शुक्रबार, वैशाख १४, २०८१

‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

नेपालखोज २०७८ वैशाख १३ गते १३:०२

कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पा । क्षेत्रफलका हिसाबले मुलुककै ठूलो जिल्ला डोल्पा विकासमा पछाडि पारिएको छ । डोल्पा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले स्याङ्जाका ३७ वर्षीय युवा माधवप्रसाद ढकाल कार्यरत छन् । यसअघि गृह मन्त्रालयका कार्यरत ढकाल प्रजिअका रूपमा २०७७ पुस ८ गते डोल्पा पुगेका हुन् । आँधीखोला गाउँपालिका, ६ स्याङ्जा स्थायी ठेगाना भएका ढकालको अहिलेको बसोबास भने पोखरामा छ । २०४१ सालमा जन्मिएका ढकाल निजामती सेवामा भने २०६३ सालमा प्रवेश गरेका हुन् । उसो त ढकालपत्नी पनि निजामती सेवामै छन् । आफ्नो व्यावसायिक मर्यादा कायम गरेर इमादारीपूर्वक काम गर्ने हो भने जनताको गुनासो सुन्नु नपर्ने उनको विश्वास छ । ‘जनताको प्यारो कर्मचारी भएर अघि बढ्न सकिन्छ भन्नेमा मेरो विश्वास छ,’ उनले सुनाए । डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालसँग हामीले विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा ढकालसँग गरिएको कुराकानी :

अहिलेको पुस्ताले निजामती सेवालाई कुन रूपमा लिएका छन् ?
बाहिर राम्रो अवसर पाउने युवाहरूमा निजामती सेवातर्फ खासै आकर्षण भएको पाउन सकिँदैन । विपन्नवर्ग अथवा सामान्य रोजगारी मात्र गरी खाने युवाहरू छन् उनीहरूमा भने आकर्षण निकै छ । अलि लो प्रोफाइलका व्यक्तिहरू (मध्यम वर्गीय, निम्न वर्गीय) मा निजामती सेवातर्फ जानुपर्छ भन्ने भावना रहेको देख्न सकिन्छ । किन भने मध्यम, निम्न वर्गीय परिवारका व्यक्तिहरू बाहिर मुलुक अर्थात् जापान, अमेरिकाजस्ता मुलुकमा भने जान सक्दैनन् । उनीहरूका हकमा त निजामती सेवामै जाने भन्ने आकर्षण देखिएको छ । तर, हामी सक्षम छौं, बाहिर जान्छौं भन्नेहरूको आकर्षण निजामती सेवामा भने खासै देखिँदैन ।

तपाईंमा निजामती सेवामै जानुपर्छ भन्ने चाहना कसरी भयो ?
मेरो हकमा भने देशको सेवा गर्ने बाटो कता होला भन्ने थियो । आफ्नो भविष्यका लागि चिन्ता लिएर बस्नु नपरोस् भन्ने सोचेर सुरक्षित बाटो मैले स्थायी जागिर देखें । स्थायी जागिर भन्दा पनि जनतासँग नजिक रहेर सेवा गर्नुपर्छ भन्ने सोचेर मैले निजामती सेवा रोजें ।

सरकारी कर्मचारी जनताका सेवक भनिए पनि जनताको मालिकजस्तो व्यवहार रहेको जनगुनासो छ नि ? यसमा तपाईंको भनाइ के छ ?
हामी राष्ट्रसेवक हो । राष्ट्रसेवकले नागरिकको सेवा गर्ने हो, जनताको सेवा गर्ने हो । जनताको सेवालाई सहज, सरल, प्रभावकारी हिसाबले कत्ति पनि दुःख नदिईकन सजिलो तवरले सेवा दिनुपर्ने हो । तपाईंले भनेजस्तै विगतमा शासकवर्गजस्तो भए पनि पछिल्लो समय यो अलि कम भएको मेरो अनुभव छ । तर पनि जति हुनुपर्ने हो त्यो भएको छैन । त्यसकारण निजामती सेवाको साख उच्च बनाउन सबै कर्मचारीले सरल, सहज हिसाबले मुस्कानसहित सेवा प्रवाह गरिदिए पुग्थ्यो । यसो भए नागरिकले पनि निजामती सेवा उच्च रहेछ भनेर महसुस गर्ने थिए । उसो त केही निजामती कर्मचारीहरूले गलत तवरबाट अर्थआर्जन गर्नुपर्छ रातारात धनी भएको देखेर त्यस्ता सोचबाट ग्रस्त भएकाहरू आउन त सक्लान् । त्यस्ता केहीले त निजामती सेवालाई बदनाम त गरेका छन् ।

