शुक्रबार, जेठ ४, २०८१

पूर्वप्रधानन्यायाधीश (हाल संन्यासी) दामोदर शर्मासँग केही छिन…

पूर्वप्रधानन्यायाधीश भन्नुहुन्छ- ‘जनता नै सार्वभौम शक्ति भएकाले जनताकै बीच गएर निर्णय लिऊँ भन्नु अपराध होइन’

नेपालखोज २०७८ असार ८ गते १०:४५

डायरीको पानाबाट
असार ४, २०७८

आज देवघाट जाने योजना बन्यो । हिजो फेसबुकमा एकजना सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीश दामोदर शर्माको एउटा अपत्यारिलो तस्बिर भाइरल भएको थियो । देवघाटवारि नै उहाँको आश्रम रहेछ र मैले मेरो कार पार्क गरेर उहाँको आश्रम पत्ता गरी त्यहीं पुगें । उहाँले आफ्नो आश्रमको नाउँ- अखण्डानन्द आश्रम राख्नुभएको रहेछ ।

बिहानको ११ बजिसकेको थियो कृष्ण मन्दिरसँगै रहेको उहाँको आश्रमभित्र प्रवेश गर्दा उहाँ अग्नि पूजामा मग्न हुनुहुन्थ्यो । एउटा रित्तो कुर्सीमा बसेर चारैतिर नियालें । भित्तामा हिन्दु भगवान्‌हरुका तस्बिर टाँसिएका थिएँ र भित्तैमा टाँसिएको टीभीमा भजन-किर्तन चलिरहेको थियो । उहाँ एकाग्रमन एउटा हातले अग्निमा चरु हवन गर्दै हुनुहुन्थ्यो अर्को हातमा रुद्राक्ष माला थियो । म पुगेको उहाँलाई आभास नभएको होइन तर उहाँले आफ्नो पूजाक्रमलाई क्रमशः राख्नु भयो । लगभग आधा घण्टाको प्रतीक्षापछि उहाँ ध्यानबाट निवृत्त भई मन्दिर कक्षबाट बाहिर निस्कनुभयो । हातमा रहेको त्यो रुद्राक्षको माला आफ्नो घाँटीमा राख्नुभयो, मैले नमस्कार टक्र्याएँ, लिनु भयो तर मप्रति खासै रुचि देखाउनु भएन । अलिक खल्लो स्वरमा सोध्नुभयो, ‘किन आउनुभयो ? कता आउनुभयो ?”

मैले विनम्रतापूर्वक नै भने- ‘तपाईंलाई भेट्न आएको हो । अहिले म देवघाट आएको छु ।’
उहाँले भन्नुभयो, ‘म त संन्यासी भएर बसेको मान्छेसँग किन भेट्न खोज्नुभयो ?’ मैले फेसबुकमा उहाँको भाइरल भएको फोटोद्वारा आकर्षित भएर उहाँलाई भेट्ने उत्कट इच्छा जागृत भएकाले यहाँको आश्रम खोज्दै आएको भन्दा उहाँले पुनः अरुचिकै स्वरमा भन्नुभयो- ‘हामी यसरी नै बस्छौं, जीवन चलिरहेछ । ईश्वरलाई समर्पित छौं । यहाँभन्दा बढी केही छैन मसँग ।” साथै सोध्नुभयो ‘तपाईंको परिचय के हो ?’ मैले विनम्रताका साथ भने, ‘मेरो खासै परिचय छैन गुरु, म त्रिभुवन विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हो । चितवनमै बस्छु ।’ त्यसपछि उहाँमा अचानक परिवर्तन आयो र भन्नुभयो, ‘ओ हो ! तपाईं यो देशको विद्वान् नागरिक । यता आउनुस्, सँगै बसौं ।’

