शनिबार, वैशाख ८, २०८१

कोरोना कहरमा स्वास्थ्यकर्मीहरूको मनोवस्था र जनप्रतिनिधिहरूको भूमिका

अस्मिता किवानायो २०७८ वैशाख २९ गते १५:४०

नेपालमा कोभिड−१९ को पहिलो सङ्क्रमण ८ फाल्गुन २०७६ मा देखिएको थियो । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले २०७६ चैत्र ११ गतेबाट देशव्यापी बन्दाबन्दीको घोषणा गर्‍याे । पुरै देशभरी लगभग चार महिनाको बन्दाबन्दीमा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द भए । अधिकांश कार्यक्रमहरू भर्चुअल माध्यमबाट हुन थाल्यो । कोरोनाको दोस्रो लहर फैलिन थालेपछि स्थिति झनै भयावह हुँदै गएको छ । सरकारले काठमाडौं उपत्यकामा १६ बैशाखदेखि पुनः बन्दाबन्दी लागु गरेको छ । अहिले देशका झण्डै ६० भन्दा बढी जिल्लाहरूमा पूर्णरुपमा बन्दाबन्दी लागु गरिएको छ । सार्वजनिक यातायात ठप्प भएका छन् । निजी सवारी साधनलाई पनि बिनास्विकृति सञ्चालन गर्नमा रोक लगाइएको छ । सरकारी कर्मचारी र जनप्रतिनिधिहरूले संस्थागत प्रयोजनका लागि सवारी साधनको उपयोग गर्न पाएका छन् । स्वास्थ्य संस्थाका यातायातका साधन चल्न दिइएको छभने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि आफ्नो आधिकारिक परिचयपत्र देखाएर निजी सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको छ । यसले निजी सवारी साधन हुने स्वास्थ्यकर्मीहरूलाई त सहज बनाएको छ अस्पताल–भर आउजाउ गर्नको लागि । तर, सवारी साधन नहुनेहरूका लागि भने स्थिति जटिल बनेको छ ।

बन्दाबन्दीको समयमा पनि सम्पूर्ण अस्पतालहरूले आफ्नो स्वास्थ्य सेवा २४ सै घण्टा सुचारु गरिरहेका छन् । उनीहरू अहोरात्र बिरामीको सेवामा खटिरहेका छन् । तर, सवारी साधनको अभावका कारण बिरामीहरूको वसारपसारमा बाधा पुगिरहेको र यसैकारण केहीले ज्यान गुमाउनु परेको सूचना समाचारपत्र तथा सामाजिक सञ्जालहरूमा प्रवाह भइरहेका छन् । त्यस्तै, निजी सवारी साधन नभएका स्वास्थ्यकर्मीहरू यातायातको अभावले मारमा परेको गुनासो धेरै नै सुनिन थालेको छ । उनीहरूलाई घर र अस्पताल आउजाउ गर्न कठिनाई परिरहेको छ । अस्पतालमा लामो समयसम्म काम गरेर थाकेका स्वास्थ्यकर्मीहरूलाई घर फर्कन समस्या पर्ने गरेको छ । अहिलेको महामारीको अवस्थामा स्वास्थ्यकर्मीहरूलाई (आधिकारिक परिचयपत्र बोकेका) अस्पताल र घर आउजाउ गर्ने क्रममा यदि रुट मिलेको छ भने सरकारी तथा जनप्रतिनिधिहरूले प्रयोग गर्ने यातायातका साधनहरूले सेवा प्रदान गर्न सक्दैनन् र ? भन्ने प्रश्न उठ्न थालेको छ । निशन्देहः स्वास्थ्यकर्मीहरूले सुरक्षाका विधिहरू अपनाएका हुन्छन् नै । उनीहरूलाई सरकारी र जनप्रतिनिधिहरूका गाडीहरूमा मिलेसम्म सेवा दिन सकिएमा स्वास्थ्यकर्मीहरूको मनोवल बढ्नुका साथै उनीहरू सहजै र समयमै अस्पताल पुग्न सक्छन् र बिरामीलाई सेवा पुर्‍याउन सक्छन् । अहिलेको परिस्थितिमा यो विषयलाई वहसमा ल्याउनुपर्ने आवश्यकता महसुश गरिएकोले यो लेख तयार पारिएको हो । उक्त विषयलाई उठान गर्नका लागि केही घटनाहरूले झकझकाएको छ । प्रारम्भमा ती घटनाहरूबारे चर्चा गरौँ ।

