शुक्रबार, चैत १६, २०८०

‘निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिएको छ’

नेपालखोज २०७९ असार १३ गते ९:५७

लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको प्रशासनिक नेतृत्व अहिले सप्तरीका धर्मेन्द्रकुमार मिश्रको काँधमा छ । २०७८ चैत १८ गतेदेखि कपिलवस्तुको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मिश्र कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ मिश्रलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै १८ वर्ष बिताएका कपिलवस्तुका प्रजिअ मिश्र यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासी सुस्ता पश्चिममा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।
निजामती सेवामा सरुवालाई नियमित प्रक्रियाका रुपमा लिनुपर्ने उनको भनाइ छ । ‘सरुवा एउटा नियमित प्रक्रिया हो । काम जहाँ भए पनि गर्ने नै हो । सरुवा भयो भनेर कुनै पनि कर्मचारीले अन्यथा लिन मिल्दैन,’ प्रजिअ मिश्रले नेपालखोजसँग भने, ‘कहिलेकाहीँ मन्त्रालयका सचिव र मन्त्रीले फलानो ठाउँमा आवश्यकता छ फलानो ठाउँमा आवश्यकता छैन भन्नुहुन्छ । यसले कार्यसम्पादनमा खासै असर पार्दैन ।’
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ६३औं शृंखला :

हाइलाइट्स :
-मैले मेरो कार्यालयमा सेवाग्राही अथवा जनतालाई सेवा गर्ने काम नै मूलमन्त्र बनाएको छु ।
-म जुन-जुन कार्यालयमा बसें त्यहाँ कार्यालयका सम्पूर्ण सहकर्मीलाई मेरो स्प्रिट भनेको जनताको नि:स्वार्थ सेवा गर्ने र छिटो-छरितो भरपर्दो ढंगले सेवा दिनु हो ।
-जनप्रतिनिधि, मन्त्रीज्यू, सांसदज्यूहरूले दबाब दिनेभन्दा पनि जनप्रतिनिधिलाई जनताले गुनासो गर्छन् सहयोग माग्छन् त्यहीअनुसार उहाँहरूले अनुरोधसम्म गर्नुहुन्छ ।
-जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा अहिले दरबन्दीअनुसार कर्मचारी छैनन् । कर्मचारीको अभाव छ । यसका लागि हामीले अन्य-अन्य कार्यालयबाट सहयोग लिने गरेका छौं ।
-नागरिकतासम्बन्धी जस्ता अलि जटिल विषय भएकाले यस्ता कुरा मसँग आउँछन् । अर्को ठाडो उजुरीको विषयमा । ठाडो उजुरी अहिले मैले नै हेर्न गरेको छु । किनभने एउटा आशा-भरोसामा जनता आएको हुन्छ ।
-वाणगंगाको बाढी र पश्चिमी सीमा र स्थानीय केही खोलामा आएको बाढी समस्याका रुपमा छ । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तह विपत् व्यवस्थापन समितिसँग समन्वय र सहकार्य गरेर अघि बढ्न हामी तयारी अवस्थामा छौं ।
-जनताको सेवा गर्ने हुटहुटी पूरा गर्न पनि म निजामती सेवातर्फ आएको हुँ ।
-निजामती सेवामा एउटै वर्ग र समुदायको मात्र प्रवेश गर्ने परम्परा तोडिँदै गएको छ ।
-सरुवा एउटा नियमित प्रक्रिया हो । काम जहाँ भए पनि गर्ने नै हो । सरुवा भयो भनेर कुनै पनि कर्मचारीले अन्यथा लिन मिल्दैन ।
-हामी सबैको मूलमन्त्र भनेको जनाताको सेवा नै हुनुपर्छ । त्यसमा चाहिँ इमानदारी, निष्पक्षजस्ता कुरामा कहिले पनि कम्प्रमाइज गर्नु हुँदैन । करिअर ओरेन्टेड भएर सेवा प्रवेश गरियो भने करिअरको टपमा पुग्ने सम्भावना हुन्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मैले मेरो कार्यालयमा सेवाग्राही अथवा जनतालाई सेवा गर्ने काम नै मूलमन्त्र बनाएको छु । म जुन-जुन कार्यालयमा बसें त्यहाँ कार्यालयका सम्पूर्ण सहकर्मीलाई मेरो स्प्रिट भनेको जनताको नि:स्वार्थ सेवा गर्ने र छिटो-छरितो भरपर्दो ढंगले सेवा दिनु हो । तपाईंहरूले यो स्प्रिटमा अथवा मेरो स्प्रिटमा हिँड्नुपर्छ भन्ने सन्देश मेरो जानेबित्तिकै हुन्थ्यो । अहिलेसम्म म जुनजुन कार्यालयमा बसेको छु मैले आफूले पूर्ण रुपमा जनतालाई सेवा दिएर योगदान गरेको छु जस्तो लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
दबाबै भनेर त आउँदैन । विशेष गरेर जनप्रतिनिधि, मन्त्रीज्यू, सांसदज्यूहरूले दबाब दिनेभन्दा पनि जनप्रतिनिधिलाई जनताले गुनासो गर्छन् सहयोग माग्छन् त्यहीअनुसार उहाँहरूले अनुरोधसम्म गर्नुहुन्छ । त्यस्तो राजनीतिक र सामाजिक दबाब भने आउँदैन ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा अहिले दरबन्दीअनुसार कर्मचारी छैनन् । कर्मचारीको अभाव छ । यसका लागि हामीले अन्य-अन्य कार्यालयबाट सहयोग लिने गरेका छौं । सेवाग्राहीलाई बस्ने ठाउँ, स्तनपान कक्ष, हेल्प डेस्क नागरिक बडापत्र, स्वच्छ खानेपानीको व्यवस्था हामीले गरेका छौं । ५ बजेसम्म कार्यालय समय भए पनि सेवाग्राही आएका छन् भने ५ बजेपछि पनि काम गरेर फर्काउनू भनेर स्पष्ट निर्देशन छ । यद्यपि अहिले राष्ट्रिय परिचयपत्रको कार्यक्रम जिल्लामा चलिरहेको हुनाले परिचयपत्रको प्रतिलिपि शाखामा अलि बढी नै चाप छ हाम्रो । तथापि हामीले टोकन सिस्टमबाट चाँडोभन्दा चाँडो सेवा दिने प्रयत्न गरिरहेका छौं ।

