शुक्रबार, वैशाख १४, २०८१

‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

नेपालखोज २०७८ वैशाख २० गते ९:४२

लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मी । गुल्मी जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले बागलुङकी रुद्रादेवी शर्मा कार्यरत छन् । यसअघि रामेछापको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत शर्मा २०७७ पुस ८ गते गुल्मी पुगेकी हुन् ।
बागलुङ स्थायी ठेगाना भएकी शर्मा राजपत्रांकित प्रथम श्रेणीकी प्रजिअ हुन् । हाल देशभर जम्मा ६ जना महिला प्रजिअका रूपमा कार्यरत छन् । त्यसमध्ये राजपत्रांकित प्रथम श्रेणीका तीनजना मात्रै छन् । तीमध्येकी एक शर्माले विभिन्न सामाजिक संघ-संस्थामा समेत काम गरेको अनुभव बटुलेकी छन् ।
बडापत्रमा लेखिएका कुराहरू पूरा नगर्ने तर आफ्नो काम तत्काल हुनुपर्छ भन्ने मान्यता सेवाग्राहीले राख्नु उचित नहुने उनी बताउँछिन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग हामीले विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा शर्मासँग गरिएको कुराकानी :

निजामती सेवामा प्रवेशको चाहना कसरी आयो ?
मैले ८/१० वर्ष निजामती सेवाभन्दा बाहिर पनि काम गरें । बाहिर काम गर्दा हामी विभिन्न तालिम, अन्तर्क्रियामा सहभागी हुन्थ्यौं । म जेन्डरमा सह–प्रशिक्षक पनि हो । यावत् कुराहरूले गर्दा निजामतीलगायत महिलाको क्षेत्रमा नीति निर्माणमा महिलाको सहभागिता कम भयो कि भन्ने पनि लाग्थ्यो । आफूलाई सक्छुजस्तो पनि लाग्थ्यो । त्यसरी काम गर्दै जाँदा र परिवारको प्रेरणाले पनि निजामती सेवामा प्रवेश गरेकी हुँ ।

अहिलेको पुस्ताको आकर्षण कता छ ?
निजामती क्षेत्रमा युवापुस्ताको आकर्षण र विकर्षण मिश्रित देखिन्छ । अहिले निजामती क्षेत्रमा युवापुस्ता प्रवेश गरेको पाइन्छ । निजामतीतर्फ युवाहरूको बुझाइ कम भएर हो वा जानकारी नपाएर हो ? विदेशतर्फ आकर्षण बढेको हामी पाउन सक्छौं । पढेपछि जसले पनि बाहिर (विदेश) जाने मनसाय बनाउने भएकाले वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण देख्न सकिन्छ । यसकारणले निजामती सेवामा प्रवेश गर्नेको कमी देखिए पनि छँदै छैनन्, नआएको भन्नेचाहिँ होइन ।

सरकारी कर्मचारी जनताका सेवक भनिए पनि जनताको मालिकजस्तो व्यवहार रहेको जनगुनासो छ नि ? यसमा तपाईंको भनाइ के छ ?
केही कर्मचारीका कारण समग्र निजामती क्षेत्रमा आरोप लाग्नु स्वभाविकै हो । निजामती सेवा भनेको सरकारी सेवाको मियो नै हो । समग्र सार्वजनिक प्रशासनको एउटा मियोका रूपमा हामीले सार्वजनिक क्षेत्रलाई लिन्छौं । निजामती क्षेत्रमा सबै किसिमका सेवाहरू छन् । सबै क्षेत्र यसले समेटेको छ । विभिन्न क्षेत्रमा काम गर्ने झन्डै ८०/९० हजार कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि । ती फरक क्षेत्रका फरक स्वभाव भएका र फरक व्यवहार भएका कर्मचारीहरूका कारण त्यसो भनिएको होला । तर पछिल्लो समयमा भने निकै सुधार भएको अवस्था छ ।
कर्मचारीले गर्ने व्यवहारबाटै सरकारको पनि सक्षमता देखिने भएकाले त्यस्ता आरोपहरू छन् भने पनि समग्र यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूबाट सुधार हुनुपर्छ । सुधारको आवश्यक छ ।

