बुधबार, जेठ ८, २०८२

ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै

नेपालखोज २०७८ जेठ २५ गते ७:२९

काठमाडौं । सरकारले आजदेखि चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ज्येष्ठ नागरिकलाई लगाउँदैछ । काठमाडौं उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।

६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने भनिएको खोप अन्तिम समयमा आएर ६२ देखि ६४ वर्षकालाई मात्रै दिने निर्णय भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठदेखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन निर्देशन दिइएको छ ।

हिमाली जिल्लामा भने यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकाले सो समूहकाले खोप लगाउन छुटेका भए खोप दिइने तयारी छ । काठमाडौं महानगरपालिकाले भने ६० देखि ६४ वर्षका व्यक्तिहरुलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउने महानगरपालिकाले जनाएको छ । जसअनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिने सरकारको तयारी छ । खोप लगाउनका लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया