शनिबार, जेठ ५, २०८१

‘विपत्‌अघि हामीले पूर्वतयारीमा ध्यान दिन सकेकै छैनौं’

नेपालखोज २०७८ असार ९ गते ९:०९

‘सिन्धुपाल्चोकको घटनापछि प्रभावमा आधारित पूर्वसूचना प्रणालीको अभ्यास नेपालमा पनि सुरु भयो’

विपत् कहिले पनि कसैको ढोका ढकढक्याएर आउँदैन । यो त संकेत नदिई या भनौं सामान्य संकेतबाटै उत्पन्न हुने एउटा प्रमुख प्राकृतिक अथवा अप्राकृतिक घटना हो ।
यो आइसकेपछि यसले व्यक्ति विशेष वा ठाउँ केही नभनी सबै क्षेत्र तहसनहस पारिदिन्छ । यसले व्यापक रुपमा मानवीय, स्रोत-साधन तथा वातारवरणमाथि क्षति र सामाजिक संयन्त्रमाथि अत्याधिक विध्वंश पार्नुका साथै उपलब्ध स्रोत-साधन परिचालन गर्न नसकिने गरी प्रभावित पार्छ । विपत् आउनुअघि यसको क्षति आकलन गर्न अकल्पनीय छ । विपत्‌लाई रोक्न छेक्न सकिँदैन । सकिन्छ त बस पूर्वतयारी गर्न । यद्यपि मनुसन नेपाल भित्रिनुअघि विज्ञहरूले यस वर्षको मनसुनले क्षति गर्न सक्ने प्रक्षेपण गरिसकेका थिए । गत वर्षको तुलनामा यस वर्षको मनसुन औसतभन्दा बढी सक्रिय हुने भएकाले यसले बढी वर्षा हुने र विपत्‌जन्य घटना निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको थियो । नभन्दै मनसुनको सुरुवातमै सिन्धुपाल्चोकको मेलम्चीमा विपत्‌ले विध्वंश मच्चायो । कैयौंले ज्यान गुमाए, धेरै घाइते भए भने कतिपय अझै बेपत्ता छन् । अर्बौंको सम्पत्ति नोक्सानी भयो त सयौं घरबारविहीन भए ।

यस वर्ष मेलेम्ची मात्रै होइन मनाङ, मुस्ताङ, बाग्लुङ, जाजरकोटलगायत जिल्लाहरूमा पनि विपत्‌जन्य घटना भएका छन् । त्यहाँ पनि धेरै नै धनजनको क्षति भएको छ । तर, ताजा अवस्थामा मेलम्चीको घटनालाई पछिल्लो विपत्‌जन्य घटनाका रुपमा लिइएको छ । जुन अत्यन्तै अकल्पनीय पनि मानिएको छ । तर, सरकारको पूर्वतयारी भने यस वर्ष पनि विपत्‌पछिको राहत वितरण कसरी गर्ने भन्नेमै सीमित देखियो । विपत् नेपाल भित्रिसकेपछि सरकारी संयन्त्र बल्ल पूर्वतयारीमा लाग्यो । यस्तैयस्तै विषय वस्तुमा हामीले जलवायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीसँगै कुराकानी गरेका छौं । प्रस्तुत छ, जल वायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीसँग नेपालखोजका लागि मीरा साउँदले गरेको कुराकानी :

मेलम्चीमा विपत्‌को घटना हुनुको प्रमुख कारण के हो ?
भू-बनोट । अर्को भूकम्पको प्रभावित जिल्ला । भूकम्पले हल्लाएर भू-बनोटलाई पारेको असर, प्रि-मनसुनको अवस्थामा परेको पानी र मनसुन सुरु हुनेबित्तिकै थ्रेसहोल्डभन्दा धेरै पानी परेको अर्थात् २४ घण्टामा ११० मिलिमिटर पानी सिन्धुपाल्चोकको सेर्माथाङ आसपासमा परेको देखिन्छ भने मनाङमा सामान्यत: जति पानी पर्थ्यो त्योभन्दा धेरै परेको थियो यी सबै कारणले यो घटना भएको हो । सिन्धुपाल्चोकको घटनाको कुरा गर्ने हो भने पानी पर्‍यो । जनिमले छेक्ने थ्रेसहोल्डभन्दा बढी पानी पर्‍यो । त्यो जमिनको भित्र गएर मासस्लाइड (ढिको खस्नु) भयो । मासस्लाइड गराउँदाखेरि जमिन नदीमा गयो र नदी थुनियो । ४५ मिनेट नदी थुनिँदा पानीको ड्याम बन्यो । र त्यो ड्याम ४५ मिनेटपछि फुटेर एकैचोटि जुन माथि खसेको पहिरो छ त्यो लेदोसहित लिएर आएर मेलम्ची क्षेत्र २० देखि ३० फिटसम्म पुरियो ।

