शनिबार, जेठ ५, २०८१

‘नैतिकताका कुरा ओलीजीसँग नगरम्’

नेपालखोज २०७८ असार ९ गते १८:१४

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी जहिलेसम्म सत्तामा रहनुहुन्छ त्यति नै यो मुलकका लागि घातक छ ।

संविधालाई ट्र्याकभन्दा बाहिर लगिएको थियो । सर्वोच्चको असार ८ गतेको फैसलाले संविधानलाई ट्र्याकमा फर्काउने काम गरेको छ ।

सर्वोच्च अदालतले हिजो (मंगलबार) मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै २१ मन्त्री पदमुक्त भएका छन् । सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच मन्त्री मात्र छन् । अब, मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातयातामन्त्री वसन्तकुमार नेम्वाङ मात्र छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, वीरेन्द्र शाह, सीतादेवी श्रेष्ठ र कञ्चनकुमार न्यौपानेले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ मन्त्रिपरिषद् विस्तार खारेजीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोहीअनुरुप सर्वोच्चले हिजो (मंगलबार) मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

योसँगै विविध समसामयिक विषयमा रहेर नेपालखोजका प्रधान सम्पादक सुवास ढकालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विशेष कुराकानी गरेका छन् । कुराकानीका क्रममा अधिवक्ता त्रिपाठी प्रधानमन्त्रीको राजनीतिक पुँजी समाप्त भएको बताएका छन् । साथै, प्रधानमन्त्रीलाई सत्ताबाट बिदाई नगरे संविधानलाई नै बिदा गर्नुपर्नै दिन आउने उनको जिकिर छ । केपी ओली आजसम्मकै संविधानलाई सबैभन्दा बढी मिच्ने र गैरसंवैधानिक निर्णय गर्ने प्रधानमन्त्री भएको त्रिपाठीको आरोप छ । हेरौं वरिष्ठ अधिवक्ता त्रिपाठीसँग प्रधान-सम्पादक ढकालले गरेको विशेष कुराकानी :

हाइलाइट्स :

– संविधालाई ट्र्याकभन्दा बाहिर लगिएको थियो । सर्वोच्चको असार ८ गतेको फैसलाले संविधानलाई ट्र्याकमा फर्काउने काम गरेको छ ।
– हिजो (मंगलबार) अदालतले कोर्स करेक्सनको काम गर्‍यो । प्रधानमन्त्रीको अधिनायक बन्ने तानाशाह असीमित महत्त्वकांक्षामा लगाम लगाउने काम अदालतले गरेको छ ।
– प्रधानमन्त्रीले हिजो अदालतले राजनीति गर्‍यो भनेर दिएको अभिव्यक्ति अवहेलानात्मक अभिव्यक्ति हो । प्रतिनिधिसभाको पुनःस्थापना आदेश पनि उहाँले पालना गर्नुभएन । पुनः दोस्रोपटक अदालतको आदेशविरुद्ध प्रतिनिधिसभा विघटन गर्नुभयो ।
– अब मलाई के लाग्छ भने ओली एराको अन्त्य भयो । ओलीजीको राजनीतिक पुँजी पनि समाप्त भयो । नैतिक रुपमा पनि उहाँ च्यूत भइसक्नुभयो ।
– प्रधानमन्त्रीले जनसमर्थन पनि गुमाउनुभयो । अब उहाँको कुनै इमेज, प्रेस्टिज केही पनि छैन ।
– राष्ट्रले अब प्रधानमन्त्रीमाथि विश्वास गर्दैन । उहाँले आफूलाई राष्ट्रको सबैभन्दा निन्दित पात्रका रुपमा प्रस्तुत गर्नुभयो ।
– दुईतिहाइ बहुमतबाट यात्रा सुरु गरेको प्रधानमन्त्रीले आफूलाई एकतिहाइमा पुर्‍याउनुभयो । त्यहाँमाथि पनि पद त्याग गर्ने संवैधानिक शिष्टाचार प्रदर्शित गर्नुभएन । अनेक जालसाजी गरेर पदमा बसिरहनुभयो ।
– साँच्चिकै भन्नु पर्दा अहिलेको सरकार गैरसंवैधानिक सरकार हो ।
– उहाँले प्रतिनिधिसभा विघटन गर्नुभएको छ । अत्यन्तै भद्दाजनक ढंगले तीन-तीनजना उपप्रधानमन्त्री क्याबिनेट बनाउनुभएको छ । योभन्दा अश्लील र भद्दा मजाक अरु के हुन्छ ?
– राष्ट्रपतिले आफूलाई संविधानको पालनकर्ता, संरक्षणकर्ताको संवैधानिक भूमिका पूरा गर्नुभएन ।
– राष्ट्रपतिलाई के लाग्छ भने संविधानचाहिँ सुप्रिम होइन ओलीजीले ल्याएको सिफारिसचाहिँ सुप्रिम हो ।
– प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी जहिलेसम्म सत्तामा रहनुहुन्छ त्यति नै यो मुलकका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ साथै संविधानका लागि घातक छ ।
– प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई हामीले बिदा गरेनौं भने संविधानलाई नै बिदा गर्नुपर्ने हुन्छ ।
– जुन पार्लियामेन्टले उहाँलाई प्रधानमन्त्री बनायो उहाँले त्यसैलाई ध्वस्त पार्नुभयो यो भष्मसुर प्रवृत्ति भएन र ?
– नैतिकताको कुरा ओलीजीसँग नगरम् । उहाँले राजीनामा मात्र होइन राजनीतिबाटै संन्यास लिनुपर्छ ।
– प्रधानमन्त्री मात्र होइन सार्वजनिक पद धारणका लागि उहाँ डिसक्‍वालिफाइड हुनुहुन्छ ।
– सबैभन्दा बढी संविधानलाई मिच्ने र गैरसंवैधानिक निर्णय गर्ने आजसम्मको प्रधानमन्त्री भनेकै ओली हो ।

भिडियो : संगम ढकाल

प्रतिक्रिया