शुक्रबार, जेठ ४, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट-७

दिनेश अधिकारी २०७८ असार ५ गते ११:५७

२०५३ साल फागुन १,२ र ३ गते तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा आयोजित राष्ट्रिय साहित्य सम्मेलनमा नेपाल र भारतका साहित्यकारहरुको उल्लेख्य सहभागिता थियो। मलाई सम्झना भएसम्म सम्मेलनमा जनकविकेशरी धर्मराज थापा, सुप्रसिद्ध साहित्यकारहरु मदनमणि दीक्षित र इन्द्रबहादुर राईसमेतको उपस्थिति थियो । फागुन १ गते २/३ जना मन्त्रीका साथमा आउनुभएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्नुभएको सम्मेलनको समापन भने फागुन ३ गते तत्कालीन सभामुख रामचन्द्र पौडेलको उपस्थितिमा भएको थियो । सम्मेलनको अभिन्न अंगका रुपमा नेपाल र भारतका कविहरुले भाग लिएको कविता प्रतियोगिता पनि एक थियो र यो कविता प्रतियोगितामा बाग्लुङका कवि भूपिन व्याकुल (अहिलेका बहुचर्चित र मेरा प्रिय कवि मध्येका एक- कवि भूपिन) को कविता प्रथम भएको थियो ।

सम्मेलनको दोस्रो दिन कार्यपत्रको प्रस्तुतिपछि साँझसम्मै कवितावाचन चलेको थियो । त्यतिखेर प्रसिद्ध साहित्यकार नरेन्द्रराज पौडेल तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो र सम्मेलन आयोजनाको अवधिमा मात्र होइन, सम्मेलन आयोजनाको तानाबाना बुन्नमा पनि उहाँको उत्तिकै महत्त्वपूर्ण योगदान रहेको कुरा जताततै सुनिन्थ्यो । त्यसबेलाको दमौलीमा सबैलाई एकैठाउँमा ‘बास’ को बन्दोबस्त मिलाउन सकिने अवस्था नभएकोले हामी विभिन्न ठाउँमा छरिएर बसेका थियौं । विष्णु विभु घिमिरेका साथ मचाहिँ जिल्ला वन कार्यालयको गेस्ट रुममा बसेको थिएँ । समकालीन साथीहरुको उल्लेख्य सहभागिता रहेकाले रमाइलोमाथि रमाइलो थपिएको थियो । जाँदा सँगसँगै गए पनि कवि साथी विधान आचार्य र कवि तथा गीतकार भाइ रमेश पौडेल चाहिँ दमौली पुगेपछि व्यवस्थापनतिरै अल्झिनुभयो । कारण प्रस्ट थियो- तनहुँ उहाँहरुको आफ्नै ठाउँ भएकाले व्यवस्थापनका कतिपय जिम्मेवारी उहाँहरूको काँधमा पर्ने नै भयो ।

सम्मेलन आफ्नै ठाउँमा थियो । मौका मिलाएर हामी पाँचजना साथीहरु दमौली बजार नजिकै रहेको प्रसिद्ध ‘व्यास गुफा’ तिर पनि घुम्न गएका थियौं । यी तस्बिरहरु त्यही सम्मेलनका उपज र सह-उपजहरु हुन। पहिलो तस्बिर मैले कवितावाचन गर्दाको हो भने दोस्रो तस्बिरचाहिँ व्यास गुफानजिकै मादी खोलाको किनारमा खिचिएको हो, जसमा बायाँबाट क्रमशः कवि विष्णुविभु घिमिरे, म दिनेश अधिकारी , धर्मराज बराल र बीचमा कवि श्रवण मुकारुङ देखिएका छौं । मेरो क्यामेराबाट दोस्रो तस्बिर खिचिदिने पत्रकार मित्र युवराज गौतम भने तेस्रो फोटोमा देखिनुभएको छ र तेस्रो फोटो हेरेपछि सहजै अनुमान गर्न सकिन्छ त्यो फोटो खिच्ने जिम्माचाहिँ कवि श्रवण मुकारुङको भागमा परेको रहेछ !

प्रतिक्रिया