी ब्लास्ट खेल्ने

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । टि२० ब्लास्ट २०२१ आगमी जुन ९ देखि १८ सेप्टेम्बर सम्म हुने कार्यक्रम छ ।
सन्दीपले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको खेल) क्रिकेट प्रतियोगितामा ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । गतवर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध गरेको थियो । तर कोरोना महामारीको कारण उक्त वर्ष ‘द हन्ड्रेड’ हुन सकेन । उक्त प्रतियोगिता यो वर्ष हुँदैछ ।
सन्दीपले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्वारेवियन प्रिमियर लिग, टि२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगातका विश्व चर्चित टि२० फ्रेन्चाइज लिग खेली सकेका छन् । २०२१ को आइपिएलमा भने सन्दीपलाई कुनैपनि टोलीले अक्सनमा खरिद गरेका थिएनन् ।

प्रतिक्रिया