बिहीबार, वैशाख २०, २०८१

अन्तिम यात्रा

विमल वैद्य २०७८ जेठ १९ गते १५:४०

आँशु त झरिरहेकैछ
अविरल/अविराम
कहिले आफ्न्तका नाममा
कहिले चिनारू र प्रियजनका नाममा,
कहिले झर्छ! आफ्नै पोल्टामा
आफ्नै आँखाको आँशु
आफ्नै नाममा
फरक यति त हो,
पर्खिरहनु रहेछ
पर्खिरहेछु
आफ्न‌ै श्वासको
अन्तिम यात्रामा सहभागी हुन।

कोही हुने छ‌ैनन्
म आफै हुनेछु
आफ्नो मलामी,
नजिककाहरूले
हात जोड्ने छन् टाढै बाट
अथवा
सम्झिनेछन् मनै बाट
छोरोले आगो फाल्नेछ
पुल माथी बाट
पत्नीको आँसु
मेरो छात्तिमा खस्न पाउने छैन
छोरीले हेर्नेछीन्
बाबुको मृत्यु फेसबुक लाइभमा
आमाले त छोरो देख्नै पाउदिनन्
बाबुको बिलौना
बगरको शुन्यतमा बिलाइजाने छ।

म मरेको खवर
छिमेकीहरुले समाचारमा सुन्नेछन्
अथवा कसैले सुनाइदिने छन्
मैले मत दिएका प्रतिनिधिहरूले
एउटा खाली पन्नामा
शोक बक्तब्य जारी गर्नेछन्
नभनिदिनु कसैले त्यसबेला
मैले अस्पतालमा भर्ना पाउन नसकेर
मेरो चोला उठेको खवर
अथवा
क्रृतिम श्वास फेर्न नपाएर
म मरेको समाचार
भनिदियो यदि कसैले भने
मेरो सरकार बदनाम हुनेछ
मेरो मृत शरिरले पनि धिक्कार्ने छ
नहोस् यस्तो
यस्तो पटक्कै हुनुहुदैन
म मरेर पनि मेरो सरकार बाँच्नुपर्छ
मेरो जीवन माथिको खेल
जो अझै खेल्नु छ मेरो सरकारलाई।

आँसु त झर्नु हो
झरिरहेकै छ
झरिरहन्छ
अविरल/अविराम
जिवन र मृत्यु बिचको यो लडाइँमा ।

प्रतिक्रिया