मंगलबार, जेठ ८, २०८१

बुद्ध जन्मेको दिनमा खस, आर्यको देवाली पूजा पनि

भेषराज पोखरेल २०७८ जेठ १२ गते १०:४५

वैशाख शुक्ल पूर्णिमालाई नेपालमा विशेष रुपमा लिइन्छ । नेपालका खस, आर्य तथा बौद्धमार्गी दुवैका लागि यो पूर्णिमाले अत्यन्तै ठूलो महत्त्व राख्छ । किराती समुदायको पनि यो दिन विशेष मानिन्छ । सबैभन्दा बढी धार्मिक दृष्टिले वैशाख पूर्णिमा नेपालीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ ।

शान्तिका अग्रदूत गौतमबुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । गौतमबुद्धले यही दिन भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने यसै दिन कुशिनगरमा देह त्याग गरेका थिए । यी सबै कारण बौद्धमार्गीका लागि यो दिन अत्यन्तै महत्त्वपूर्ण छ । हिन्दु धर्म संस्कार मान्नेहरूका लागि वैशाख पूर्णिमा अत्यन्तै विशेष रुपमा लिइन्छ । यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । यस दिनमा नेपालका अधिकांश जातजातिले आआफ्ना कुलको पूजा गर्ने गर्छन् । नेपाल तथा भारतमा बस्ने किराती समुदायले यो दिन चण्डी पूर्णिमा तथा उँधौली पर्वका रुपमा मनाउँछन् ।

वैशाख पूर्णिमा शान्तिको उत्सर्गको दिनका रुपमा एकातिर लिइन्छ भने अर्कातिर यही दिनमा अधिकांश जातजातिले बलि दिएर आफ्ना कुलको पूजा अर्थात् देवाली गरिरहेका हुन्छन् । बलि दिएर कुलको पूजा गरे पनि ती जातजातिको अन्य संस्कार, संस्कृति तथा व्यवहार भने पूर्णरुपमा शान्तिपूर्ण र अहिंसात्मक छ । यो पूर्णिमामा गरिने धार्मिक अनुष्ठानलाई हेर्दा परस्पर विरोधीजस्ता लागे पनि नेपालका सबै जातजाति व्यवहार र संस्कारमा पूर्णरुपमा शान्तिपूर्ण हुनु नेपालीको अत्यन्तै महत्वपूर्ण विशेषता मान्न सकिन्छ । यो नै नेपालको ठूलो सांस्कृतिक सम्पत्ति पनि हो । नेपालका जातजातिले कुल पूजामा बलि दिएर आफ्ना परम्परागत अनुष्ठान पूरा गरे पनि अन्य धार्मिक यज्ञ तथा अन्य कार्य वैदिक विधि अनुसार हिंसाविहीन रुपमा गरिँदै आएको छ ।

कुल पूजा अर्थात् देवालीको परम्परा
नेपालको मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ब्राह्मण, क्षत्रीहरूले वर्षको मंसिर शुक्ल पूर्णिमा र वैशाख शुक्ल पूर्णिमाका दिन आफ्ना कुलको पूजा गर्ने परम्परा छ । कतिपय ब्राह्मणहरूले असारको गुरुपूर्णिमा तथा कसैले अरु नै महिनाका पूर्णिमा तथा औंसीमा पनि कुल पुज्ने संस्कार छ । नेपालमा खस, आर्य जाति अन्तर्गत पर्ने ब्राह्मण, क्षत्रीहरूले मष्ट र बराहलाई कुल देवता मान्दै आएको देखिएको छ । यी दुवै देवस्वरुपसँगै देवीको पनि पूजा गर्ने संस्कार छ । देवसँगै शक्तिको पूजा गर्नु हिन्दुहरूको संस्कृति हो तर संसारका अन्य धर्ममा पनि विभिन्न नाममा देवी शक्तिको पूजा हुन्छ नै ।

