राष्ट्र बैंकले थप्यो ५० करोडको वैदेशिक रोजगार बचतपत्रको बिक्री अवधि (पत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोडको वैदेशिक रोजगार बचतपत्रको बिक्री अवधि थप गरेको छ । राष्ट्र बैंकका अनुसार जेठ १३ गते यही असार तीन गतेसम्म बैदेशिक रोजगारी बचतपत्रको बिक्री खुल्ला गरिएकोमा तोकिएको समयमा बचतपत्र बिक्री नभएपछि बिक्री अवधि थप गरिएको हो ।
अवधि थप भएकै आधारमा अब खरिदकर्ताहरुले यही असार १८ गतेसम्म बैदेशिक रोजगार बचतपत्र खरिद गर्न सक्नेछन । राष्ट्र बैंकका अनुसार खरिद अवधि थप भएकै आधारमा बैदेशिक रोजगार बचतपत्रको निष्काशन अवधि २०७८ असार २३ गते तोकिएको छ भने सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको छ ।
राष्ट्र बैंकले यसअघि जेठ १३ गतेबाट ऋण व्यवस्थापन विभागअन्तर्गत वैदेशिक रोजगार बचतपत्र २०८३ (पाँच वर्षे) को बिक्री खुल्ला गरेको थियो । पुर्वनिधारिकत कार्य तालिका अनुसार निष्काशन मिति २०७८ असार ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८३ असार ८ गते तोकिएको थियो ।
वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिकरुपमा हुने छ । यो बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु बैंकसमेतका १२ वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको जनाएको छ ।


प्रतिक्रिया