तपाईंसँग आइपुग्ने सेवाग्राहीले कस्ता प्रकृतिका काम लिएर आउने गरेका छन् ?
एउटा शाखामा समाधान हुन नसकेका कुराहरू हो । केही कन्फ्युजन भयो भने कर्मचारीहरू आफैं आउनुहुन्छ । यद्यपि यस्तो कुरामा हामी छलफल गर्छौं केही इस्यु छ भने । नागरिकतासम्बन्धी जस्ता अलि जटिल विषय भएकाले यस्ता कुरा मसँग आउँछन् । अर्को ठाडो उजुरीको विषयमा । ठाडो उजुरी अहिले मैले नै हेर्न गरेको छु । किनभने एउटा आशा-भरोसामा जनता आएको हुन्छ । कुनै ठाउँमा अलमल भयो भने उसले न्याय नपाउने पनि अवस्था हुन्छ । र तल कुनै ढिला-सुस्ती र दुर्व्यवहार भयो भने यस्ता कुरा मसँग आउँछन् ।

अहिले बर्खाको मौसम जिल्लामा बाढी तथा प्राकृतिक विपत्‌का घटनाको अवस्था कस्तो छ ?
यहाँ वाणगंगा नदी मुख्य हो । यो अलिकति बढी पानीको सतह बढ्ने नदीका रुपमा रहेको छ । हिजो-अस्ति मात्र लक्ष्मणघाट भन्ने ठाउँमा कटान सुरु भएको जानकारी पाएपछि वाणगंगा सिँचाइ आयोजनका प्रमुख, त्यहाँका ठेकेदार, वडाध्यक्षलगायत म फिल्डमै उपस्थित भएर कटान रोकथामका लागि काम थाल्न निर्देशन दिएर आएको छु । अर्को हाम्रो पश्चिमी सीमातिर पहिरो जाने समस्या हुन्छ । त्यहाँ अस्ति मात्र दुई भारतीयले ज्यान गुमाउनु पर्‍यो । वाणगंगाको बाढी र पश्चिमी सीमा र स्थानीय केही खोलामा आएको बाढी समस्याका रुपमा छ । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तह विपत् व्यवस्थापन समितिसँग समन्वय र सहकार्य गरेर अघि बढ्न हामी तयारी अवस्थामा छौं ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मुख्य रुपमा जनताको सेवा नै हो । निजामती सेवामा प्रवेश गरेपछि मान-प्रतिष्ठाको कुरा पनि हुन्छ । व्यक्तिगत रुपमा जनताको सेवा गर्ने हुटहुटी पूरा गर्न पनि म यता आएको हुँ । यो पदसम्म आएपछि समग्र जिल्लाको नेतृत्व गर्न पाइन्छ र जनतालाई सेवा गर्न पाइन्छ भन्ने तृष्णाले नै म निजामती सेवातर्फ प्रवेश गरेको हुँ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
छ । पछिल्लो समय धेरै छ । लोकसेवा परीक्षाका लागि दिएको आवेदनको संख्या हेर्‍यो भने अवश्य पनि आकर्षण छ । नयाँ नयाँ पुस्ताको प्रवेश हुँदै छ । आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका पुस्ता पनि प्रवेश गर्दै छन् । तथापि यसमा निजी विद्यालयको उत्पादन यसमा छैन कि जस्तो महसुस हुन्छ हुनचाहिँ । तर यसमा पनि क्रमिक रुपमा सुधार भएको पाइन्छ । एउटै मात्र वर्ग र समुदायको प्रवेश गर्ने परम्परा तोडिँदै