यसमा कुन-कुन संयन्त्रले कसरी काम गर्नुपर्‍यो ?
सूचना प्रणालीको जुन हाम्रो संयन्त्र छ, जस्तो यति पानी पर्दाखेरि यस्तो खालको असर पर्न सक्छ भन्ने एउटा, दोस्रो भूकम्पले कमजोर बनाएको भू-बनोटमा यति पानी पर्दा पहिरो जान सक्छ भनेर गरिने जोखिमको लेखाजोखा र लेखाजोखा भएको कुरालाई पनि कार्यान्वयनमा नल्याउनु हाम्रो कमजोरी हो । अर्को, समयमा हामीले त्यो सूचना तल्लो तहसम्म प्रवाह गर्न नसक्नु पनि यो घटना हुनुको प्रमुख कारण हो । त्यस्तै, यसका अन्य कारणहरू पनि छन् । जस्तै, समुदायमा आधारित पूर्वसूचना प्रणालीको विकास नहुनु, स्थानीय स्तरमा विपत् व्यवस्थापन समितिहरू सक्रिय नहुनु, स्थानीय स्तरमा आपत्‌कालीन केन्द्रहरूको संविधानमा व्यवस्था भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुनु यी सबै कारणले यस्ताखालका विपत्‌जन्य घटना भइरहेका छन् ।

अहिलेको र भोलिका लागि हामीले के कस्तो तयारी गर्नुपर्छ ?
मनसुन सुरु हुनुपूर्व जे तयारी हुनुपर्ने त्यो तयारी पर्याप्त भएको छैन नै । त्यसको उदाहरण अस्तिको घटनाले प्रमाणित गरिसक्यो । जोखिमको नक्सांकन, भू-बनोटअनुसारको बस्ती स्थानान्तरण, बस्ती स्थानान्तरण गर्न नसकिए पनि त्यसका लागि गर्न सकिने अल्पकालीन उपायहरू अबलम्बन गर्न धेरै हदसम्म सकिएको छैन । जल तथा मौसम विज्ञान विभागले बल्ल अस्तिको सिन्धुपाल्चोकको घटनापछि प्रभावमा आधारित पूर्वसूचना प्रणालीको अभ्यास सुरु भएको छ । विपत् प्राधिकरणले मनसुन पूर्वतयारीको योजना बनाएको छ । ठाउँठाउँमा उद्धारका लागि हेलिकोप्टर राखिएको भन्ने खबर पनि प्राप्त भएको छ । विपत्‌का घटना भइसकेपछि सरकारले गर्ने तयारी त गरिएको छ तर विपत्‌का घटना हुनै नदिनका लागि गर्नुपर्ने पूर्वतयारीहरू जस्तै-
१. ७५३ वटै स्थानीय निकायमा भएका विपत् समितिहरूलाई सक्रिय बनाउने ।
२. ७५३ वटै विपत् समितिहरूमा एक-एकवटा फोकलपर्सन तोकिदिने ।
३. सातवटै प्रदेशमा भएका प्रदेश स्तरीय विपत् व्यवस्थापन समितिहरूलाई सक्रिय बनाउने र त्यहाँ पनि त्यसको फोकलपर्सन तोक्ने ।
४. मनसुनजन्य जोखिमको मोनिटरिङ गर्ने ।
५. मौसम विज्ञान विभागबाट आएको सूचनालाई समुदायसम्म पुर्‍याउने र जोखिम रहेको स्थानमा सेना, प्रहरी अथवा अन्य संयन्त्र खटाउनेलगायत छन् ।
यी कार्यहरू समयमै गर्न सकियो भने नागरिकको जीवन जोगाउनमा यसले धेरै हदसम्म यसले सहयोग गर्छ ।

