बुधबार, वैशाख १२, २०८१

हिटलर र ओलीको तुलना कति जायज ?

सुनील सापकोटा २०७८ जेठ १६ गते १४:१३

प्रधानमन्त्री केपी ओलीका विरोधीहरुले अचेल उनलाई हिटलरसँग तुलना गरेको देखिन्छ । ओलीजी हिटलरजस्तो हठी, निरंकुश, तानाशाही प्रवृत्तिका देखिए पनि उनी हिटलरजस्ता राष्ट्रवादी र विकासप्रेमीचाहिँ होइनन् ।

सन् १९३३ मा हिटलर सत्तामा आउँदा जर्मनीमा व्यापक भोकमरी र बेरोजगारी थियो । दुनियाँमा आर्थिक मन्दी चलिरहेको थियो । हिटलरले दोस्रोपटक चुनाव जित्दा जनतासमक्ष बेरोजगारी हटाउँछु, आर्थिक उन्नति गर्दै देश विकास गर्छु भन्ने वाचा गरेका थिए । नभन्दै आमचुनावमा भारी मतले बहुमत ल्याइ सत्तारोहण गरेपछि उनले नयाँ ठूला हाइवेहरु, नयाँ रेललाइनहरु, नयाँ स्कुल-कलेजहरु, नयाँ ठुल्ठूला उद्योगहरु, नयाँ प्रशासनिक भवनहरु आदिको निर्माण प्रारम्भ गरे । त्यो बेला उनले व्यापक मात्रामा रोजगारी सिर्जना गरेको पाइन्छ । हिटलरले जर्मनीमा सानो तथा मझौला उद्योगलाई बढी प्राथमिकता दिएका थिए र त्यो बेला जर्मनी सरकारको लगानी र स्वामित्वमा रहेका ठूला घाटामा गै सेतो हात्ती भएका ठूला उद्योग, बैंक तथा कर्पोरेसनहरुलाई निजीकरण गरेर पब्लिक सेक्टरमा हस्तान्तरण गरे अनि त्यसबाट प्राप्त मुनाफामा ६ प्रतिशत मात्र पब्लिक सेक्टरले राख्न पाउने गरी अरु बाँकी राज्य कोषमा जम्मा गर्ने व्यवस्था मिलाए ।

हिटलरले मजदुर युनियनहरुलाई हडताल र मिल मालिकहरुलाई तालाबन्दी गर्न प्रतिबन्ध लगाए । त्यस्ता क्रियाकलापलाई गैरकानुनी घोषित गरे । कामको घण्टा बढाए । कर्मचारी तथा मजदुरहरुलाई बढी उत्पादनमा इन्सेन्टिभको व्यवस्था गरे । कामदारहरुलाई विभिन्न प्रशिक्षण दिइयो । ओभरटाइम र बोनसको व्यवस्था मिलाइयो । जसको परिणामस्वरूप मजदुरहरुको आयमा पहिलेको भन्दा २० प्रतिशत अनि म्यानेजरहरुको आयमा ५० प्रतिशतसम्म वृद्धि भएको कुरा इतिहासमा पढ्न पाइन्छ ।

हिटलर आत्मनिर्भरताप्रेमी थिए । त्यो बेला उद्योगपति, मजदुर अनि कर्मचारीहरु मात्र होइन कि उनीसँग किसानहरु पनि खुसी भएको देखिन्छ, फाइदामा भएको पाइन्छ । हिटलरले पुरानो परम्परावादी खेतीको ढाँचालाई परिवर्तन गरी आधुनिक खेतीमा ध्यान दिएका थिए । हिटलरले आफ्नो कार्यकालमा किसानहरुलाई सिँचाइ, उन्नत मल, बीउ, मेसिन, प्राविधि, कृषिबाली बिमा, सब्सिडी आदिको व्यवस्था गरी जर्मनीलाई कृषिमा आत्मनिर्भर बनाएका थिए ।