घटना एक:
काठमाडौं बल्खुका एकजना स्वास्थ्यकर्मी महाराजगञ्जस्थित एक स्वास्थ्य संस्थामा कार्यरत छन् । बन्दाबन्दीको अवस्थामा आफ्नो निजी सवारी साधन नहुनाले उनको कठिनाई परेको छ । कहिले कसैले लगिदिन्छ त कहिलेकाहिँ घण्टौँ कुनुपर्ने अवस्था पनि छ । सम्बन्धित स्वास्थ्य संस्थाका उच्च तहका एकजना कर्मचारी पनि संस्थाकै गाडीमा दिनहुँ भक्तपुरबाटै आवतजावत गर्ने गर्छन् । उनले त्यसैमा आफुलाई पनि लैजान पटकपटक अनुरोध गरे । तर, उनको अनुरोधको सुनुवाई भएन । बाटोमा कसैले लगिदेलाकि भनेर गाडी कुरिरहेको बेला स्वास्थ्य शाखाका ती कर्मचारी एक्लै गाडीमा जाँदा उनको मन दुखित हुन्छ । साधनको अभावकै कारण शारीरिक रुपमा सास्ती त खेप्नु परेको छ नै, यसले यस्तो महामारीको बेलामा बिरामीले पाउनुपर्ने सेवामा पनि नकारात्मक असर पारेको छ ।

घटना दुई :
भक्तपुरका रमेश श्रेष्ठ (नामचाहिँ परिवर्तन गरिएको) काभ्रेको एक नगरपालिकामा अवस्थित स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका रुपमा विगत ५ वर्षदेखि सेवारत छन् । कोरोना महामारी सुरु भएपछि र बन्दाबन्दी लागु भएपछि उनी केही दिन स्वास्थ्य केन्द्रमै बसेर काम गरे । तर, केही दिनयता घरायसी अवस्थाका कारण घरबाटै सेवाकेन्द्र आवतजावत गर्नु परेको छ । आफ्नो सवारी साधन नभएकोले उनलाई सेवाकेन्द्र आउजाउ गर्न निक्कै कठिनाइ पर्ने गरेको छ । कसैको बाइकमा लिफ्ट मागेर जसोतसो सेवाकेन्द्र त पुग्यो, तर दिनभर काम गरेर फर्किने बेला उनलाई कसरी घर जाने भन्ने पिर पर्छ । महामारीको बेलामा नचिन्नेले आफ्नो साधनमा लिफ्ट दिन मान्दैनन् । कतिले त पहिला रोक्छन् तर स्वास्थ्यकेन्द्रको कर्मचारी भनेर थाहा पाएपछि हुइँकिने गर्छन् । रमेशलाई बिहान अस्पताल पुग्न सँधैजसो हुने ढिलाइले गर्दा पटकपटक वडाध्यक्षले स्पटीकरण मागेका छन् । सबै कुरा सुनेपछि वडाध्यक्षले नगरपालिकाको एउटा गाडी पनि भक्तपुरबाटै आउने गरेकोले सोही गाडिमा आउन–जान सुझाए । वडाध्यक्षले सम्बन्धित शाखाका प्रमुखसँग कुरा पनि गरे । घर फर्कने बेलामा रमेश गाडी कुरिरहे । गाडी आयो तर उनलाई नलिइकन शाखाप्रमुख एक्लै गए । रमेशले धेरैपटक प्रयास गरे, तर लागु भएन ।

घटना तीन :
केहि दिन अगाडिमात्र एकजना सर्वसाधारणको उपचारार्थ लैजान साधनको व्यवस्था गरिदिन जनप्रतिनिधिसंँग हारगुहार गर्दा पनि साधन नपाएर जनप्रतिनिधि कै अगाडि बिरामीलाई टय्राक्टरमा राखेर लैजाँदा बाटोमै मृत्यु भएको घटना सामाजिक सञ्जालमा भिडियोसहित भाइरल भएको थियो । बिरामीको मृत्युपछि स्थानीय जनताहरू आक्रोसमा आए । जनप्रतिनिधिले आफूमा सङ्क्रमण सर्ने डरले केहि गर्न नसकेकोमा दुःख व्यक्त गर्दै माफि मागेका छन् । के जनप्रतिनिधिले माफि मागेपछि मृतकको जीवन फर्केर आउँछ र ! जनप्रतिनिधि आपूmलाई चुनावमा जिताउने जनताप्रति संवेदनशील नहुँदा एकजना बिरामीले अनाहकमा ज्यान गुमाउनु प¥यो ।