पछिल्लो चरणमा निजामती सेवाले नागरिकहरूको सेवालाई सहज तरिकाले दिनुपर्छ भन्ने भावनाको विकास भएको छ । पहिलाजस्तो शासक प्रवृत्ति कम हुँदै गएको छ ।

कर्मचारीकै हैसियतमा अन्य कार्यालयमा सेवाग्राहीका रूपमा आफू जाँदा भोग्नुपरेको तीतो अनुभव केही छ कि ?
यो त छँदै छ नि । विशेषगरी नापीमा, मालपोतमा, यातायातमा पुग्यौं भने यहाँ बिचौलियाहरूको बिगबिगी छ । त्यसै कारणले पनि होला मलाई यी अड्डामा जागिर खान मन नलागेको । हुन त हामी गएर सुधार्ने भन्ने त होला । फेरि यसमा एकजना व्यक्ति मात्र लागेर भने हुँदो रहेनछ । त्यसमा माथिल्लो नीतिगत तहबाटै, राजनीतिक तहबाटै प्रतिबद्धता भइदिने हो भने सहज हुन्छ ।

मैले एकपटक वैदेशिक रोजगार विभागमा थोरै अवधि मात्र काम गर्ने अवसर पाएको थिएँ । त्यतिबेला मलाई यो सुधार्न सक्ने मान्छे हो भनेर खोजीखोजी लिएर गएको अवस्था थियो । त्यतिबेला मैले २/३ महिनाको अवधिमा त्यहाँका मेनपावर कम्पनीलाई राम्रै तरिकाले ‘कन्ट्रोल’ मा ल्याएको थिएँ । बिचौलियाहरूको बिगबिगी हुने विशेषगरी मालपोत, यातायात जस्ता अड्डाहरूमा अझै पनि हामीहरू स्वयं सेवा लिन जाँदा पनि दुःख पाउने स्थिति छ ।

त्यसकारण सेवाग्राहीको बढी चाप हुने, बढी सेवा प्रदान गर्ने निकायहरू छन्- स्थानीय तह, यातायात, मालपोत, नापीजस्ता अड्डाहरूको सुधार गरिदिने हो भने मात्रै पनि नागरिकहरूले निजामती सेवालाई धेरै हिसाबले सम्मान गर्थे ।

विशेषगरी तपाईंसमक्ष कस्ता सेवाग्राही, कुन प्रकारका समस्या लिएर आउने गरेका छन् ? उनीहरूका समस्या समाधानमा कति सफल भएजस्तो लाग्छ ?
हाम्रोमा अहिले पनि राम्रो काम गर्‍यो, उच्चस्तरीय कार्य गर्‍यो भनेर माथिबाट देख्ने, भन्ने चलन कम छ । मैले कसरी सेवा गर्छु भने, नागरिकको सेवा गर्नु मेरो कर्तव्य हो, धर्म हो भन्ने भावनाले काम गर्छु । नागरिकलाई सेवा दिइसकेपछि जब खुसी भएर फर्कन्छन्- उहाँहरूको खुसी, मुहारको मुस्कानले मलाई काममा थप ऊर्जा प्रदान गर्छ । योभन्दा ठूलो पुरस्कार मलाई अरू केही पनि लाग्दैन । सेवाग्राहीले सेवा पाएपछि खुसी भएर फर्किए भने त्यही नै आत्मसन्तुष्टि हुन्छ मेरा लागि । बेग्लै आनन्द हुन्छ । २०६३ सालमा निजामती सेवामा प्रवेश गरेसँगै मसँग टाँठाबाठा, मैहुँ भन्ने व्यक्तिहरू अलिअलि रुष्ट होलान् नत्र भने मैले आफूले भन्नुभन्दा पनि मेरो कार्यालयबाट सेवा लिएर फर्किएका सेवाग्राहीहरूसँग यहाँहरूले बुझ्दा पनि हुन्छ आफ्नै हिसाबले ।

अर्को कुरा मेरो कार्यालय नियामक निकाय भएकाले पनि अरू अड्डामा भएका गलत कुराहरू अथवा अरू निकायले दिएका गलत कुराहरू छन् भने पनि मेरोमा आउँछन् । विशेषगरी ब्याजको पैसा, रकम खाइदिने, काम लगाएपछि पैसा नदिनेलगायतका उजुरीहरू धेरै आउँछन् ।

