नेप्से ऐतिहासिक विन्दुमा, तीन दिनमा २३ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । यो साता नेप्सेले ऐतिहासिक बिन्दु कायम गरेको छ । नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन खुल्ला रहने भएपनि यो साता पहिलो र चौथो दिन सार्वजनिक बिदा परेकाले नेप्से बन्द रहेको थियो । तर बाँकी तीन कार्यदिन भने नेप्से उच्च अंकले बढ्दा यो साता अर्थात नयाँ बर्ष २०७८ को सुरुवाती साता नेप्सेले ऐतिहासिक बिन्दु कायम गर्न सफल भएको हो ।
यद्यपी यसअवधिमा सार्वजनिक बिदा परेकाकारण सेयर कारोवार रकम भने गत साताको तुलनामा घटेको छ । नेप्सेले यो साता २७ सय ३५ दशमलव ४६ अंकको ऐतिहासिक रेकर्ड कायम गर्दा सेन्सिटिभ इन्डेक्सले पनि चार सय ९२ दशमलव ४४ अंकमा उच्च रेकर्ड कायम गरेको छ ।
सातभर अर्थात कारोवार खुलेको तीन कार्यदिनमा नेप्सेमा दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ५२ हजार सात सय ९० पटकको कारोबार भएकाछन । जसबाट चार करोड ७५ लाख ३३ हजार सात सय ४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा कम हो । नेप्सेमा गत साता भने दुई सय १५ वटा कम्पनीहरुको तीन लाख ९३ हजार ४३ पटकको कारोबार भएको थियो । जसबाट आठ करोड एक लाख पाँच हजार तीन सय ७१ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम ३७ अर्ब ६० करोड ५० लाख तीन हजार सात सय दुई रुपैयाँ पुगेको थियो ।
कारोबार खुलेको तीन कार्यदिनहरु मध्ये यो साता दोस्रो दिन १७ दशमलव दुई अंकले बढेर २६ सय ९१ दशमलव ५५ अंक पुगेको नेप्से पाँचौं अर्थात अन्तिम कारोवार दिन पनि २० दशमलव ६७ अंकले बढेपछि दुई हजार सात सय ३५ दशमलव ४६ अंकमा पुग्न सफल भएको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन तीन दशमलव ७८ अंकले बढेर चार सय ८० दशमलव २९ अंकमा पुग्न सफल भएकोमा अन्तिम कारोबार दिन पनि छ दशमलव १७ अंकले बढेर चार सय ९२ दशमलव ४४ अंकमा पुग्न सफल भएको थियो ।
नेप्सेमा यो साता नबिल बैंक, नेपाल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बढी रकम कारोवार भएकाछन । कारोबार भएको सेयर संख्याको आधारमा भने नबिल बैंक, इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि अगाडि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिन बैंक आदि अगाडि परेकाछन । सूचीकरणतर्फ भने यो साता सिभिल बैंक, मञ्जुश्री फाईनान्स, शाईन रेसुंगा डेभलपमेन्ट बैंक आदिको बोनस सेयर सूचीकृत भएकाछन ।
प्रतिक्रिया