गएको छ ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सामान्यत: सरुवाको अवधि हुन्छ । त्यो अवधिअगावै सरुवा हुँदैन । सरुवा एउटा नियमित प्रक्रिया हो । काम जहाँ भए पनि गर्ने नै हो । सरुवा भयो भनेर कुनै पनि कर्मचारीले अन्यथा लिन मिल्दैन । कहिलेकाहीँ हाम्रो सचिव र मन्त्रीले फलानो ठाउँमा आवश्यकता छ फलानो ठाउँमा आवश्यकता छैन भन्नुहुन्छ । यसले कार्यसम्पादनमा खासै असर पार्दैन ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामी सबैको मूलमन्त्र भनेको जनाताको सेवा नै हुनुपर्छ । त्यसमा चाहिँ इमानदारी, निष्पक्षजस्ता कुरामा कहिले पनि कम्प्रमाइज गर्नु हुँदैन । करिअर ओरेन्टेड भएर सेवा प्रवेश गरियो भने करिअरको टपमा पुग्ने सम्भावना हुन्छ । त्यसैले नअलमलिए ध्यान केन्द्रित गरियो भने जनताको पनि सेवा हुन्छ आफू पनि माथि पुग्न सकिन्छ । जनताको सेवा गर्न अनिच्छुक र ठूलो आर्थिक परिवर्तन गर्न चाहने व्यक्ति निजामती सेवामा प्रवेश नगरेकै राम्रो ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग कुराकानी गरेका थियौं । यसपटक लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

अस्मान तामाङ, प्रजिअ, चितवन – ‘निजामती सेवा मुलुकको स्थायी सरकार हो’

शशिधर घिमिरे, प्रजिअ, अर्घाखाँची – ‘सार्वजनिक सेवा प्रवाह सबैको साझा प्रयासले भरोसा योग्न बनाउनुपर्छ’

परमानन्द घिमिरे, प्रजिअ, रुकुम पश्चिम – ‘निजामतीतर्फ आकर्षण बढेकै छ, घटेको छैन’

दीपककुमार पहाडी, प्रजिअ, रामेछाप – ‘जहाँ निष्पक्ष परीक्षा हुन्छ त्यहाँ आकर्षण हुन्छ, जहाँ हुँदैन तब सोर्सफोर्सको कुरा आउँछ’

भरतमणि पाण्डे, प्रजिअ, मकवानपुर – ‘निजामती सेवा भनेको देशको स्थायी संरचना हो’

हुमकला पाण्डे, प्रजिअ, काभ्रे – ‘जनताका आधारभूत सेवा पूरा गर्न पाउँदा खुसी लाग्छ’

नूरहरि खतिवडा, प्रजिअ, संखुवासभा – ‘सेवाग्राहीका गुनासालाई सहज रुपमा लिन्छु, समस्या समाधानमा समन्वय गरिदिन्छु’

माधवप्रसाद ढुंगाना, प्रजिअ, इलाम – ‘हुने काम हुन्छ, नहुने काम यो कारणले हुँदैन भन्छु’

चिरञ्जीवी राना, प्रजिअ, म्याग्दी – ‘सेवाग्राही आउनेबित्तिकै गुनासो सुनेर समस्या सम्बोधन गर्छौं’

काशीराज दाहाल, प्रजिअ, मोरङ – ‘प्रभावकारी सेवाप्रवाह गर्न कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्व बिर्सिनु हुँदैन’

कृष्णबहादुर शाही, प्रजिअ, रौतहट – ‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया