शुक्रबार, वैशाख ७, २०८१

‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

छिटोछिटो सरुवा हुनाले सरकारलाई नै घाटा हो । जति निजामती सेवाले राम्रोसँग कार्यसम्पादन गर्न पाउँछन् त्यही सरकारको लोकप्रियता बढ्छ ।

नेपालखोज २०७८ पुष ५ गते ९:५०

लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पाको प्रशासनिक नेतृत्व अहिले गुल्मीका जगन्नाथ पन्तको काँधमा छ । २०७८ कात्तिक १ गतेदेखि पाल्पाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पन्त कुशल प्रशासकका रूपमा परिचित छन् । निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ पन्तलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । उनी निजामती सेवामा २०५१ सालदेखि कार्यरत छन् । पाल्पाका प्रजिअ पन्त यसअघि राष्ट्रपतिको कार्यालयमा कार्यरत थिए ।
कर्मचारीको दरबन्दी कम भएकै कारण सरकारी कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने उनको बुझाइ छ । ‘दरबन्दी कम छ । अर्को कुरा दरबन्दी पूर्ति नै छैन । सेवाग्राही बढी हुने अड्डाहरुमा सेवा दिने कर्मचारीको संख्या कम छ । यस्ता अड्डामा दरबन्दी बढाउनुपर्छ,’ पाल्पाका प्रजिअ पन्तले नेपालखोजसँग भने, ‘दरबन्दी बढाए जनताले सेवा पनि सहज रुपमा पाउँछन् । सन्तुष्टि पनि हुन्छन् । ५ जनाको दरबन्दीमा २ जना कर्मचारी हुन्छन् । काम ढिला भयो भनेर कर्मचारीले गाली खाइरहेको अवस्था छ । यसमा सरकारले विचार गर्नुपर्छ ।’
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ३६औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राही र सेवा प्रवाह गर्ने कार्यालयको प्रकृतिअनुसार सेवाहरु पनि फरक हुन्छ ।
-कार्यालयले प्रवाह गर्ने सेवाअनुसार सेवाग्राही हुन्छन् ।
-कहिलेकाहीँ मैले भनेपछि, म जतिको मान्छेले भनेपछि विश्वास नगर्ने भन्ने कुरा पनि आउँछ ।
-अहिलेका सेवाग्राही सबै सचेत । कहाँ गएर कार्यसम्पादन हुन्छ भन्नेमा उहाँहरुलाई थाहा भइहाल्छ ।
-अन्य क्षेत्रभन्दा निजामती सेवालाई अब्बल मानिन्थ्यो । मर्यादा पनि राम्रो थियो । तलब भत्ता कम भए पनि मानसम्मान राम्रो हुन्छ भन्ने थियो ।
-एकैचोटि धेरै पढ्छु भनेर हुँदैन । यसमा लाग्छु भनेपछि नियमित पढ्नुपर्‍यो । परीक्षाको एकदिन अगाडि रातभर पढ्नेभन्दा पनि समसामयिक विषयमा अध्ययन गर्नुपर्‍यो ।
-सबैभन्दा लेखनशैलीलाई विकास गर्नुपर्‍यो । लोकसेवामा पढ्न धेरैले पढेका हुन्छन् तर धेरैले प्रश्न नबुझी उत्तर लेखेका हुन्छन् ।
-बुबाआमा निजामती सेवामा भए छोरा छोरी स्वाभवले नै यस क्षेत्रमा आकर्षण हुने रहेछन् । कसैको कोही छैन भने यो पास हुन सकिन्नँ मेरो यस क्षेत्रमा को छ र भनेर नलागेको पनि अवस्था छ ।
-जो नेपालमा बसेका छन् उनीहरु निजामतीसेवा प्रति आकर्षित छन् । निजामती सेवा आकर्षण छँदै छैन भन्ने होइन आकर्षण छ ।
-छिटोछिटो सरुवा हुनाले सरकारलाई नै घाटा हो । जति निजामती सेवाले राम्रोसँग कार्यसम्पादन गर्न पाउँछन् त्यही सरकारको लोकप्रियता बढ्छ ।
-निजामती सेवामा लागेर कुनै पश्चाताप छैन ।
-सेवाग्राही बढी हुने अड्डाहरुमा सेवा दिने कर्मचारीको संख्या कम छ । यस्ता अड्डामा दरबन्दी बढाउनुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राही र सेवा प्रवाह गर्ने कार्यालयको प्रकृतिअनुसार फरकफरक सेवाहरु हुन्छ । मैले धेरै समय विभिन्न पदमा रहेर स्थानीय तहमा बसेर काम गरेँ । अहिले पाल्पामा प्रमुख जिल्ला अधिकारी भएर काम गर्दै आएको छु । कार्यालयले प्रवाह गर्ने सेवाअनुसार सेवाग्राही हुन्छन् । २०५१ सालदेखि निजामती सेवाको शाखा अधिकृतमा सेवा प्रवेश गरेदेखि अहिले करिब तीन वर्षदेखि सह-सचिव पदमा काम गरिरहेको छु । यो दौरानमा सेवा प्रवाह गर्दा मैले सेवाग्राहीबाट कुनै गुनासो नआउनेगरी उपलब्ध स्रोत-साधन जनशक्तिका हिसाबले अहिलसम्म राम्रै गरेको छु भन्ने अनुभूति गरेको छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
सेवाग्राहीले सेवा लिँदा केही प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । प्रमाणहरु पुर्‍याएको हुनुपर्छ । कुनै पनि सेवाग्राहीको प्रमाण नपुग्दा भनसुन गर्दा हुन्छ भन्ने हिसाबले आउने गरेको पाइन्छ । कहिलेकाहीँ त उहाँहरुले भन्न लगाएको मान्छे बुझ्नुहुन्छ । कार्यालयका तर्फबाट उहाँहरुले ठीकै भनेको हुनुहुँदो रहेछ भन्ने कुरा हुन्छ । कहिलेकाहीँ मैले भनेपछि म जतिको मान्छेले भनेपछि विश्वास नगर्ने भन्ने कुरा पनि आउँछ । त्यस्तो ठूलै दबाबको महसुस भने छैन ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
त्यस्तो धेरै छन् । म कात्तिक १ गतेदेखि पाल्पा आएँ । यो दुई महिनाका दौरानमा पनि केही सम्झन मिल्ने कामहरु भए । विभिन्न कामले आएका सेवाग्राहीको धेरै भिडभाड थियो लगभग ३०० को संख्यामा सेवाग्राही हुनुहुन्छ । कर्मचारीले पनि लाइनमा धेरै सेवाग्राही भएकाले एकचोटि भन्नु हुन्छ उहाँहरुले कुरा बुझ्नु हुन्नरहेछ । भिडभाडको समयमा लाइन, फाँटहरुतिर र सेवाग्राहीहरुलाई मैले पनि हेरिरहेको हुन्छ, कहिलेकाहीँ अल्मलिरहेको देख्छु । लगभग तीन घण्टा गाडीको यात्रा गरेर एकजना भाइको नागरिकता बनाउन आउनुभएको रहेछ । बुबाआमा हुनुहुँदो रहेनछ काकाले लिएर आउनुभएको रहेछ । साथमा पाँचजना आउनुभएको रहेछ । बिहानदेखि आएको वडाले चाहिने भए सिफारिस दिनुपर्ने यो के गरेको भन्दै रहेछन् । कुरा बुझ्दा बुबाको नागरिकताचाहिँ लिएर आएका रहेछन् काकाको पनि नागरिकता रहेछ । बाबु र काकाको बाबुको नाम एउटै छ । तीन पुस्ताभित्रको एउटै परिवारको मान्छे भन्ने सनाखत हुन्छ । फर्किन लागेका रहेछन् अनि मैले कर्मचारी साथीहरुसँग सक्कल नागरिकता छ नागरिकता बनाइदिन आएका काका रहेछन् त्यो वडाले प्रमाणित गर्नै पर्दैन भने । उहाँहरुको नागरिकता बन्यो उहाँहरु खुसी भएर जानुभयो । मलाई पनि आत्मसन्तुष्टको अनुभूति भयो ।

