शुक्रबार, जेठ ४, २०८१

यो कस्तो पीडा ?

रमण घिमिरे २०७८ जेठ ८ गते १०:३५

दुई प्राणी
दुईतिर लडेका छौँ
शरीर आगोजस्तो
हुरहुरी बलिरहेछ
कसैले
पिट्दा-पिट्दा
थिलथलो पारेर
छोडेजस्तो भएको छ शरीर
अंगअंग असह्य दु:ख्छन्
सास तान्यो
फ्याक्न कठिन
सास फ्याँक्यो
तान्न कठिन

हामी
यस पीडाको डाहा
एकअर्कालाई सुमसुम्याउँदै
शमन गर्न खोज्छौँ
तर चाहेर के हुँदोरहेछ र ?
शरीर नै आफ्नो नभएपछि

निरीह
म उसको आँखामा हेर्छु
ऊ मेरो आँखामा हेर्छे
उसका आँखाको डिलमाथि
व्यथा टिलपिलाउन थाल्छन्
अनि मेरो मन भक्कानिएर
फुट्लाजस्तो हुन्छ
तर आँसुबाहेक केही छैन मसँग
दिनलाई
त्यही दिन्छु उसलाई

कस्तो छ अहिले ?
वेलावेला जानकारी लिने सहृदयीहरूले
प्रशस्त आत्मबल दिइरहन्छन्
तर यो कष्ट रत्तिभर
निर्मूल हुँदैन
अब त बानी परिसक्यो
दु:खसँग दुख्तै दु:खलाई अँगालो हाल्ने

वरिपरि कहालीलाग्दो सन्नाटा छ
मृत्युसँग हरघडी
पौँठेजोरी खेलिरहेछ
समय;
र हारिरहेछ
सायद हार्नु नियति भइसक्यो अब
दु:ख लाग्छ-
आफ्ना नजिककाहरू पराजित भए
धेरै वसन्त हेर्न बाँकी नै थियो
मृत्युको सिकार भए

अब मृत्यु असामयिक भएन
अब मृत्यु आश्चर्य भएन
अब मृत्यु सामूहिक शोक पनि भएन
अब मृत्यु एकदमै सामान्य भएको छ
बाटोमा हिँड्दा
अनायास पैँतालाले थिचिएर मरेको
कमिला जस्तो ।

प्रतिक्रिया