जर्मनीको औद्योगिक विकासमा युद्धका सामाग्रीहरुको पनि ठूलो हिस्सा रहेको पाइन्छ । हिटलरकै कारणले जर्मनीमा मोर्टार, बन्दुक, तोप, टैंक, गोला-बारुद, पनडुब्बी, हवाई जहाज आदि व्यापक मात्रामा बन्न थाले र त्यसबाट ठूलो कमाइ पनि हुन थाल्यो । जर्मनी त्यो बेला ठूलो शक्तिशाली मुलुक थियो । युरोपका सबैजसो मुलुक जर्मनीसँग डराउँथे । हिटलरको इकोनोमिक पोलिसीकै कारण उनी सत्तामा आउनुभन्दा अगाडिको जर्मनीको इकोनोमी जुन नेगेटिभ थियो, पाँच वर्षमै १० प्रतिशतले ग्रोथ हुने स्थितिमा पुग्यो । त्यस्तै उनले बेरोजगारीलाई शून्यमा झारे । त्योबेला प्रायः सबैजसो जर्मन नागरिकको घरमा रेडियो, भक्सवैगन कार , फर्निचर, कार्पेट आदि देखिन्थ्यो । हिटलरको शासनकालमा विवाह गर्दा एक हजार र बच्चा जन्मिँदा दुई सय पचास जर्मन मुद्रा राज्यबाट प्राप्त हुन्थ्यो ।

हिटलर जहाँ जान्थे मानिसहरुको ठूलो भीड जम्मा हुन्थ्यो । जनता उनको भाषण प्रेमले सुन्थे अनि खुसीले ताली बजाउँथे । उनी आफ्नो भाषणमा जुनकुरा भन्थे त्यसलाई पूरा गरेर देखाउँथे । जर्मनीका नाजी जनता उनका दिवाना थिए। त्यो बेला हिटलर जर्मनीको हिरो थिए । जब उनले युद्धको आह्वान गरे तब आमजर्मन आफ्नो कामकाज छोडेर बन्दुक बोकि दुनियाँ जित्न निस्किएका थिए । त्यो बेला जर्मन सिपाहीहरु बलिया, निडर, आत्मविश्वासी अनि अनुशासित मानिन्थे । भनिन्छ त्यतिबेला सारा युरोपमा त्यस्तो सुसंगठित लडाकु फौज नै थिएन ।

हिटलर प्रोपगान्डावाज थिए । चलाख राजनिनिज्ञ थिए । भलै उनी पद, पावर र सत्ताको भोका थिए उनि हत्यारा भए पनि राष्ट्रवादी थिए । भ्रष्टाचारी थिएनन् । डरपोक थिएनन् । उनले कहिल्यै अरुसँग भिख मागेनन् । पहिलो विश्वयुद्धमा उनले युद्ध लडेर बहादुरी देखाएका थिए, तक्माहरु जितेका थिए । एउटा महान् नेताका रुपमा उनले सत्तामा आएको ६ वर्षमै जर्मनिको कायापलट गरेको पाइन्छ । हिटलरले एसियामा हमला नगरेको भए अथवा जापानले अमेरिकालाई युद्धमा नघसेटेको भए हिटलर युरोपको एउटा ठूलो डिक्टेटर नेता हुने थिए । सम्भवत: विजयी हुन्थे होला ।

अन्त्यमा , हिटलरको तुलना ओलीजीसँग गर्न मिल्दैन। ओलीजी अहिले नेपालको राजनीतिक रंगमंचका एउटा चतुर खेलाडी मात्र हुन् । उनमा हिटलरको जस्तै धूर्त, चलाख, शक्ति र सत्ता न छोड्ने जिद्दीजस्ता बानी-व्यवहोराचाहिँ मिल्छ । यद्यपि केपी ओली हिटलरजस्तो इमानदार र राष्ट्रवादी नेता होइनन्, विकासप्रेमी होइनन् । हिटलर पनि दुईपटक गरेर ६ वर्षजति सत्तामा रहे । ओलीजी पनि अहिलेसम्म जोड्दा दुईपटक गरेर साढे पाँच वर्षजति प्रधानमन्त्री रही सके । हिटलरको शासनकालमा जर्मनीका जनता सुखी र खुसी थिए तर ओलीजीको शासनकालमा जनता गरिब र दुःखी छन् । अझ भन्ने हो भने महामारीमा न्यूनतम स्वास्थ सुविधा पनि नपाएर प्रताडित हुन पुगेका छन् ।

प्रतिक्रिया