शनिबार, वैशाख १५, २०८१

एक ज्यान दुई जुनीको उत्खनन्

कृष्ण कँडेल २०७७ चैत २१ गते ९:००

प्रशासकदेखी विकासवादी र नेपालको नागरिक आन्दोलनको संस्मरणात्मक अभिलेख “एक ज्यान दुई जुनी “लिएर डाक्टर देवेन्द्रराज पान्डे प्रकट भएका छन् ।

पंचायतकालमा सिंहदरबारदेखि राजदरबारसम्मका रामकहानीलाई नजिकबाट छामेका डाक्टर पान्डे २०४६ सालको परिवर्तन पश्चात् अर्थमन्त्री हुन पुगे । मन्त्रीबाट हटिसकेपछि नेपाल र दक्षिण एशियाका प्रवुद्ध विद्वानको रूपमा नेपालको नाम संसारभर चिनाउने काम गरे ।

विकासको मुख्य शत्रु भ्रष्टाचार हो भन्दै विदेशी मित्रहरूसँग मिलेर नेपालमा पनि ट्रान्परेन्सी ईन्टरनेशनलको स्थापना गरे । पान्डेको हालै प्रकाशित पुस्तक एक ज्यान दुई जुनीको संस्मरणले वर्तमान र भावीपुस्तालाई इतिहासका ती सबै घटनाक्रमको तरोताज बनाउनेछ र आगामी “रोड म्याप”को यथोचित व्यवस्थापन गर्न टेवा पुर्याउनेछ ।

वर्तमान समाजले स्वीकारे पनि नस्विकारे पनि पंचायतलाई नजिकबाट छामेका अनुभवबाट खारिएका पान्डेले आफ्नो लेखकीय ईमान्दारिता निर्वाह गर्न कति पनि चुकेका छैनन् । लेखकले आफ्ना कमजोरीलाई पनि पुस्तकमा समेटेका छन् । देशको चिन्ता गर्दै उनी लेख्छन् “ भूगोलका हिसाबले नेपालमा तराई छ, पहाड़ छ, हिमाल छ । यो थाहा नहुने कुरा भएन । तर त्यहाँ मानिस छन्, ती मानिस विविध संस्कार, संस्कृति, जातभात लिंग र आकांक्षामा छन् । ती आकांक्षालाई सम्बोधन गर्नु नै विकास हो भन्ने ज्ञान आएन । “राणा शासन गयो, पंचायत गयो, राजतन्त्र गयो गणतन्त्र आयो तर मुलुकमा बसेबास गर्ने भुईँ मान्छेका कथाव्यथा पढ्ने दुरदर्शी राजनेता फेला परेन भन्दै लेखकले वीपी कोईरालाको प्रजातान्त्रिक समाजवादप्रतिको आफ्नो आकर्षणको बारेमा यसरी टिप्पणी गर्छन् । अनुभव र विश्वविद्यालयको अध्ययन दुबैले मलाई ढिलै गरेर भए पनि समानता, मानवीय संवेदना र सामाजिक न्याय बिनाको विकासलाई विकास भन्न मिल्दैन भन्ने सिकाएको थियो ।”

पंचायतमा आफु प्रशासक हुँदाका तिता मिठा अनुभूति, बहुदलीय प्रजातन्त्रका लागि गरेको योगदान र अर्थमन्त्री हुँदाका अर्थपूर्ण क्षणहरू अथवा तत्कालीन सातदल र माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको गोरेटोसम्म पुर्याउन पान्डेको अतुलनीय योगदान छ भन्दा अतिशयोक्ति नहोला । यदि योगदान हुँदैनथ्यो भने त्यतिबेलाका केही चर्चित नेताहरूले प्रधानमन्त्री वा राष्ट्रपतिको “अफर” गर्दैनथे होला ।

अर्को एक प्रसंगमा नेपाल भारत संवन्धका बारे लेखक भन्छन् ” दुर्भाग्यवश नेपालमा पहिलेका राणा हुन् कि पछिका राजा वा पंचहरू र हाल गणतन्त्र नेपालका नेताहरू केही अपवाद बाहेक धेरैले मुलुकको स्वार्थ र हितसंग सँम्झौता नगरी भारतसँग सम्बन्ध व्यवस्थापन गर्न सकेजस्तो लाग्दैन । “

पुस्तकको विट मार्ने क्रममा ठूला ठूला परिवर्तन र विकासका नारा जुन हिसाबले फलाकिए पनि त्यसले सार्थकरूप लिन नसकेको गुनासो गर्दै पान्डे लेख्छन् ”जनताका निम्ति सार्थक विकास उपलब्धी न्यून हुन गयो । तथाकथित आधुनिकीकरणको आकर्षणले पर्यावरण, जलवायु र जीवजीवाणुबीचको सन्तुलनको समेत रक्षा गर्न सकेनौं । हाम्रो विकास तथा हामीले कसका लागि र कुन कालखण्डका निम्ति रचेको हो भेउ पाउन सकिने अवस्था रहेन । “

फ़ाईन प्रिन्ट बुक्सले प्रकाशित गरेको ३०६ पृष्ठको यो पुस्तक उच्च नागरिक चेत भएका एउटा सम्मानित नागरिकको मानव अधिकार ,विकास र लोकतन्त्रको पक्षमा उद्घोष गरिएको निष्ठा र समर्पणको गाथा आउने पुस्ताका लागि “रिफ्रेन्स “ बुक हुनेछ । एघार वटा शीर्षकमा बाँडिएको यो किताब एक ज्यान दुईजुनी नेपालको विगत र वर्तमानको ऐना हो ।

प्रतिक्रिया