शनिबार, वैशाख १५, २०८१

मालिकहरुकाे अनुहारमा हिलाे

युवराज आचार्य २०७८ जेठ २९ गते ९:००

अरबमा बगेको जनताको खुन र पसिनाले किनेको डिजेल पिउँदै,
४२०० सीसीको मोटरमा पेस्तोल बोक्ने र डायरी बोक्ने दुई जवान लिएर,
दक्षिणमा भैंसेपाटी र उत्तरमा शिवपुरीको काखसम्म,
खुमलटारदेखि खुर्सानीटारसम्म,
दैनिक ओहोर-दोहोर,ओहोर-दोहोर गरिबक्सन्छ मालिकहरू ।
रुख बुट्यानविहीन यस्तो शान्त सहरमा,
मानव रित्याइएको सुनसान सडकमा
डर छ मालिकलाई बाघ-भालुको ?
कि आफूजस्तै ‘जनप्रिय’ ठालुको ?
जनताकै पसिनालाई धुवाँमा उडाउँदै,
अर्को २५०० सीसीको खटेरोले पछ्याउँदैछ मालिकहरूलाई
आठ-दशजना राइफलधारी बोकेर,
पोहोर साल एक पोको तेल, चामल, दाल सुनिन्थ्यो,
धरहरा ठडिएर गौरवशाली बनेको समृद्ध देशका
रेल, जहाज र भ्यू टावर चढ्ने सुखी नेपालीलाई
दाल-चालम-नुन-तेल सोध्नु लज्जाको विषय बनिसक्यो,
यसपालि कुनै भारदारले सोधेन, के खायौ भनेर ।
केही मालिक-विरोधीले भात बाँडे,
मालिकका भारदारले रोके
ती अझै गल्लीमा बसेर, कानुन तोडेर भातकै कुरा गर्दै छन्,
समृद्ध नेपालको इज्जत फाल्ने हर्कत गर्दै छन् ।
हातमा भातको पोका दिएर मालिकको गाथगादी ताक्ने ?
मुखमा अर्काले दिएको दालभात पोतेको होइन,
मालिकको अनुहारमा हिलो पोतिएको हो,
मालिकको छत्रछायामा बसेर
समृद्ध नेपालको सुखी नेपाली बनेका भक्तहरू हो !
अब जाग्ने बेला भएन ?

प्रतिक्रिया