सोमबार, वैशाख २९, २०८२

किसानका गोठमै पुगेर वडाद्वारा नि:शुल्क पशु बिमा

रासस २०७८ असार ७ गते ११:१९

झापा । शिवसताक्षी नगरपालिका-६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बिमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बिमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताए ।

उनका अनुसार ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बिमा गरिरहेको र बिमा गरेवापतको सबै रकम बिमा कम्पनीलाई वडाले भुक्तानी दिने उनले बताए ।

वडाको अधिकांश किसानका घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउबिजन केन्द्रमा केही वर्षपहिले नश्ल सुधारका लागि राखिएको बीउ साँढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उनले बताए ।

कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले सुरुमा किसानले नबुझेर बिमा गर्न नमाने पनि अहिले आफैँ फोन गरेर उनीहरुले बोलाउने गरेको बताए ।

उनका अनुसार बजारमा ९५ हजार रुपैयाँसम्म पर्ने गाईको ७५ हजार रुपैयाँसम्मको बिमा गर्ने गरिएको छ । स्थानीय किसान शर्मिलाले विकले भनिन, ‘न आफूले कुनै बीमावापतको रकम नै तिर्नुप¥यो न अब बस्तु मरे भने ऋणमा डुबिन्छ भनेर चिन्ता नै गर्नुप¥यो, ढुक्क भइयो ।’ यसबाट किसानलाई राहत मिलेको उनको भनाइ छ ।

बिमा एनएलजी कम्पनीले गरिरहेको छ । पशुको स्वास्थ्य परीक्षणसमेत निःशुल्क स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरिरहेको वडा कार्यालयले जनाएको छ ।

वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको हो । अगामी वर्ष पनि किसानलाई हौसला र उत्साह प्रदान गर्न कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष कार्कीको भनाइ छ ।

वडाध्यक्ष आफैँ पशु बिमाका लागि बिमा कम्पनीका अभिकर्तालाई लिएर किसानको गोठगोठमा पुग्ने गगरेका छन् । पशु बीमा गरेपछि एक वर्षभित्र पशु दुर्घटना तथा रोग लागेर मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ ।

पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही तथा घ्यूमा आत्मनिर्भर बनाउनका लागि वडामा बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ ।

मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिसपत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया