शनिबार, जेठ ५, २०८१

बच्चालाई कोरोना संक्रमणबाट बचाउन आमा-बुवाले खोप लगाउनुपर्छ

नेपालखोज २०७८ असार ५ गते १२:४८

कोरोना संक्रमणको दोस्रो लहर बिस्तारै घट्दै गए पनि पुनः अर्को लहरको सम्भावना रहेकाले अस्पतालहरूलाई शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयले आग्रह गरिसकेको छ । यो लहरले बालबालिकालाई संक्रमण धेरै हुनसक्ने भन्दै त्यसका लागि पूर्वतयारी गर्न अस्पतालहरूलाई मन्त्रालयले सजग गराएको हो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बालबालिकालाई नै संक्रमण गराउने भेरियन्ट नै तेस्रो लहरमा आउँछ भन्ने यकिन गर्न नसकिने बताउँछन् । तर बालबालिकाका लागि खोप आइनसकेको र अभिभावकले पनि खोप लगाउन नपाएको अवस्थामा भने बालबालिकालाई बढी संक्रमण भने हुने अनुमान लगाउन सकिने उनी बताउँछन् । बालबालिकालाई संक्रमण भएको अवस्थामा कसरी उपचार गर्ने, स्थनपान गर्ने बालबालिकालाई संक्रमण भए आमाले के कसरी सुरक्षित भएर बस्ने, संक्रमित बालबालिकालाई घरमा राखेर हेरचाह गर्न सकिन्छ कि सकिँदैन ? लगायत विषयमा सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनसँग प्रनिशा अधिकारीले नेपालखोजका लागि गरेको कुराकानी ।

अब आउने कोरोनाको लहरबाट बालबालिका बढी संक्रमित हुन्छन् भनिएको छ, हो ?
मुख्य कुरा जुनसुकै अथवा जतिवटा लहर आए पनि यो वा त्यो समूहका व्यक्तिलाई बढी संक्रमण हुन्छ भन्ने हुँदैन । तेस्रो, चौथो वा पाँचौं लहर आएको खण्डमा पनि बालबालिकालाई मात्रै अथवा धेरै संक्रमण गर्छ भन्ने होइन । पहिलो लहरले बूढाबूढीलाई र दोस्रो लहरले युवालाई संक्रमण भएकाले तेस्रो लहरले बालबालिकालाई बढी संक्रमण हुन्छ कि भन्ने हो । तर बुबाआमालाई संक्रमण हुँदा बच्चालाई पनि हुन्छ भन्ने अहिलेसम्म गरिएको अनुमान हो । कोही समूहलाई मात्रै लक्षित गरेर आउने हुँदैन । रोग महामारी भन्ने कुरा सिरियल आउँदैन । जो कोहीलाई हुनसक्छ ।

कोरोना संक्रमण हुनबाट बालबालिकालाई कसरी बचाउन सकिन्छ ?
यदि अहिले भनिएजस्तै अब आउने लहरमा बालबालिकालाई बढी संक्रमण हुने अवस्था आयो भने यसबाट बच्न सबैभन्दा पहिला अभिभावकले नै खोप लगाउनुपर्छ । बालबालिकाको नियमित सम्पर्कमा आउने व्यक्ति नै सबैभन्दा पहिला खोप लगाएर सुरक्षित हुनुपर्छ । यसो गरिएको अवस्थामा बालबालिकालाई संक्रमणको सम्भावना कम हुन्छ । दोस्रो पक्ष बढी जमघट तथा भिडभाड हुने ठाउँमा जानु हुँदैन । यसो गरियो भने संक्रमणबाट केही हदसम्म बच्न सकिन्छ ।

यदि बालबालिकालाई संक्रमण भइहालेको अवस्थामा के गर्न सकिन्छ ?
यदि संक्रमणको आशंका लागेमा सबैभन्दा पहिला कोभिड हो कि होइन भनेर परीक्षण गराउनुपर्छ । र संक्रमण भएको हो रहेछ भने सबैभन्दा पहिला चिकित्सकसँग परामर्श लिएर उनीहरूको सुझावअनुसार चल्नुपर्छ ।

स्तनपान गराइरहेका बालबालिकालाई संक्रमण भयो भने कसरी उनीहरूलाई आइसोलेट र उपचार गर्ने ?
बालबालिका बिरामी भएपछि अथवा कोभिड संक्रमण भएपछि आमाबुबा अस्पताल जानैपर्ने हुन्छ । यो बाध्यात्मक अवस्था हो । त्यसैले हामीले भनेका हौं बुबाआमालाई अनिवार्य रुपमा खोप लगाऔं । बुबाआमा खोप लगाएर सुरक्षित हुनु भनेको छोराछोरी पनि धेरै हदसम्म कोरोनाबाट सुरक्षित हुनु हो । त्यसैले यदि सकेसम्म धेरै बालबालिकालाई संक्रमण हुनबाट बचाउने हो भने सबैभन्दा पहिला उनीहरूका अभिभावकलाई खोप लगाउनुपर्छ ।

यदि बालबालिकालाई संक्रमण भइहाल्यो तर घरमै राखेर उपचार गर्न सकिने अवस्था छ भने खोप नलगाएका आमाले कसरी आफू पनि सुरक्षित भएर हेरचाह गर्न सकिन्छ ?
मेरो विचारमा यो निकै अफठ्यारो परिस्थिति हो । तर, यसको विकल्प पनि छैन । घरमा राख्दा जोखिम हुन्छ । त्यसैले डाक्टरको सल्लाह लिनुपर्छ । परामर्शअनुसार उपचार गर्नुपर्छ । उपचार गर्न पनि सहज हुने भएकाले सकेसम्म अस्पताल नै जानुपर्छ । घरमा राख्ने वा अस्पताल लैजाने भन्ने निर्णय डाक्टरको परामर्श लिनुपर्छ । सामान्य अवस्थामा मात्रै घर बस्ने हो । घर बस्ने अवस्था रह्यो भने मास्क लगाउने, साबुनपानीले पटकपटक हात धुने, स्यानिटाइजर प्रयोग गरिरहनुपर्छ ।

निषेधाज्ञा खुल्नेबित्तिकै बालबालिकालाई विद्यालय पठाउनु संक्रमणका हिसाबले कत्तिको जोखिम हो ?
विद्यालयमा भिड हुने भएकाले जोखिमको अवस्था पनि त्यति नै धेरै हुन्छ । तत्काल लकडाउन खोल्दा समस्या हुने अवस्था देखिन्छ । त्यसैले आउँदो दिन हेरेर यसबारे भन्न सकिन्छ होला । अहिले संक्रमण किन घटिरहेको छ भन्ने पनि कारण थाहा छैन । साँच्चै संक्रमण घटेकै हो कि परीक्षण गर्न आउनेको संख्या नै कम छ भन्ने हो । त्यसैले विस्तारै अरु क्षेत्र खोलेर संक्रमणको अवस्था कस्तो हुन्छ त्यहीअनुसार शिक्षण संस्था खोल्ने वा नखोल्ने भन्ने निर्णय गर्दा सायद राम्रो हुन्छ ।

प्रतिक्रिया