हामीले उनीहरूलाई जिल्ला प्रहरीमार्फत समन्वय गर्न लगाउँछौं, त्यसपछि मात्र पैसा तिर्ने गरेको अवस्था धेरैको छ । कोहीले ठगेका छन् भने पीडितहरूलाई दिनुपर्ने रकम दिने, उनीहरूको क्षतिपूर्ति दिनेलगायत कामहरू भएका छन् । यसले अलिकति भए पनि सन्तुष्टि दिन्छ ।

तपाईंसँग आएका सेवाग्राही जो निकै खुसी भएर फर्किएको होस् अर्थात् आफ्नो कार्यसम्पादनबाट तपाईंलाई आत्मसन्तुष्टि प्राप्त भएको होस् । कुनै घटना छ ?

यस्ता धेरै घटना छन् । भरखरै २/३ दिनअघि एकजना बाबु नभएको किशोर, जो अहिले प्लस टु पढ्दै गरेका छन् । उनले नागरिकता लिन खोजे पनि पाउन नसकेको अवस्था थियो । ती किशोरले २/३ वर्षदेखि नै कोसिस गरेका थिए । उनको संरक्षकका रूपमा मामा हुनुहुँदो रहेछ । उहाँ धेरैपटक यहाँ आउनु पनि भयो । मैले आवश्यक सबै प्रक्रिया बुझेपछि । बाबुको ठेगान नभए पनि ऊ नेपाली नागरिक नै हो । उसको भविष्य सुरक्षित होस् भन्ने हिसाबले मैले उसको हक, उसलाई नागरिकता प्रदान गरें ।

नागरिकता प्राप्तिपछि उनीहरू (किशोर, किशोरका मामा र आमा) तीनैजना निकै खुसी भए । बेग्लै आनन्द प्राप्त गरेका थिए । नागरिकता प्राप्तिपछि खुसी हुँदै आफूसँग भएको एउटा कम्बल सिडियो’साबले लगिदिएको भए हुन्थ्यो भन्ने उहाँहरूको चाहना थियो । उहाँहरू आफैंमा विपन्न के–को कम्मल लिनु ? त्यो कम्मलले तपाईंहरू नै न्यानो भएर बस्नुहोस् भनें ।

यस्ता घटना त धेरै छन् । यस्ता कुरा अरूले देख्ने पनि भएन । राम्रो काम गर्ने अनि सेवाग्राहीको मुहारमा खुसी देख्दा आफ्नो आत्मसन्तुष्टि बढ्ने पो हो । नागरिकको सेवा गर्नु मेरो धर्म हो, मैले सोही गरें । सेवाग्राही खुसी भएर गए आफूलाई त्यसैमा आनन्द आउँछ ।

समग्र डोल्पा जिल्लाका समस्याहरू के–के देख्नुभएको छ ?
डोल्पा जिल्लाका समस्याहरू त धेरै नै छन् । पहिलो कुरा त डोल्पा भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो जिल्ला हो । सदरमुकामदेखि ७, ८ दिन हिँडेर पुगिने गाउँहरू छन् । त्यति टाढाबाट नागरिक आफ्नो कामका सिलसिलामा यहाँ आउँछन् । यहाँ आएर काम नबनी फर्कनुपर्‍यो भने त्योभन्दा ठूलो पीडा केही हुँदैन भन्ने लाग्छ । उनीहरूका आफ्ना समस्याहरू बेग्लै छन् । बिहान खायो बेलुका के खाने भन्ने चिन्ता पनि छ ।

यहाँका नागरिक धेरै पीडामा छन् । यातायातको सुविधा छ भनौं कि छैन भनौं । यातायात त छ तर बीचमा अझै कनेक्सन टुटेको छ । अर्थात् सीधै जोडिएको छैन । बीचमा गाडीहरू फेरेर आउनुपर्ने अवस्था छ ।

त्यसपछि उनीहरू व्यवसायका हिसाबले पनि खासै धेरै सक्रिय देखिँदैनन् । खाली यार्सा संकलनमा भने बढी केन्द्रित भएको देखिन्छ । डोल्पाको विकास निर्माणको बाधक भौगोलिक अवस्थिति बनेको छ । विकासमा नागरिकहरू बढी सचेत भएको देखिँदैन । यहाँ केही टाठाबाठा भनाउँदाहरूले नै बजेट विनियोजन गर्ने, उनीहरूले नै बजेटको खर्च गर्ने, कतिपय ठाउँमा दुरुपयोग पनि गर्ने गरेको देखिन्छ । त्यो कुराको अलि समस्या नै छ । डोल्पालीका नाममा आएको बजेट पूर्ण रूपमा सदुपयोग भइदिएन कि भन्ने चिन्ता मलाई छ ।