कहिलेकाहीँ सेवाग्राही अलमलमा परेर फरक कार्यालयमा पनि पुग्छन् र ?
छन्, । तर, एउटा कार्यालयमा गएर त्यहाँ काम भएन । अप्ठ्यारो पर्‍यो के छ प्रक्रिया सरले भन्दिनुपर्‍यो, सरले भनिदिए हुन्छ भन्ने किसिमको आउनुहुन्छ । एकाध घटना मैले हेर्दा मिल्ने रहेछ गरिदिनुस् भन्दा भएका पनि छन् । नत्र अहिले सबै सेवाग्राही सचेत हुनुहुन्छ । कहाँ गएर कार्यसम्पादन हुन्छ भन्नेमा उहाँहरुलाई थाहा भइहाल्छ । प्राय: सेवाग्राही अलमल हुने अवस्था भने छैन ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म यस क्षेत्रमा प्रवेश गर्ने बेला निजामती सेवाको साख अर्कै थियो । अन्य क्षेत्रभन्दा निजामती सेवालाई अब्बल मानिन्थ्यो । मर्यादा पनि राम्रो थियो । तलब भत्ता कम भए पनि मानसम्मान राम्रो हुन्छ भन्ने थियो । अर्को यसको छनोट प्रक्रिया पनि हो । लोकसेवा पास भएर आउँदा आफैँलाई पनि म योग्य नै रहेछु भनेर गर्व हुन्थ्यो । व्यक्तित्व विकास हुन्छ, देश-विदेश सरकारी भ्रमण हुन्छ, पदोन्नति पनि हुन्छ, सरुवा भएर देशकै विभिन्न ठाउँ जान पाइन्छ यी यावत् हिसाबले निजामती सेवा राम्रो नै हो भन्ने लागेको थियो । त्यसैले म यसतर्फ लागें ।

