शुक्रबार, वैशाख २८, २०८१

स्वार्थ

खेमलाल पहारी २०७९ वैशाख १० गते ७:३१

बगरको बालुवामा फलामको धाउ छ भन्ने थाह पाएर बगरको रुखमुनि वर्षौंदेखि पाल टाँगेर बसेका केही लौहकारहरूले बालुवा चालेर फलाम निकाले । त्यसलाई पकाएर उनिहरूले गजब गजबका हतियार बनाए र आफूलाई छहारी दिने त्यही रुखका हाँगा लाछेर तिनै हतियारमा बिँड हाले ।

नयाँ बिँड पाएका केही थान हँसिया हथौडाले रुखका हाँगा छानिछानि काटेर रुख उदांगो परे भने हथौडाले रुखका जराजरामा प्रहार गरेर रुखलाई मरणासन्न हुने गरी हल्लाए ।

गर या मरको स्थितिमा पुगेको रुखले हँसिया हथौडाको करङ् र टाउकोको मूल्य तोक्यो । यता विजयोन्मादले उन्मत्त हतियारले रुखहरू र तिनको छहारीमा बस्ने बटुकहरूको समेत हुर्मत लिए । यो देखेर रूखको मालीले हतियारजति लाँदै गोदाममा कोच्दै गर्यो ।
बिँडहरूलाई के सकस परेछ कुन्नि, उनिहरूले मालीकै वंश नास हुने गरी आक्रमण गरे ।

अब आफैं भान्छे आफैं खान्छे बनेका हाँगा र हँसिया हथौंडा केही दिन मितेरी साइनोमा त केहीदिन जार जार बनेर अस्तित्वको लडाइँ लडिरहे । बन जाँदाका जार घर फर्कँदा सम्धी र सम्धी जार भए ।

आज बिहान टोलका रुखहरूले जुलुस गरे । उनीहरू धोद्रो फुट्ने गरी चिच्याए, ‘हँसिया हथौडा ! जिन्दावाद !’
हाँगाबिँगा सलामत हुनेले हाँगा पात हल्लाउँदै भने, ‘जिन्दावाद !
हाँगा काटिएका रुखले चोप निस्केको घाउमा माटो दल्दै भने, ‘जिन्दावाद !
अर्कोतिर हँसिया हथौडाको नारा चर्को थियो, हाम्रा सम्धी रुखहरू ! जिन्दावाद !
बिँड भएकाहरूले बिँड समातेर भने, ‘हाम्रा रुखहरू, जिन्दावाद !
बिँड फुस्केकाहरूले काँजो हेरेर भने, राम्रा रुखहरू, जिन्दावाद !
भरतपुर ४, चितवन

प्रतिक्रिया