चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय तनहुँको भिमाद नगरपालिकाले नमान्ने

नेपालखोज २०७७ चैत १६ गते १८:२३

तनहुँ । सरकारले वायु प्रदूषणका कारण आउँदो चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि तनहुँको भिमाद नगरपालिकाले विद्यालयमा बिदा नदिने भएको छ ।

भिमाद नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विज्ञप्ति निकालेर नगर क्षेत्रभित्र अहिलेसम्म कुनै वातावरणीय समस्या नदेखिएकाले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

भिमाद नगरपालिकामा अहिलेसम्म तुवाँलो वा वायु प्रदूषण नदेखिएको र मौसमविद्हरूले तत्काल समस्या देखिने सम्भावना कम रहेको जानकारी दिएकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले जानकारी दिए।

उनले भने, ‘कोरोना महामारीका कारण पढाइमा समस्या ल्याएको छ, यस्तो बेलामा अन्यत्र भएको मौसम खराबीले यहाँ बिदा दिनु उपयुक्त नदेखिएकाले हामीले बिदा नदिने निर्णय गरेका हौँ ।’

प्रतिक्रिया