पछिल्लो कालमा पहाडमा बस्ने खस जातिअन्तर्गतका क्षत्रीहरू मष्ट पूजक भएको र मष्ट छुट्टै धर्म संस्कार भएको बताउन थालिएको छ । मष्ट त कतिपय ब्राह्मणहरूले पनि पुज्ने गर्छन् । ब्राह्मणहरूले मष्ट मान्ने क्षत्रीहरूलाई हिन्दुकरण गरेको पनि बताउन थालिएको छ । वास्तविकता त्यस्तो भने होइन । पहाडी ब्राह्मण, क्षत्रीहरूको पुर्खा कहाँबाट आए, कसरी विस्तार भए भन्ने कुरा विभिन्न विद्वानहरूले विभिन्न तरिकाले विश्लेषण गरेको देखिएको छ । कतिले दक्षिण क्षेत्रबाट आएर भारतको कस्मिरदेखि नेपालको पूर्वी भागसम्म फैलिएका हुन् भनेका छन् भने कतिपयले एसिया माइनरको मध्य क्षेत्रबाट हिन्दुहरूको एउटा हाँगा दक्षिणको बाटो सिन्धुघाँटी हुँदै भारतको मैदानी क्षेत्रमा फैलियो । अर्को हाँगा उत्तर क्षेत्र कैलास मानसरोवर हुँदै नेपाल र भारतको कस्मिरसम्म फैलिन पुग्यो भन्ने धारणा राख्छन् । यी अनुसन्धान आफ्नो ठाउँमा छन्, अझै धेरै अनुसन्धान नगरी यही हो भन्न सकिँदैन तर नेपालका ब्राह्मण, क्षत्रीहरू कैलाश मानसरोवरको प्रभाव क्षेत्रमा रहेकाले शिवका विभिन्न रुपको पूजा गर्ने गरे यो सत्य हो । शिवका अनेक रुपमध्ये अत्यन्तै शान्त अर्थात् मस्त रुपको पूजा गर्थे ।

अर्को, शिवका एकादस रुद्र स्वरुपमध्ये भैरव जस्तै मस्त रुप जो सधै शान्त, मस्त र ध्यानमग्न हुने, जब जागा हुने तब केही कमी देखे रिसाएर डरलाग्दो स्वरुप धारण गर्ने अवस्थालाई शान्त पार्न बलिबाट रगत दिने अनुष्ठान पूरा गरेको देखिन्छ । मष्टमा पनि दाह्रे मष्ट, दूधे मष्ट (बलि नदिने) देखि अन्य विभिन्न स्वरुपको पूजा गरेको देखिएको छ । रुद्रका विभिन्न स्वरुपको पूजा गर्दा सात्विक, राजसिक र तामसिक सामग्रीले पूजा गरिन्छ । भैरवको पूजा गर्दा तामसिक सामग्रीले पनि पूजा गर्ने गरिन्छ नै, सात्विक, राजसिक सामग्रीले पनि पूजा गरेर सन्तुष्ट पार्ने प्रयास गरिन्छ नै । अर्को, शिवको रुद्र रुपको मात्रै नभएर विष्णुको आदि स्वरुप बराहको पनि पूजा गरिन्छ ।

यसमा पनि बलि नदिने, दिने दुवै गरिन्छ । शिव र विष्णुका आदि रुप मष्ट र बराहका साथै शक्ति स्वरुपा देवीको पनि पूजा गरेर कुलपूजा अर्थात् देवाली पूरा गरेको देखिएको छ ।

नेपाली पहाडी ब्राह्मण, क्षत्रीले यज्ञ अनुष्ठान गर्दा वैदिक विधि अपनाइन्छ । वैदिक मन्त्र उच्चारणबिना यज्ञ सम्पन्न हुँदैन । अग्निको स्थापना नगरी जन्म, मरण कुनै पनि अनुष्ठान सिद्ध भएको मानिन्न । अर्को, शिवपूजक भएकाले तन्त्र, मन्त्र र शिव गण भूत, प्रेत, पिसाचको पनि पूजा गर्ने परम्परा छ । यी तत्कालका लागि सुख कारक शक्ति हुन् ।

यी सबै अवस्थालाई हेर्दा मष्टपूजक क्षत्रीहरू छुट्टै धर्म मान्ने होइनन् । नेपाली पहाडमा बस्ने ब्राह्मण, क्षत्री वैदिक आर्य नै हुन् । शिक्षा, व्यवहार अवस्था हेरी कसैले सात्विक सामग्रीले भगवान् विष्णुको आदिरुप बराह, शिवको कुनै आदिरुपको पूजा गरिरहेका छन् भने कसैले राजसिक तथा कसैले तामसिक सामग्रीले समेत पूजा गरेका मात्रै हुन् । जसले गर्दा कोही प्रकृति पूजक जस्ता लागे पनि यी जाति सनातन वैदिक आर्यभन्दा फरक होइनन् । प्रमाणले यही भन्छ ।

प्रतिक्रिया