बिहीबार, चैत १५, २०८०

प्रश्न चिह्‌न

राजेश ढुंगाना २०७७ चैत १४ गते ७:३०

सधैं-सधैं मलाई आँखाका दुई थोपा पानीसँग
रगतको भलभन्दा सयौं गुणा बढी डर लाग्छ ।

बन्द गर तिम्रा एकजोडी परेली
अनि मात्र मसँग कुरा गर्नू
म पनि बन्द गर्छु आँखा
अनि मात्र तिमीसँग गफ गरौंला ।
चाहे रगतसँग जीवनभरि युद्ध गरौं
म त आँसुसँग
एकैपल मात्र पनि बाझ्‍ने हिम्मत छैन
आँसुसँग युद्धको त के कुरा
निमेषभरको साक्षात्कार मात्र गर्ने पनि
साहस मभित्र छैन ।

म युद्ध जति पनि गर्न सकौंला
ती आँसुलाई कहिल्यै पराजितचाहिँ गर्न सकिनँ
स्वयं आफ्नैविरुद्ध हतियार उठाएर
आत्महत्या नै पनि गर्न सकौंला
तर आँसुमाथि एउटै पनि सानो प्रहार मात्र होइन
त्योभन्दा पनि अझै सानो
सोझो नजरले आँसुको
पवित्रतासम्म जाँच्‍न सक्तिनँ ।


अर्थोक सबै कुरा गर्न सके पनि
आँसुमाथि कहिल्यै
प्रश्न चिह्‍नचाहिँ उठाउन सक्दिनँ ।

प्रतिक्रिया