यावत् समस्या समाधानका लागि तपाईंबाट के–के पहल भए ?
मैले यसो गरें उसो गरे भनेर आफैं भन्नुभन्दा पनि, मेरो कामको मूल्यांकन त अरूले गर्लान्, समयले पनि गर्ला । म सरुवा भएर यहाँ आउँदा फोन गर्नका लागि नै समस्या थियो । आवश्यक फोन गर्नुपर्दा उताबाट बोलेको मैले नसुन्ने, म बोलेको उता नसुनिनेजस्ता समस्या थिए । बीच–बीचमा बोलेको सुनिने, काटिने समस्या थियो । सुरुमा त यही टेलिफोनमा आएको समस्या समाधान गरें ।

अर्को यातायातमा पनि अनावश्यक झन्झट थियो । बाटोबीचमा ढाट राख्‍ने, कर उठाउने चलन पनि थियो । पछि मैले उक्त ढाट हटाइदिएँ । सेवाग्राही तथा नागरिकलाई सुविधा होस् भनेर भाडादर पनि घटाउन लगाएँ ।

अर्कोचाहिँ सार्वजनिक सवारीसाधनले क्षमताभन्दा बढी यात्रु चढाउने, जसले गर्दा दुर्घटना निम्तिने भएकाले त्यसमा पनि अलिकति कन्ट्रोल गरेका छौं ।

विकास निर्माणका हिसाबले पनि विभिन्न कार्यालयहरू यहाँ छन् । आफ्नो बजेट, तोकिएको समयमा, तोकिएकै स्टिमेटअनुसार, तोकिएकै मापदण्डमा खर्च गर्नू भनेर हामीले खबरदारी गरिराखेका छौं । कार्यालयको नियमित अनुगमन गर्ने, निरीक्षण गर्नेजस्ता कुराहरू र अलिकति सेवाग्राहीप्रति जिम्मेवार हुनुपर्छ भन्ने कुराहरूका विषयमा पनि हामीले पटक–पटक कर्मचारीहरूलाई सचेत गराएका छौं ।

डोल्पाको शान्ति–सुरक्षाको अहिले अवस्था कस्तो छ ?
शान्ति–सुरक्षाका हिसाबले डोल्पा एकदमै सामान्य अवस्थामै छ । शान्ति–सुरक्षामा त्यस्ता कुनै चुनौती छैनन् । अवस्था सबै राम्रो छ ।

परिवार र जागिरको तालमेल कसरी मिलाउनुहुन्छ ?
ठ्याक्कै त्यस्तो समस्या त छैन । ०७२ को भूकम्पका बेला आमाको अप्रेसन भइराखेको थियो । भूकम्पका बेला भएको कारणले जिल्ला (धादिङमा कार्यरत) छाडेर घरमा जान पाएको थिएनँ । जागिर खाइसकेपछि यस्ता चुनौतीहरू त आइहाल्छन् । तर त्यस्तो ठूलै समस्यामा भने म परेको छैन । कहिलेकाहीँ यस्तै सामान्यखाले कुराहरू त छँदै छन् नि ।

जागिर खाइसकेपछि सम्बन्धित कार्यक्षेत्रमा आफू जानु नै पर्छ । एकपटक कर्णालीको पनि सेवा गर्छु भनेर म आफ्नै इच्छाले यहाँ आएको हुँ । नभए त म जागिरको सेवाअवधि भरी आधा अवधि परिवारसँगै बसेर आधा अवधि छुट्टिएरै काम गरिराखेको छु । जागिरे मान्छे सधैंभरी परिवारसँगै बस्छु भनेर नि सम्भव त हुँदैन ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ २०७८ वैशाख ६ गतेदेखि सुरु गरिएको स्तम्भ हो । यसमा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका प्रजिअ सिद्धराज जोशीसँग कुराकानी गरेका थियौं । यसपटक हामीले कर्णाली प्रदेशको डोल्पा जिल्लाका प्रजिअ माधवप्रसाद ढकालसँग कुरा गरेका हौं । अब आगामी सोमबार अर्थात् २०७८ वैशाख २० गते लुम्बिनी प्रदेशको गुल्मी जिल्लाका प्रजिअ रुद्रदेवी शर्मासँगको कुराकानी प्रस्तुत गर्नेछौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्नेछौं ।)

प्रतिक्रिया