प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?

नेपालखोज २०७७ चैत २३ गते १५:३४

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ । बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले शुल्क लिएर बालबालिकालाई दुःख दिने काम नहोस् भनेर ध्यानाकर्षण गराए । सांसदहरुले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद राजबहादुर बुढा क्षेत्री ले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए ।

उनले भने, “अहिलेको सदनको चाललाई हेर्दा भ्यान्टिलेटरमा राखेको विरामी जस्तै भएको छ । गतिविधिका हिसाबले शुन्यतामा पुग्नु मुलुकका लागि दुर्रभाग्य हो । राजनीतिक दलहरुले सधै चालबाजीको खेल खेल्नु शोभनिय हुदैन । मुलुकको माग स्थिरता छ । सम्मृद्धि छ । संविधानको कार्यान्वयन छ । संसद भित्रको अंकगणितले गर्दा संसदीय गतिविधि संचालनमा कठिनाई उत्पन्न भएको हो भन्ने मान्ने हो भने अर्लि इलेक्सनबाट आउने अंकगणित पनि यो भन्दा नमिलेर आउन सक्छ ।”

सांसद रंगमति शाहीले संविधान विपरित संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाइन् । उनले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गरेकी थिइन् । उनले भनिन्, “देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युवामा प्रवेश पर्‍यो रे । मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन । बिरामीले अहिले सम्म अकालमा ज्यान गुमाउनु परेको छ । जो ठूला अपराधि, भ्रष्ट्रचारीहरुलाई गणतन्त्र मनाउनेको नाममा चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिज्यूले कैद मिनाहा गरिदिनुहुन्छ । म भ्रष्ट्राचार गर्दिन, गर्नपनि दिदिन भन्नुहुन्छ, जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ ।”

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्र्तगत पोखरादेखि बुटवल सम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गरे । उहाँले भने, “सिद्धार्थ राजमार्गका सन्दर्भमा सरकारको ध्यान किन आकृष्ट हुन सकेन । बुटवल देखि दोभान सम्म त्यो सडकको दुरदशा हेर्दा सरकारका मन्त्रीहरु पटकपटक त्यही बाटो ओहोर दोहोर गर्नुभएको छ । म आग्रह गर्न चाहन्छु १२/१५ करोड ठूलो कुरा होइन । दुई महिना तीन महिना भित्र १२/१५ करोड रकम विनियोजन पर्‍यो भने त्यहाँ कालोपत्रे गर्न सकिन्छ ।”

ताप्लेजुङ दोभानका आगलागी पीडीतलाई तत्काल आवास र दैनिक आवश्यकताका भुकम्प पीडीत सरहको राहत सहयोग उपलब्ध गराउन योगेश कुमार भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै, सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्दै भने “चुनाव अगाडी गठमन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागे, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडे, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागें, संसद विघटन गरेर परिवर्तनको घोषणा गरें, निर्वाचनको घोषणा गरें, लोकतन्त्र संकटमा प¥यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल, नागरिक समाज उचालें, अदालत गुहारें, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सुर्यको चिन्ह लगाएँ, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनें, अध्यक्ष घोषणा गरें, ११ गतेको फैसलाले मख्ख परें, लड्डु खाएँ, अबिर दलें, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वासको मत फिर्ता लिन्छु भन्छु सक्दिन, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठबन्धन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस भन्दा कसैले टेर्दैन, अव प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ , लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खालि छ । केपी ओलीको अगाडी मेरो केही लागेन । जसपाले मानेन, कांग्रेस जागेन ।”

सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनुपर्ने भन्दै चुरे दोहन गरी अबैध कारोबारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

सांसद मोहन बानियाले कर्णाली राजमार्गको सुर्खेत देखि नाग्म सम्मको अधिकांश खण्डमा कालोपत्र विग्रेर खाल्डाखुल्डी परेको र बर्षा संगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकिय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गरे । राजेन्द्र कुमार केसीले मेलम्चीको पानी र्कितिपुरमा नपुगेको भन्दै तत्काल र्कितिपुरबासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले डिपिआर नै नभईकन प्रधानमन्त्रीले १ सय ६५ वटा सडकको सिलन्यास गरेको उल्लेख गर्दे कुन सडकको सिलन्यास भएको हो ? भनेर प्रश्न समेत गरेका छन् ।

सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रसंसनीय काम गर्न नसकेको धारणा राखिन् । उनले भनिन् “सरकारको प्रसंशा गर्न पर्यो किन नगरेको भनेर सरकार पक्षका माननीय ज्यूहरुले खुबै रोइलो गर्नुहुन्छ । प्रसंशा गर्नका लागि सरकारले कुनै त्यस्तो काम गरेको छैन । प्रसंसनीय काम हुनुपर्यो नि । सरकारले जनता आक्रोशित हुने काम गर्ने, त्यसैले हामी प्रसम्सा गर्न सक्क्तैनौ रोइलो बन्द गर्नुहोस् माननीय ज्यूहरु । हामी कसैको मृत्युमा हास्न सक्तैनौ । ”

उनले इलाम नगरपालिकाका मेयरले त्यहाँको एउटा दलित बस्ती उजाडेको आरोप पनि लगाएकी छन् । सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीले संसद चलिरहेका बेला राजनीतिक विषयमा सदनबाहिर धारणा राख्नु गैर जिम्मेवारी, अराजनीतिक र असंबैधानिक चरित्र भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न पनि आग्रह गरे ।

सांसद भैरव बहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरु भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपुर्ति गर्न सरकारसंग माग गरे । त्यसैगरी शुन्य समयमा बोल्ने अन्य सांसदहरुले १ सय ६५ वटा बाटोहरुको बालुवाटारबाट सिलन्यास भएपनि ती बाटोका डिपिआर पनि नभएको भन्दै सो कार्यमाथि प्रश्न गरेका थिए ।

-फाइल तस्बिर

प्रतिक्रिया