शुक्रबार, जेठ ४, २०८१

सर्वांग नांगो हुँदै छु !

डा. सुरेन्द्र सिटौला २०७८ वैशाख २९ गते १६:०६

छिमेकीको बारी उब्जाउ छैन
घर जलाएर उसलाई खरानी दिँदै छु
खन्न नसकेर आफ्नो बाँझो बारी
उसैबाट अनिकालमा राहत लिँदै छु
सुतिरहन्छन सधैं अबेरसम्म
यहाँ मेरा जाँगरिला आँटहरु
रुन्छन् सधैं आफूलाई बाँझो सम्झिएर
बेंसी खेतका उर्बरा फाँटहरु
छोराहरु कर्मवीर ठहरिँदैनन्
म बाबु आफैं काँतर परेर
छोरा मेरै बहादुर हुन्छन्
पराइको सिमानामा मरेर
भेटिन्न रे औषधि किन हो
तराई, हिमालका हरिया फाँटहरुमा
सञ्जीवनी खोजिन्छ यहाँ
पराइ मरुभूमिमा तड्पिने आँटहरुमा
राहदानी दलालले बेचेपछि
विपना र सपना दुवै खुसी भए रे
काठको बाकसमा ऊ फर्किंदा
सपना र खुसी सँगै घाट गए रे
छिमेकीको बारी उब्जाउ छैन
घर जलाएर उसलाइ खरानी दिँदै छु
च्यातेर वस्त्र शरीरका
म आफैं आज सर्वांग नांगो हुँदै छु ।।।

प्रतिक्रिया