यी त प्रतिनिधि घटनाहरू मात्र हुन् । अहिलेको बन्दाबन्दीको अवस्थामा यस्ता घटना दिनहुँ घटिरहेका छन् । अस्पताल तथा अन्य स्वास्थ्यकेन्द्रका कर्मचारीहरूले, विशेषतः तल्ला तहका कर्मचारीहरू यस्ता समस्याबाट प्रभावित भइरहेका छन् । यसले स्वास्थ्यकर्मीहरूलाई शारीरिक अप्ठेरो परेको छ । साथै, उनीहरूको मनोवल गिर्ने गरेको छ । धेरै स्वास्थ्यकर्मीहरूले यस्तो घटनाबाट आपूmहरू विभेदमा परेको र अपहेलित हुनुपरेको महसुश गरेका छन् । महामारीको बेला स्वास्थ्यकर्मीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । उनीहरूले आफ्नो ज्यान जोखिममा राखेर सेवा गरिरहेका हुन्छन् । यदि स्वास्थ्यकर्मीको मनोवल गि¥यो भने र यदि उनीहरूले नै आपूm सिमान्तकृत हुनुपरेको महसुश गरे भने बिरामीलाई दिनुपर्ने स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्दछ ।

हालसालै एक अनलाईन पत्रिकामा प्रकाशित भएको खबरअनुसार भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले चाँगुनारायण अस्पताललाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी हुँदै गरेको बेलामा अस्पतालका मेडिकल सुपरिटेन्डेनसहित तिनजना चिकित्सकले सामूहिक राजिनामा दिएका छन् । चिकित्सकहरूका अनुसार निर्वाचित जनप्रतिनिधिहरूले अनावश्यक दवाव दिने र अपमानित गर्ने गरेका कारण राजिनामा दिएको बताएका छन् । निशन्देहः यस्तो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरूले उपचार सेवाबाट हट्ने कार्य गर्नु हुँदैन । तर, यस्तो परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखी कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने र सहयोग गर्ने कार्य गरिनु पर्दछ । उल्टै, उनीहरूलाई अपहेलित गर्ने र सिमान्तकृत गर्ने व्यवहार भएमा स्वास्थ्यकर्मीमा वितिष्णा पैदा हुन्छ । उनीहरू पनि हृदय भएका मानिसहरू नै हुन् ।

महामारीको यो अवस्थामा व्यवस्थापन तथा नीति निर्माण तहमा रहेका विशिष्ट व्यक्तित्वहरूले समस्या समाधानका लागि उपयुक्त रणनीति निर्धारण गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्ने हुन्छ । यस्तो बेलामा जनताको सेवा गर्न जनताबाटै निर्वाचित जनप्रतिनिधिहरूको भूमिका झनै महत्वपूर्ण हुन्छ । दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दैछ र यसैकारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । नेपाली सर्वसाधारण जनताहरू निरिह जस्तै भएका छन् । यस्तो अवस्थामा जनप्रतिनिधिहरूले अभिभावकको भूमिका निर्वाह गर्नु पर्दछ । तर, अपेक्षा गरेअनुरुप कार्य हुन सकिरहेको छैन । केहीले त उल्टै यस्तो सङ्कटको अवस्थालाई कमाउने अवसर बनाएको यत्रतत्र सुनिन्छ ।

महामारी बढीरहेको यो अवस्थामा जनप्रतिनिधि लगायत सबैले गम्भीरतापूर्वक सोँचौँ । व्यवस्थापन पक्षले कसरी स्वास्थ्यकर्मीको मनोवल बढाउने र कसरी उनीहरूले प्रदान गर्ने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, यसको लागि स्वास्थ्यकर्मी कस्तो सेवासुविधा दिनुपर्ने हो भन्नेबारे व्यवस्थापन गर्नु पर्दछ । तसर्थ, स्वास्थ्यकर्मीसँग हातेमालो गरेर महामारी नियन्त्रणमा सबैले सहयोग गरौँ । यसबारे नागरिक तहबाट पनि सौँचौँ । एकले अर्कोलाई सम्मान गरौँ र सबै सुरक्षित रहौँ ।

लेखक अस्मिता किवानायो स्वास्थ्यकर्मी हुन्

अस्मिता किवानायो

लेखक अस्मिता किवानायो स्वास्थ्यकर्मी हुन् ।

प्रतिक्रिया