कार्यालयमा आएका सेवाग्राहीको कामलाई कर्मचारीले कस्तो प्राथमिकता दिनुपर्छ ?
जुन क्षेत्रमा प्रवेश गरिन्छ– मैले काम के गर्ने, कसरी गर्ने, त्यो सेवा र पेसाप्रतिको जिम्मेवारी के–हो भन्ने कुरा सबैले हेक्का राख्नुपर्छ । कसैले गर भनेपछि गर्ने, आलोचना गरेपछि गर्ने होइन कि आफूले आफ्नो कामको जिम्मेवारी लिनुपर्छ । आफूले गरेको कामप्रति इमानदारिता, सक्षमता प्रदर्शन गर्नुपर्छ, सहनशीलता पनि हुनुपर्छ । कतिपय कुराहरू कहिले राम्रो, कहिले नराम्रो हुन्छ । त्यसकारण पनि सबै कर्मचारीमा जिम्मेवारीपना आवश्यक हुने देखिन्छ । जिम्मेवारी लिने कर्मचारीको राम्रो भइरहेको पनि हुन्छ । हामीले ‘प्रोएक्टिभ’ भएर काम गर्न सक्यौं भने यस्ता किसिमका आरोपहरूचाहिँ लाग्दैन ।

आफू सेवाग्राही बनेर अन्य कार्यालय पुग्दा भोग्नुपरेको तितो अनुभव केही छ कि ?
सेवाग्राहीका रूपमा म अन्य कार्यालय जाँदा तितो अनुभव भने भोग्नुपरेको छैन । तर बाहिरबाट हेर्दा भने काममा ढिलासुस्ती भइरहेको भने कहीं–कहीं देख्न सकिन्छ । सेवाग्राहीको भिडले पनि होला सायद सबैलाई एकै किसिमको महत्त्व दिन पनि सकिँदैन । नसकेको अवस्था पनि देखिन्छ । अलि–अलि चिनेजानेको छ भने अलि सरलता देखाइहाल्ने । नत्र भने आफ्नै हिसाबले काम गर्ने भन्ने हुन्छ । तर हामीले जो दुःखी छ, जो टाढाबाट आएको छ, जो पहुँचमा छैन, जसले कसैलाई चिनेको छैन, जो अप्ठ्यारोमा छ, उसलाई धेरै प्राथमिकता दिएर काम गर्नुपर्छ । किनभने सक्ने मान्छे त जसरी पनि सकिहाल्छ । असहायलाई हामीले प्राथमिकता दिएर काम गर्नुपर्छ । सबै ठाउँमा भन्न सकिँदैन । कथम् कतै ठाउँमा त्यो पनि छ । टेलिफोन आइहाल्यो भने अलि सरलता गर्ने, नत्र नगर्ने– यो भने कमी भएको केही ठाउँहरू पनि देखिन्छ । मलाई त्यस्तो तितो अनुभवचाहिँ छैन ।

तपाईंसमक्ष कस्ता सेवाग्राही, कस्ता समस्या लिएर आउने गरेका छन् ? उनीहरूका समस्या समाधानमा कति सफल भएजस्तो लाग्छ ?
जिल्ला प्रशासन कार्यालयमा हुने सेवा प्रवाहका र हामीले हेर्ने जिम्मेवारीमा ती सेवा प्रवाहदेखि शान्ति सुरक्षाका कुरा, विकास निर्माणका कुराहरू पर्छन् ।
सेवाप्रवाहमा नागरिकताका कुरा धेरै आउँछन् । नागरिकताको विषयमा, एक त सरासर चाहिने कागजातको प्रक्रियाहरू पु¥याएर आउने सेवाग्राही । कोही भने कुनै डकुमेन्ट छुटेका अथवा कसैले नबनाइदिएका आउँछन् । अझ आफन्तहरूले पनि नागरिकता नबनाइदिएको अवस्था, कतै बहुविवाहका कारण नागरिकता नबनेको अवस्था हुन्छ । कसैको आफ्नै बुबाले, आमाले अर्को विवाह गर्ने, पहिला आफ्नो सन्तान भइसकेपछि पनि नागरिकता नबनाइदिने, कुनैले दुई–तीनवटा विवाह गर्ने, कान्छीको नागरिकता बनाइदिने, जेठीको नबनाइदिने यस्ता कुराहरू त थुप्रै काम आउँछन् । यस्तो अवस्थामा हामीले श्रीमानलाई बोलाएर हुन्छ कि उनीहरूको नागरिकता राखिदिएर, जिल्लाबाहिर भए जिल्लामै झिकाएर नागरिकता बनाइदिएको धेरै उदाहरण छन् ।

सेवाग्राहीहरू आइसकेपछि कागज पुगेन भने सनाखतका लागि आफन्त आउनुपर्ने हुन्छ । उहाँहरूले ल्याउन नसक्ने हुनुहुन्छ भने पनि कारण के–हो त्यो पत्ता लगाइसकेपछि त्यसको समाधानका लागि पनि हामीले थुप्रै सहजीकरण गर्छौं । यसरी धेरैजनाको नागरिकता बनाएर पठाइसकेका छौं ।

त्यस्तैगरी विकासका, विवादका कुराहरूमा हाम्रो सहजीकरण रहन्छ । कतिपय विवाद समाधानका कुरा अहिले स्थानीय तहको न्यायिक समितिलाई अधिकार दिइएको छ । तर पनि उहाँहरूले स्थानीय तहमा भन्दा जिल्ला प्रशासन कार्यालयबाटै काम भए हुन्थ्यो भन्ने अपेक्षा राख्नुहुन्छ । कतिपय कुरामा हामीले स्थानीय तहमा पठाएर त्यहींकै जनप्रतिनिधिसँग कुरा गराएर समस्याको समाधानमा सहयोग गर्छौं । कतिपय विषयमा फिल्डमै पुगेर अनुगमनसहित समस्या समाधान गर्ने गरेका छौं । अख्तियारको विषयमा हुने उजुरी र गुनासाहरुलाई अनुसन्धान गरी आवश्यक कारबाही गर्ने वा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने गरेका छौं । विशेषगरी कोही ज्येष्ठ नागरिक नागरिकता बनाउन आउँदा जसकाे पूरा प्रमाण पुगेको छैन, प्रमाण नपुगे पनि उहाँहरू नेपाली नै हो, वास्तविक रूपमा जसको पहिचान लिएर आउनुभएको छ, उहाँ हो नै हो भन्ने लाग्छ भने हामीले ती कुराहरूलाई थप सनाखत गर्न नपरीकनै सहजीकरण गरेका छौं ।

महिला प्रजिअ भएकै कारण तपाईंले भोग्नुपरेका समस्याहरू केही छन् कि ?
अरूको सोचाइ महिला भएकैले फरक होला । प्रमुख जिल्ला अधिकारी व्यक्ति होइन पद हो । यो महिला वा पुरुष भएर हुने कुरा होइन । महिला–पुरुष दुवैलाई कानुनले उत्तिकै अधिकार, जिम्मेवारी दिएको छ । कसैले त्यस्तो सोच्ला त्यो स्वभाविकै होला । मैले त्यस्तो सोच्दिनँ । महिला भएकै कारण यसो गर्नु हुन्थ्यो भनेर मैले शंकाका हिसाबले कहिल्यै पनि सोच्दिनँ । पछाडि कसले के भन्छ हामीलाई थाहा हुँदैन । अगाडि आएर कसैले पनि त्यस्तो केही कुरा गर्दैन । सबैले सम्मान गरेरै बोल्नुभएको हुन्छ ।
मैले त आफूलाई त्यसरी लिँदैन । यो मानिसको आफ्नो सोचाइ हो । आफूले आफूलाई जति संकुचित, कमजोर बनाइयो त्यति नै हुने हो । आफू जिम्मेवार पदमा आइसकेपछि संकुचित हिसाबले हेर्नु हुँदैन । हामीले धेरै पुरुष साथीहरूसँग काम गर्नुपर्छ, शान्ति–सुरक्षाका हिसाबमा होस् वा बाहिर, राजनीतिज्ञहरूसँग होस् वा जनप्रतिनिधिहरूसँग ।

तपाईंसँग आएका सेवाग्राही जो निकै खुसी भएर फर्किएको होस्, आफ्नो कार्यसम्पादनबाट तपाईंलाई आत्मसन्तुष्टि प्राप्त भएको क्षण बताइदिनुस् न ।
८७ वर्षको आमालाई मैले घरमै पुगेर नागरिकता दिएको छु, अरूलाई अर्थात् कार्यालय पुग्न नसक्नेलाई घरमै पुगेर नागरिकता दिइराखेका छौं । एउटा १६ वर्षमा नागरिकता बन्नुपर्ने, ७० वर्षमा सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने अवस्थामा पनि अधिकांश व्यक्तिहरु नागरिकताबाट वञ्चित र नागरिकता नबन्दा सामाजिक सुरक्षाबाट पनि वञ्चित भएको अवस्था छ । असहाय र कार्यालय पुग्नै नसक्नेहरुलाई हामीले अवस्था हेरी घरमै पुगेर नागरिकता दिइराखेका छौं । साथै प्रमाण पुर्‍याउन नसक्नेलाई पनि सहजीकरण गरी उहाँहरुको खुसी फर्काएका छौं । उहाँहरूको खुसी फर्काएका छौं । कतिपय अशक्त अपांगता भएकाहरूले पनि कार्यकक्षसम्म आउन पाउनु हुन्न/सक्नुहुन्न भने पनि उहाँलाई गेटमै गएर सेवा दिएका छौं ।
नागरिकता बनाउने सवालमा यस्ता थुप्रै उदाहरण छन् । सेवाग्राहीहरूले अहिलेसम्म पनि सम्झिनुहुन्छ । मेरा लागि योभन्दा ठूलो आत्मसन्तुष्टि अरू हुन सक्दैन । गुल्मी आउनुअघि काम गरेको जिल्ला (रामेछाप) मा पनि त्यहाँ जनताहरूले सम्झिराख्नु हुन्छ, यस्ता थुप्रै उदाहरण र सम्झना छन् मसँग छन् ।

महिला प्रजिअ भएकै कारण कार्यसम्पादनमा कुनै असहज महसुस गरेको अवस्था छ कि ?
अब त्यस्तो मैले आफूलाई लिँदैनँ । सबैभन्दा के हुन्छ भने आफूले आफूलाई जति संकुचित बनाइयो आफूले आफूलाई जति कमजोर बनाइयो त्यति नै हुने हो । आफू यो पद, जिम्मेवारीमा आइसकेपछि कहिल्यै पनि त्यो संकुचित हिसाबले हेर्नु हुँदैन । हामीले धेरै पुरुष साथीहरूसँग काम गर्नुपर्छ, हरेक शान्ति सुरक्षामा भयो, आफ्ना साथीहरूसँग भयो, राजनीतिज्ञ तथा जनप्रतिनिधिहरूसँग भयो सबैसँग हामीले काम गर्नुपर्ने हुन्छ । हामी कुनै पनि संकुचित अवस्था रहँदैनौं । साँच्चिकै भन्नुपर्दा व्यवहारिक कुरा अलग्गै पाटो होलान्, तर कामको जिम्मेवारी लिँदा महिला भएकै कारणले मलाई त्यस्तो अनुभव छैन । मैले त्यो हिसाबले कहिल्यै सोच्दिनँ पनि । बरु धेरै जिल्लावासीहरूका अपेक्षाहरू के हुँदा रहेछन् भने महिला प्रमुख जिल्ला अधिकारी नै आइसकेपछि ओहो ! अब महिलाका समस्याहरू सबै समाधान हुन्छन् । हामीलाई परेका समस्याहरू सबै समाधान हुन्छन्् भन्ने अपेक्षा धेरै भए र अब कानुनले गर्ने कुराहरू हामीले सहजीकरण गर्ने हो एउटा भावनाको हिसाबले पनि हुने रहेछ भने हामीले सबैलाई सेवा दिने हो र यो क्षेत्रमा न्याय दिने कुरामा पुरुषलाई नदिने महिलालाई दिने भन्ने हुँदैन तर पनि संवेदनशीलताका हिसाबले महिलाहरू सहजै आफ्ना समस्याहरू खुलाउनुहुन्छ ।
भन्न नसकेका कुराहरू हामीले अरूसँग भएको भए भन्ने थिएनौं भन्ने हिसाबले उहाँहरू धेरै खुल्नुहुन्छ । त्यस्ता कुराहरू धेरै छन्– रामेछापकी एक वृद्ध आमाले पुरुष सीडीओलाई भन्न नसकेका कुराहरू ढोका लगाएर पनि हामीसँग कुरा गर्नुभएको थियो ।
यस्ता कैयौं उदाहरणहरू छन् तर जिम्मेवारीका हिसाबले मलाईचाहिँ त्यस्तो असहजता महसुस भएको छैन ।