निजामती सेवामा आउनका लागि कसरी पढ्ने ?
एकैचोटि धेरै पढ्छु भनेर हुँदैन । यसमा लाग्छु भनेपछि कमसेकम एक वर्षदेखि नियमित पढ्नुपर्‍यो । परीक्षाको एकदिन अगाडि रातभर पढ्नेभन्दा पनि समसामयिक विषयमा अध्ययन गर्नुपर्‍यो । सबैभन्दा लेखनशैलीलाई विकास गर्नुपर्‍यो । लोकसेवामा पढ्न धेरैले पढेका हुन्छन् तर धेरैले प्रश्न नबुझी उत्तर लेखेका हुन्छन् । प्रश्न बुझेर सही तरिकाले उत्तर लेखेर निजामती सेवामा सहज उर्त्तीण भइन्छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
यो, साथी संगत, घरपरिवार कता लागेका छन् त्यसमा भर पर्ने रहेछ । यो पेसा यिनै कुरामा भरपर्ने रहेछ हरेक देशमा । बुबाआमा निजामती सेवामा भए छोरा छोरी स्वाभवले नै यस क्षेत्रमा आकर्षण हुने रहेछन् । कसैको कोही छैन भने यो पास हुन सकिन्नँ मेरो यस क्षेत्रमा को छ र भनेर नलागेको पनि अवस्था छ । आजभोलिका युवाको विदेश जाने चलन छ । जो नेपालमा बसेका छन् उनीहरु निजामतीसेवा प्रति आकर्षित छन् । निजामती सेवा आकर्षण छँदै छैन भन्ने होइन आकर्षण छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवा ऐनमा अवधि तोकेको छ । योभन्दा पहिले सरुवा हुनुहुँदैन भनेर । तर अहिले एकदमै छिटोछिटो सरुवा हुने गरेको छ । २-३ महिना त त्यहाँको वस्तुअवस्थिति, जिल्लाको समस्या बुझ्न नै लाग्छ । छिटोछिटो सरुवा हुनाले सरकारलाई नै घाटा हो । जति निजामती सेवाले राम्रोसँग कार्यसम्पादन गर्न पाउँछन् त्यही सरकारको लोकप्रियता बढ्छ । जिम्मा दिएर पठाएका कर्मचारीलाई छिटोछिटो सरुवा गर्नु निकै हानिकारक छ । कार्यसम्पादनमा पनि असर पर्छ ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । किनभने मसँग उद्योग व्यवसाय गर्ने अनुभव थिएन । पहाडको किसानको छोरा भएको पुँजी लगानी गर्ने अवस्था पनि थिएन । राजनीतितर्फ रुचि पनि लागेन । पढ्दा नै सरकारी सेवा गर्ने हो भनेर उत्प्रेरित थिएँ । अन्त लागेको भए, यो गरेको भए हुन्थ्यो भन्ने छैन म सन्तुष्ट छु, निजामती सेवामा लागेर कुनै पश्चाताप छैन ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
जिल्लाहरुमा कर्मचारीहरुले धेरै काम गर्छन् । दरबन्दी कम छ । अर्को कुरा दरबन्दी पूर्ति नै छैन । सेवाग्राही बढी हुने अड्डाहरुमा सेवा दिने कर्मचारीको संख्या कम छ । यस्ता अड्डामा दरबन्दी बढाउनुपर्छ । यो भयो भने जनताले सेवा सहज रुपमा पाउँछन् । सन्तुष्टि पनि हुन्छन् । ५ जनाको दरबन्दीमा २ जना कर्मचारी हुन्छन् । उनीहरु सेवाग्राहीको काममा धेरै खटिएका हुन्छन् । ढिला काम भयो भनेर उनीहरुले नै गाली खाइरहेका हुन्छन् । यसमा सरकारले विचार गर्नुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लसँग कुराकानी गरेका थियौं । यसपटक हामीले लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया