शुक्रबार, वैशाख १४, २०८१

इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि सत्ताको शक्ति गुमाउँदै

नेपालखोज २०७८ जेठ ३० गते ११:४७

काठमाडाैं । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनलाई अन्त्य गर्नेगरी आइतबार इजरायलको संसद्ले नयाँ सरकार गठनलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।

दलहरूको एउटा अनपेक्षित गठबन्धनले बनाउने अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ ।

त्यसले दुई वर्षभन्दा बढी समयमा तीनवटा निर्वाचनले फुकाउन नसकेको राजनीतिक गाँठोलाई समेत अन्त्य गर्नेछ ।

मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार दक्षिणपन्थी राष्ट्रवादी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री हुन अग्रसर देखिएका छन् ।

गठबन्धनसम्बन्धी सम्झौताअनुसार यामिना दलका नेताले सन् २०२३ को सेप्टेम्बरसम्म पद सम्हाल्नेछन् । त्यसपछिको थप दुई वर्षका लागि उनले येश अटिड पार्टीका याएर लापिडलाई सत्ता हस्तान्तरण गर्नेछन् ।

इजरायमा सबैभन्दा लामो समय शासन गर्ने नेता नेतान्याहुले थुप्रै वर्ष त्यहाँको राजनीतिक परिदृश्यलाई आफ्नो अधिनमा राख्न सफल भए । उनी अझै दक्षिणपन्थी लिकुड पार्टीको नेता र प्रतिपक्षी दलको नेताका रूपमा रहिरहनेछन् ।

उनले सम्भावित नयाँ सरकारप्रति कडा शब्द प्रहार गर्दै त्यसलाई ‘धोकेबाज र आत्मसमर्पणवादीहरूको खतरनाक गठबन्धन’ को सङ्ज्ञा दिएका छन् । उनले त्यसलाई ‘छिट्टै सत्ताच्युत गरिने’ वाचा पनि गरेका छन् । बेनेटको सरकार इजरायलको ७३ वर्षे इतिहासमा नयाँ स्वरूपमा हुनेछ । उक्त गठबन्धनमा राजनीतिक विचारधारामा ठूलो मतभिन्नता रहेका दलहरू छन् । अनि त्यसमा सबैभन्दा उल्लेख्य रूपमा पहिलो स्वतन्त्र अरब दल राम पनि सहभागी हुनेछ । त्यसमा अहिलेसम्मकै धेरै आठजना महिला मन्त्रीहरू समेत अपेक्षा गरिएको छ ।

राम र दक्षिणपन्थी गैरअरब इजरायल पार्टीहरू सरकारमा सहभागी हुँदा प्यालेस्टिनीहरूप्रतिको इजरायल नीतिमा मतभेद देखिन सक्छ ।

उदाहरणका लागि यामिन र अर्को दक्षिणपन्थी दल न्यू होप इजरेल अधीनस्थ वेस्ट ब्याङ्कजस्ता ठाउँमा यहुदी बस्ती राख्ने कामको कट्टर समर्थक हुन् । सामाजिक नीतिमा पनि मतभिन्नता देखा पर्न सक्छ ।

केही दलहरू परिष्कृत समलिङ्गी अधिकारको पक्षमा छन् । तर समलिङ्गी विवाहलाई मान्यता दिने कामलाई इस्लामिक पार्टी रामले विरोध गर्दै आएको छ । त्यसबाहेक केही दलहरू धार्मिक प्रतिबन्धहरू खुकुलो पार्न चाहन्छन् तर धार्मिक दल यामिन त्यसो नहोस् भन्न चाहन्छ । बीबीसी

प्रतिक्रिया