तपाईंको विचारमा निजामती कर्मचारीका पीडा के हुन् ? जसलाई सेवाग्राही अर्थात् जनताले बुझ्दैनन् ।
हो, निजामती संयन्त्र एकातिर छ । अर्को पक्षतिर सेवाग्राहीहरू छन् । कर्मचारीहरूले काम गरिरहँदा सेवाग्राहीले आफ्नो काम चाँडो गर्नुपर्यो भन्दा अलिअलि दबाब त परिहाल्छ नि ।
कर्मचारीले १० देखि ५ भन्नु पनि हुँदैन । कार्यालयमा काम गर्दा सेवाग्राहीहरू आएर लाइनमा बसिराखेका हुन्छन् । समयका कुरामा सेवाग्राही आएर लाइनमा बसिराखेको हुन्छ । अब ५ बजिसक्यो भनेर हामीले सेवा बन्द गर्ने कुरा भने हुँदैन । कहिलेकाहीँ कार्यालय आउँदा सहरको कुरा गर्दा जाममा परेर ढिलो होला अनि सेवाग्राहीले फ्रन्टमा कर्मचारी खोइ ? भन्ने कुरा हुन्छ ।
दोस्रोचाहिँ सेवाग्राहीमा पनि कार्यालयमा आइसकेपछि मैले सेवा तुरुन्त पाइहाल्नुपर्छ भन्ने सेवाग्राहीका अपेक्षा हुन्छन् । मैले कति प्रक्रिया पूरा गरें, सेवाग्राहीले आफूले ल्याउनुपर्ने कुराहरू ल्याएँ कि ल्याएन भन्ने थाहा पाउनुपर्छ । त्यो पनि थाहा नभएपछि मेरो काम तुरुन्तै हुन्छ भन्ने उहाँहरूका अपेक्षाहरू हुन्छन् ।
र, विभिन्न बाध्यतावश हामीले तुरुन्तै भनेकै बेलामा सेवा दिन नसक्ने कुराहरू पनि हुन्छन् । कतिपय सेवाग्राहीलाई ल्याउनुपर्ने कागजात, सेवाका प्रक्रियाबारे जानकारी हुँदैन । त्यसैले पनि सेवाग्राहीका भनेका काम तत्काल पूरा गर्न असमर्थ हुन्छौं । कार्यालयमा बडापत्रलाई मान्यता दिए पनि सेवाग्राहीले घरबाट हिँड्दा यी विषयमा जानकारी नहुँदा कार्यालयमा पुगेर दु:ख पाउनुपर्ने देखिन्छ । यसका लागि वडाबाट सिफारिस भएर आउँदा वडाले पनि आवश्यक प्रक्रिया पूरा गरेर पठाइदिनुपर्छ । बडापत्रमा भएका कागजातहरू सेवाग्राहीले घरबाटै पूरा गरेर ल्याएको खण्डमा कार्यालयमा आएर फर्किनै पर्थेन ।
हामीले अहिले कार्यालयभित्र कुनै पनि बिचौलियालाई छिर्न निषेध गरेका छौं । फारामहरूमा पनि धेरै सरलीकरण गरिरहेका छौं । कार्यालयमा सहायता कक्षबाट सेवाग्राहीको निवेदन लेख्न सहयोग पुर्‍याएका छौं । र कतिपय अवस्थामा सेवाग्राहीले बाहिरैबाट निवेदन, फारामहरु भर्दा बिचौलियाहरुले स्थान पाउने गरेको सम्भावना भएकाले यसलाई हामीले निरुत्साहित गरेका छौं । त्यसमा हामीले नियमन गरिराखेका छौं ।

समग्रमा गुल्मी जिल्लाको शान्ति–सुरक्षाको अवस्था कस्तो छ ?
गुल्मी जिल्लाको शान्ति सुरक्षाको अवस्था अहिले एकदमै राम्रो छ । त्यस्तो चुनौतीका हिसाबले ठूला घटनाहरू केही पनि छैनन् । सामान्यतः समाजमा हुने गरेका घटनाहरू नै हुन् । अलि बढी आत्महत्याका घटना बढेका छन् । यो त गुल्मीमा मात्र नभएर अन्य जिल्लामा पनि छ ।
यसैगरी सामाजिक समस्याहरुमा मदिराको बढी सेवन, घर–झगडा, लैंगिक हिंसाका घटनाहरु पनि अलि बढी छन् । अन्य कुराहरूचाहिँ त्यति ठूलो संवेदनशीलता होइन । शान्ति सुरक्षाको अवस्था अहिले सामान्य छ, राम्रो छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले कर्णाली प्रदेशको डोल्पा जिल्लाका प्रजिअ माधवप्रसाद ढकालसँग कुरा गरेका थियौं । यसपटक भने हामीले लुम्बिनी प्रदेशको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग कुराकानी गरेका हौं । अब आगामी सोमबार अर्थात् २०७८ वैशाख २७ गते गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका प्रजिअ दीपकराज नेपालसँगको कुराकानी प्रस्तुत गर्नेछौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्नेछौं ।)

प्रतिक्रिया