शुक्रबार, वैशाख २१, २०८१

सत्ता र सत्यको कठघरामा कम्युनिस्ट सत्ता

कृष्ण कँडेल २०७८ जेठ १५ गते ११:००

कोरोना कहर नामको निषेधाज्ञाको उर्दी जो जारी छ । म त हजुर भुईं मान्छे आदेशको तामेली गर्नैपर्यो । बाआमाले जनतन दुई-चार अक्षर चिनाएका थिए त्यसैले बेलाबखत अक्षर पढ्ने, अक्षर केलाउने, अक्षरसँग गफिएर भए पनि समय बिताउन अभ्यस्त भएको छु । त्यसै मेसोमा मेरो हातमा पर्यो सुप्रसिद्ध प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले सम्पादन गरेको पुस्तक ‘सत्ता र सत्य’ । अर्थात् वर्तमान नेपाली राजनीतिको सेरोफेरोलाई परिक्रमा लगाउने हो भने मैले भन्नैपर्छ ‘कम्युनिस्ट सत्ताको सत्य’।

यतिखेर देश कम्युनिस्ट सत्ता अझ भनौं ओली शासनको दुन्दुभीमा ‘कमाउनिस्ट’हरूको परेड देख्न पाइएको छ । टेलिभिजनको पर्दामा साँझ बिहान जतिखेर पनि । यति नै बेला खगेन्द्र सरको यो पुस्तक मेरो हातमा नपरेको भए पनि हुन्थ्यो । कम्युनिस्टहरूको यतिविघ्न जगजगी भएको वेलामा । खगेन्द्र सरको वैचारिक आस्थाको उच्च सम्मान गर्दै र उहाँको वैचारिक आस्थासँग पूर्णत: असहमति जनाउँदै उहाँले सम्पादन गरेको पुस्तक ‘सत्ता र सत्य’ को संक्षिप्त टिप्पणी गर्ने जमर्को गरेको छु।

नेपालका सीकेलालदेखि विश्वप्रसिद्ध लेखक बर्तोल्ट ब्रेख़्त, अलबर्ट आइन्सटाइन र नेपालका कतिपय गाउँ डुलेकी मेरी डेसनलगायत आ-आफ्ना क्षेत्रका विशिष्टकृत व्यक्तिहरूका विचारहरूको यो सँगालोले वर्तमान विश्वका शासन र तिनका नेतृत्वको नाडी छाम्ने भरपूर प्रयत्न भएको छ पुस्तकमा । विद्वान् लेखकहरूका विचारोत्तेजक विचारसँग कतै सहमत कतै असहमत रहँदा-रहँदै नेपाली राजनीतिमा हालैका दिनमा देखापरेका जनविरोधी क्रियाकलापले ‘सत्ता’ त ‘सत्य’नै हो चाहे त्यो कम्युनिस्ट को होस वा अरू कसैको निर्मम त निर्मम नै हुँदोरहेछ भन्ने कुरा दिनको घामझै छर्लंग भएको छ ।

त्यसो नहुँदो हो भने झन्डै डेढ वर्षदेखि नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वको उहापोहमा मुलुक नराम्रोसँग नफस्नु पर्थ्यो । कोरोनाबाट आक्रान्त जनतालाई अझ पीडा त्यतिबेला थपियो डेढ वर्षको अन्तरालमा दोस्रोपटक जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संसद्‌लाई दुई-दुईपटक विघटन गरियो । सत्तामा बस्नेहरू जो कोही हुन् सत्ता कसरी जोगाउने भन्ने मात्र चासो हुँदो रहेछ । होइन भने अक्सिजन, भेन्टिलेटर, बेड, भ्याक्सिन नपाएर जनता मरिरहेको अवस्थामा ‘सत्ता’ को म्याराथन यो हदसम्म हुने थिएन होला । जनताका नाममा भोट खाएका कम्युनिस्टहरूले रातारात कसरी आफ्ना वाचा बिर्से ?

विलियम हिल्टन ले भनेझैं नेपालका कम्युनिस्टहरू पनि माओ विचारधाराबाटै गाइडेड छन् । उनीहरू त्यो सहर्ष स्वीकार्छन् पनि । आफ्नो राजनीतिक प्रतिबद्धता र चुनावी घोषणापत्रलाई पनि उनीहरू यतिखेर संविधानलाई बिर्से झैं बिर्सेका छन् । त्यसैले उज्यालोको खोजीमा हिँडेको एउटा योद्धा अब हिटलर हुने तयारीमा छ । आफ्नै सगोत्रीहरूलाई तह लगाउन अर्को ग्यास चेम्बरको सपना बुन्दै छ ।

सत्ता र सत्य नामांकन गरिएको पुस्तकमा दुई सय वर्षभन्दा अघिको विश्व र वर्तमान विश्वका बारे विश्वप्रसिद्ध विचारकहरूको विचार प्रक्षेपण छ।यो युगमा हामीले भोगिरहेको समयलाई दाँजेर पढ्दा कथनी र करनीमा के फरक हुँदो रहेछ ऐना हेरे झै सबै कुरा छर्लंग हुन्छ । बुक हिल्स प्रकाशनले प्रकाशित गरेको यो पुस्तक संग्रहणीय छ ।

प्रतिक्रिया