बिहीबार, जेठ ३, २०८१

किन निर्मलनिवासतिर मात्रै धारे हात लगाउनुहुन्छ ?

रमा सिंह २०७८ मंसिर २२ गते १३:०७

कमल दाजु ,
पाथीभरा माताले पनि हेरिनन्…

एउटा खेलाडीको नाताले २०४० सालमा तपाईंलाई फुटबलको मैदानमा चिन्दा तपाईंको व्यवहार, विचार र कार्यशैली नै तपाईंको सफलताको सिँढी बनेको भन्ने म मा रहेको विश्वास ३८ वर्षपछि गर्ल्याम गुर्लुमै ढल्यो ।

नेपालमा खेलकुदको संस्थागत विकासका प्रणेता स्वर्गीय शरदचन्द्र शाहाको छहारी र विकास-अनुशासन-गतिशीलताको अनुशासित लक्ष्य बोकेको खेल क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्ने अवसर पाउनु भएकाले पनि बढी निष्ठावान् र अनुशासित जीवनशैली अपनाउनुभएको होला भन्ने ठानेका म जस्ता धेरैलाई निर्वाचन परिणामपछिको व्यवहारले तपाईंप्रतिको धारणा परिवर्तन गर्न स्वयं तपाईंले नै बाध्य पारिदिनु भो, यसका लागि तपाईंलाई बधाई दिन चाहन्छु ।

राप्रपाको निर्वाचन अधी र परिणाम पछी उल्लेख गर्नु भएको प्रसंग सन्तोष पन्तजीको प्रहशन भन्दा पनि रोचक बन्यो ,
निर्वाचन अघि ‘राजाको मलाई साथ छ’ भनेर राजाको सचिव सागरप्रसाद तिमिल्सिनाको नाम भजाएर प्रचार प्रसार गर्ने तर परिणाम ‘हात लाग्यो सुन्ना’ भए पछी ‘राजाले मलाई हराए’ भनेर धारे हात लगाउने चरित्रलाई राजनीतिशास्त्रका विद्यार्थीले अध्ययनको विषयवस्तु बनाए पनि, नबनाए पनि, दशकौं पहिले आफ्नै पार्टीको सरकार ढाल्न गर्नुभएको योगदान पछि राजनीतिमा मुसो प्रवृत्तिको विकास भयो भनेर लोकेन्द्रबहादुर चन्दले सार्वजनिक घोषणा नै गर्नु भएको प्रसंगले राप्रपा फेरि तरंगित भएको छ ।

निर्मल निवासले चुनाव गराउने, जिताउने र हराउने गर्छ भन्ने महाज्ञान हुँदा-हुँदै अधिवेशन किन गराइरहेको ? ‘निर्मल निवासको मलाई आशीर्वाद छ ठोको ताली’ भनेको भए तररररर ताली बजी हाल्थियो ! यत्रो रोदन, क्रन्दन किन ?
भोट त निर्मल निवासका ढोके, हुक्के, बैठकेले पक्कै हालेनन् !तपाईकै ४६०० महाअधिवेशन प्रतिनिधीले नै हालेका हुनाले मेरै कार्यकर्ताले मलाई किन हराए ?
स्वनाम मूल्याकंन पनि गर्ने कि ?
हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा बोक्ने ‘शनै शनै घस्कन्ते मन्त्री पदेन कुशलन्त भव’ भन्दै गणतन्त्रमा रमाउने छद्मभेषको पर्दा खुले पछीको भंगेरे चित्तले अग्लिएको उचाई ढलेको मात्रै हो सुध्रिने बाटो टुटी सकेको भने छैन ।
हिन्दु धर्म र राज संस्थाको मुद्दा बोकेकै कारण एक निर्वाचनमा ‘एक भोट दाइलाई , एक भोट गाईलाई’ धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको सदुपयोग भयो ? भएन ?
किन भएन ?
२५ सिट २५ करोडमा लिलाम बढाबड भएको खबरको चर्चा चलेकै हो !
संविधानसभाबाट संविधान अनुमोदन हुन नदिन मधेसवादी दलले बहिष्कार गर्दा राप्रपाका २५ सै जनाले लुरूलुरू संविधानमा ल्याप्चे त त्यसै लगाएका थिएनन् ! त्यहाँ पनि ६५ करोडको गिन्ती गराउँदै राष्ट्र संघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको प्रशस्ति गाउन पुग्दाको परिणति पनि हो कि यो चुनावी परिणाम !

हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर राष्ट्रपतिको प्रस्तावक/समर्थक बन्दै बेग्लै विचारधाराका तीन प्रधानमन्त्रीको कार्यकालमा उप प्रम बन्दै जाने कार्यशैलीले गर्दा २०७४ सालको निर्वाचनमा जनताले २५ बाट १ मा झारे ।
त्यति बेलानै जनताले चुनाव त हराएकै हुन् नि
त्यो बेला राजाले चुनाव हराए भन्ने ज्ञान किन आएन ?

२५ सिटको उन्माद पछि कार्य समितिको बैठकमै –
‘राजा राजा भन्दै हिँड्ने हामी भजन मण्डली हौं र ?’
‘हामीले राजसंस्था भनेका हौं पूर्वराजा भनेका हैनौं’
‘राजाले राप्रपा फुटाउने खेलमा लागे यसको मूल्य महँगो पर्न सक्छ’
भन्ने जस्ता सानो चित्त र तुच्छ विचार आफ्नै एजेन्डामाथि व्यक्त गर्दै हिँड्नु नैतिकताको पराकाष्ट भन्दै धेरैले राप्रपा परित्याग गरेको बिर्सनु भएको पक्कै छैन होला ?

आफूबाहेक अरूलाई सुन्दर नदेख्ने आनीबानीले स्वयं अलोकप्रिय दल दलमा भासिने क्रममा राजनीतिका अग्रजहरूलाई ‘अल्छी बूढो घोडा’
र युवालाई ‘आला काँचाहरू-टुँडिखेलमा दौड’ जस्ता अभिव्यक्तिले तपाईंलाई ‘म शून्यमा शून्यसरी हराए’ नबनाउला भन्न सकिन्न !
इमान र निष्ठाको राजनीति गरेको भए पाथीभरा माताको शरणमा
जब्बरजस्ती अरूलाई उभ्याएर कसम खुवाउने दुष्चरित्र पनि देखा पर्दैन थियो कि ? तर के गर्नु पाथीभरा माताले पनि पूर्वेली लिम्बूको सत्य र निष्ठाको परख गरिन् !
किन निर्मल निवासतिर मात्रै धारे हात लगाउनुहुन्छ, उनै पाथीभरा मातालाई पनि धारे हात लगाउने कि ?

प्रतिक्रिया