आइतबार, वैशाख ३०, २०८१

इतिहासका डोबहरू !

टंक कार्की २०७८ कार्तिक २४ गते १२:४१


जंगबहादुरले आफ्नो शेषपछि श्री ३ को श्रीपेच कसले कसरी लगाउने भनेर आफ्ना १७ भाइको रोल क्रम मिलाइदिए । सिको उनले पनि राजतन्त्रकै विरासतको गरे, खाली फरक के भने राजतन्त्रमा उत्तराधिकार राजाको छोरामा सर्थ्यो भने यहाँ उनले भाइहरुमा सर्ने थिति बाँधिदिए । दुवैको साझा मान्यताचाहिँ राज्य पारिवारिक बपौती हो, रैतीको महत्ता कर/तिरो तिर्नमा छ, बस् ।

तर भइदियो के भने १७ भाइमा पालो पर्खिने धैर्य भएन । छिट्टो गद्दीमा आसिन हुन भित्रभित्रै तरबारमा धार लाउँदै बस्ने र मौका पाउनासाथै गर्धन छिनाउन थाले । सबैका टाउकामाथि डोमिकल्सको तरबार झुन्डेको छ, छ । कालगतिले मर्न पनि नपाउने । को कता डाँडा कटाइएको छ, को कता लखेटिएको छ । यहीं उछलकुदमा १०४ वर्ष बिते, एउटा सानो घेरामा ।


राणा गए । राजा खोपीबाट बाहिर निस्के । अब उनलाई देखिने मात्र भएर पुगेन, बोलिने र सुनिने पनि हुनुपर्‍यो । (यसको गवाही पछि ज्ञानेन्द्र शाहले शब्दश: दिएका हुन् ।) त्यसका निम्ति उनीहरुलाई श्रीपेच पहिरिएर मात्रै पुगेन । उनीहरु छत्रे टोपीमा सैनिक बर्दीमा ठाँटबाँटसहित सजिन पनि पछि पर्दैनथे । सोझासाझा जनता त्यसै छुलुमुतु ।


राजा पनि गए । नागरिक सर्वोच्चताको शासन आयो । केही राणाबाट सिके, केही राजाबाट । थोरै डेन्टिङ-पेन्टिङ गरेर । रोलक्रममा आफ्ना आफन्ती, आफ्ना गुटका, आफ्ना जजमानका मानिस भर्ती गरियो । विमति राख्यो कि सिध्याई हाल्यो, आफ्नै साथीभाइको मुलोच्छेदन गरी हाल्यो । उता विमति राख्नेहरुमा पनि अलिक दिन अर्कालाई कुर्सीमा सन्चले बस्न दिने उदारता पनि छैन । किशुनजीलाई सात दिन पनि मौका दिइएन, बिरामी मनमोहनलाई दुई दिन पर्खिएन । अहिले नेकपाभित्रको रडाको यहीं इतिहासको निरन्तरता हो । अहिलेकाले लगाको फूलको मालाको भारी, अघिपछि हिड्ने सुरक्षाकर्मीको स्कर्टिङ, हुँदा-हुँदा तल-तल पिर्कामा उभिएर लिइने सलामी, आफ्नै सहकर्मीलाई यसलाई लाउन खान पनि आउँदैन भनेर होच्याउने कुराले के-को संकेत गर्छन् ? दमित सामन्ती शान । आफू कुलीन घरानामा दरिन हुने गरेका उठबस, खानपिन र भविष्यका निम्ति जोहो गर्न अपनाइएका तरिकाहरुसित आफैंले पैरवी गर्दै आएको सामाजिक मिसन कसरी मेल खान्छ ? राजनीति नै यहीं हो भनेर बुझाउन खोजिँदै छ । संसार कहाँबाट कहाँ पुगिसक्यो ? हामी कहाँको कहाँ छौं !


(उसो त राजननीतिक प्रणालीगत हिसाबले यस बीचमा स्थापित गरिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ विराट उपलब्धि हो । समस्या हाम्रो यससँग मेल नखाने हाम्रा संरचना, संस्था र संस्कृति हुन् । यसलाई दिगो र प्रभावकारी बनाउने हो भने हाम्रा संरचना, संस्था र संस्कृतिमा सुधार जरुरी छ ।) लोकतन्त्रलाई ट्रयाकमा ल्याउन पनि हामी अझै लामो यात्रा गर्न अभिशप्त छौं । उसो त लोकतन्त्र आफैंमा लामो उकाली-ओराली भ’को यात्रा न हो ।

(चीनका लागि नेपाली पूर्वराजदूत कार्कीको फेसबुकबाट)

प्रतिक्रिया