मेलम्चीको घटनाबाट के पाठ सिक्ने ?
पहिलो कुरा विपत् र विपत्‌का चक्रमा विपत् न्यूनीकरण र विपत्‌का लागि गरिएको पूर्वतयारीहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । अर्को कुरा विपत्‌पछाडि गरिने कामहरू (रेस्पोन्स रिकभरी) का जुन फेजहरू हुन्छन् त्यो अर्को चरण हुन्छ । विपत्‌पूर्वमा हामी त्यति ध्यान दिँदैनौ । विपत्‌पूर्व गरिने तयारीहरू जस्तो- कुन ठाउँमा कस्तो खालको जोखिम छ, कुन ठाउँमा पहिरोको जोखिम कति छ ? सरकारी संयन्त्रमै यो यो क्षेत्रमा पहिरो जान्छ, यो यो क्षेत्र पहिरोका लागि खतरा छ भन्ने कुरा नक्सांकन भएको हुन्छ । त्यो नक्सांकन भइसकेपछि, त्यो नक्सांकनमा कति पानी पर्दाखेरि त्यो ठाउँको जियोग्राफीले छेक्न सक्छ वा सक्दैन भन्ने कुराको हेक्का वा तथ्यांक सरकारी संयन्त्रसँग हुनुपर्छ । र, त्यो तथ्यांक प्रत्येक ठाउँको राख्नुपर्छ भन्ने कुराको एउटा तर्क भयो । दोस्रो कुरा मोनिटरिङ गर्ने कुरा । जस्तो- प्रत्येक वर्ष कुन ठाउँमा कति पहिरो गइरहेको छ भन्ने कुराको अनुगमन गरेर त्यसका आधारमा पहिरोको जोखिम नक्सांकनलाई अद्यावधिक गर्ने हो भने जोखिम न्यूनीकरण गर्न सहज हुन्छ भन्ने पाठ सिक्नुपर्छ । त्यस्तै पूर्वसूचना प्रणालीलाई समुदायसम्म जोड्न आवश्यक छ । पूर्वसूचना प्रणालीको अर्थ, यसको उपादेयता हामीले समुदायसम्म लैजान सक्यौं भने समुदायले त्यसलाई पढ्छ, त्यसलाई अपनत्व ग्रहण गर्छ जसले क्षति हुन कम गर्न सहज हुन्छ । त्यस्तै जोखिम क्षेत्र भनेर रेखांकन गरिएका, गाउँपालिका, नगरपालिका, समुदाय, वडाहरू छन् त्यहाँको बस्तीलाई सकेसम्म अलर्ट अवस्थामा राख्ने र यति पानी पर्नेबित्तिकै त्यो ठाउँबाट बस्ती खाली गर्नू भन्नेसम्मका हामीले निर्णय लिन सक्नुपर्छ । यसलाई जोखिमको निर्णय भनिन्छ ।

अब फेरि त्यस्तै मनसुनको जोखिम छ कि छैन ?
अब यो साता त मनसुनको जोखिम छैन, ढुक्क भए हुन्छ । तराईका केही क्षेत्रमा छिटपुट वर्षा त हुन्छ तर त्यसले त्यस्तो जोखिम निम्त्याउँदैन । तर असारको ११ देखि असार १७ (जुन २५ देखि जुलाई १) गतेको बीचमा फेरि अर्को वेब आउन सक्ने भारतको मौसम विज्ञान विभागले नियमित फोर कास्ट गरेको छ तर नेपालमा भने अझै त्यस्तो केही अनुमान गरिएको छ ।

मनसुनको अर्को वेब आयो भने यसले कहाँ कहाँ क्षति गर्न सक्छ ?
नेपालको मौसम विज्ञान विभागले जारी गरेको अहिलेसम्मको मनसुनको आउटलुकअनुसार सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र, कर्णाली प्रदेशको पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र, गण्डकीको पहाडी तथा हिमाली क्षेत्रको भूभागमा औसत भन्दा बढी वर्षा हुने भएकाले यी क्षेत्रमा पहिलो वेबभन्दा बढी क्षति हुन सक्ने आकलन गरिएको छ । अझ भन्ने हो भने, भूकम्पले क्षति पुर्‍याएका जिल्लाहरूमा यसले बढी क्षति गर्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया