शुक्रबार, वैशाख २१, २०८१

उनको मन !

लता केसी २०७८ मंसिर ४ गते ६:२०

मेरी सासू बितेको एक वर्ष भयो तर मेरी पत्नीको आँखा कहिले ओभानो देख्न पाइँन । सधैँ मरेकी आमालाई सम्झेर उनी एकोहोरो हुन्थिन् । मैले कत्ति सम्झाएँ उनलाई, केही असर गरेन ।

आमाको नाममा दानधर्म गरून् भनेर मन्दिर, मन्दिर घुमाएँ । केही गरे पनि उनले आफ्नी आमालाई बिर्सिन सकिनन् । एकदिन त उनले अति नै गरिन् । घरको काम नै बिर्सेर शोकमा डुबिरहिन् । बच्चाहरू भोकै थिए । म अफिसबाट फर्किँदा उनी कोठा बन्द गरेर रुँदै थिइन् ।

‘म के गरूँ ?’ पुन: सम्झाएँ , ‘आलो घाउ पो चर्किन्छ, खाटा बसेको घाउलाई कोट्याएर सधैँ आलो बनाउनु सही हो र ?’ उनी बोलिनन् । चुपचाप लागेर सबै काम गरिन् । राति सुत्नेबेलामा मैले भनेँं, ‘भोलि आमाको तिथि हो । म बिदा लिनेछु । हामी वृद्धाश्राम जाऔँ, है ।’ हस् ‘ भनिन् र सुतिन् । म विचरा भने उनलाई कसरी उपचार गरौँ भनेर सोचमग्न भएँ ।

भोलिपल्ट केही लुगा , खानेकुरा र पैसा बोकेर हामी वृद्धाश्राम पुग्यौँ । उनले केही कुरा दान गरिनन् । सबैको अनुहार पढ्दै , सबैलाई नमस्कार गर्दै अघि बढिन् । मैले ल्याएको कुरा बाँड्न आग्रह गरेँ । उनले सोचमग्न भएर सोधिन्, ‘यो बाँडेपछि मेरी आमा फर्केर आउनुहुन्छ र ?’

प्रतिक्रिया