बिहीबार, चैत १५, २०८०

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

नेपालखोज २०७७ चैत १९ गते १८:२७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम योजनाको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारले पहिलो पटक ५ अर्ब ६ करोड रुपैयाँको बराबरको कार्यक्रमसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा देशभरका ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरी रकम बाँडफाँड गरिएको छ । आवेदन परेका ६ हजार ९ सय २१ मध्ये छनोटमा परेका ४ हजार २ सय ५० विद्यालयलाई १ करोड देखि ६ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराइएको छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले शिक्षामा नयाँ कामको थालनी भएको धारण व्यक्त गरे । उनले भने, ‘सरकारले जनताको अपेक्षा गरिएको भन्दा बढी काम गरेको छ ।’

मुलुकको समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ–नयाँ योजनासहित अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

शिक्षाक्षेत्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने थलो भएकोले शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘अब नेपालमा सीपसहितको शिक्षा आवश्यक रहेको छ ।’

प्रतिक्रिया