पहिला म टाढा कुर्सीमा बसेको थिएँ, उहाँको स्वर केही नरम हुँदा नजिकको कुर्सीमा गएर बसें मेरो परिचय खुलेपछि उहाँले आफ्नै खाटमा बस्न कर गर्नुभयो र सँगै कफी खान आग्रह गर्नुभयो । स्टिलको गिलासमा कफी आयो र कफीसँगै विभिन्न विषयमा कुरा गर्‍यौं । उहाँले आफ्नो व्यक्तिगत जीवनबारे केही भन्न चाहनु भएन । मैले कर पनि गरिनँ । मात्र भन्नुभयो, ‘मेरोबारे बाहिर सोध्नुभयो भने सबैले भनि हाल्छन् ।’ परिवारबारे सोध्दा छोटकरीमा भन्नुभयो ‘मेरो कोही छैन । म एक्लै आएँ एक्लै जाने हो ।’ त्यसपछि उहाँसँग मैले वर्तमानमा नेपाली राजनीतिबारे कुरा गर्ने चाहना राख्दा यस विषयमा उहाँले केही बोल्न चाहनुभएन । मैले भने, ‘तपाईं देशको पूर्वप्रधानन्यायधीश, देश राजनीतिक रूपमा लथालिंग बनेको परिवेश, जनताको सार्वभौम परिचय भनिएको संसद दुई-दुईपटक भंग भएको अवस्था छ । त्रिभुवन विश्वविद्यालयको एकजना सेवानिवृत्त प्राध्यापक यसबारे तपाईंसँग विमर्श गर्न चाहँदा आपत्तिजनक त होइन सर ।’

उहाँले सोझै भन्नुभयो- ‘पूर्वन्यायाधीशहरूले आफ्नो कुरा राखिसक्नु भएको छ । शेरबहादुर देउवालगायत पाँच-पाँचजना पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कुरा बारम्बार दोहोर्‍याइरहेका छन् । म संन्यासी भएर बसेको मान्छेले के भन्ने सर ?’

मैले भने, ‘हिजोको दिनमा त्यस्तो उच्च ओहदाको जिम्मेवारी लिएर बस्नुभएको हजुर भित्तामा टाँसिएर भजन गाइरहेको टेलिभिजनबाट तपाईंले देशमा हुँदै गरेका राजनीतिक समाचार दुर्घटना अवश्य नै सुन्नु हुन्छ । मन त तपाईंको पनि दुख्छ होला सर । मन र मस्तिष्कमा विचारले पनि आक्रमण गर्छन नै होला ।’

उहाँले मेरो नाउँ सोध्नुभयो । मैले एलबी क्षेत्री भने ।
उहाँले भन्नुभयो- क्षेत्रीजी, लोकतान्त्रिक परिपाटीमा विकल्प रहुन्जेल संसद् विघटन गर्नु उचित होइन तर धेरै नै किचलो भइसक्दा जनता नै सार्वभौम शक्ति भएकाले जनताकै बीच गएर निर्णय लिऊँ भन्नु कुनै अपराध होइन ।

त्यसपछि उहाँसँग सोध्नेयोग्य मसँग कुनै प्रश्न वा जिज्ञासा न रहेकाले बिदा मागें । उहाँले भन्नुभयो पख्नुस् । पहेंल्याम्म पाकेका दुईवटा केरा दिँदै भन्नुभयो- ‘यो प्रसाद लिएर जानोस् । तपाईंको शुभ होस् ।’

मैले प्रणाम गरें र फर्कें । देवघाटको मुख्य पार्किंङतिर जाँदै गरेको मूलबाटोमा लवराज सुवेदी नाम भएका एकजना विद्वान्‌सँग मेरो पुरानो परिचय थियो र उहाँलाई खोजेर केहीबेर संन्यासी दामोदर शर्माबारे जानकारी लिने मनसाय राख्दा उहाँले भन्नुभयो- ‘खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उहाँ का.मु. प्रधानन्यायाधीश नियुक्त हुनुभएको रहेछ त्यसपछि खिलराज रेग्मी सेवानिवृत्त भएपछि उहाँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको रहेछ ।’

लवराजबाटै मलाई २०६६-६७ देखि नै दामोदर शर्मा चितवनको देवघाट आउँदै गरेको र एउटा आश्रमको निर्माण योजनामा सक्रिय रहनुभएको जानकारी प्राप्त भयो । उहाँ भारतको वृन्दावनका कुनै अखण्डानन्द महाराजबाट संन्यास दीक्षा ग्रहण गरी पूर्णरुपेण संन्यास जीवन ग्रहण गर्नुभएको रहेछ ।

उहाँका काठमाडौं र सिमरामा पनि आश्रम रहेछन् र मसँग नै ‘कहिले-काहीँ उता पनि जानेगर्छु’ भन्नुभएको थियो । लवराजजीको भनाइअनुसार देवघाट बासिन्दाका लागि उहाँको मुख्य योगदान सरकारी लगानी आयोजनामा परेर खाने पानीको व्यवस्थापन हो । ‘आज हामीले उहाँले गर्दा सरकारी पानी खान पाएका छौं ।’

एलबी क्षेत्रीको फेसबुकबाट

प्रतिक्रिया