आइतबार, वैशाख १४, २०८२

लकडाउनमा बढे महिला हिंसा, तथ्यांक डरलाग्दो !

मीना साउँद २०७८ असार १४ गते १६:५६

काठमाडौं । महिला हिंसाका घटना हरेक वर्ष होइन, महिना होइन हरेक दिन बढिरहेका छन् । हरेक दिन महिला हिंसासम्बन्धी घटना सार्वजनिक भइरहेका हुन्छन् । यस्तो कुनै दिन भेटिँदैन जुन दिन, कुनै महिला हिंसामा परेको घटना नभएको होस् । हरेक वर्ष महिला हिंसाविरुद्धको अभियान चलाइन्छ, हिंसा कम गर्न भन्दै विभिन्न संस्थाहरू पनि लागि परेका हुन्छन्, हिंसा रोक्नैका लागि भनेर सरकारले पनि विभिन्न योजनाहरू ल्याइरहेकै हुन्छ, पनि तर महिला हिंसाका घटना घट्नुको साटो बर्सेनि बढिरहेका छन् ।

महिला हिंसा नियन्त्रण गर्न नसकेको आरोपमा सरकार पनि दिनप्रतिदिन आलोचित नभएको होइन । भनिन्छ, राज्य समाजको प्रतिबिम्ब हो । समाजको चरित्र जस्तो हुन्छ, राज्यको चरित्र पनि त्यस्तै हुन्छ । अवश्य पनि बलात्कार, हत्याजस्ता महिला हिंसाका घटना कम गर्न राज्यको जिम्मेवारी नै सबैभन्दा बढी हुन्छ । तर, राज्य त्यस्तो गर्न सकिरहेको छैन । वार्षिक रुपमा नयाँ नयाँ योजनाहरू पनि नल्याएको होइन सरकारले ल्याइरहकै छ, तर पनि सरकार चुकिरहेको छ । महिला आयोग तथा प्रहरीको तथ्यांकलाई हेर्ने हो भने प्रत्येक वर्ष महिला हिंसाका घटना बढिरहेका छन् ।  

के-हो महिला हिंसा ?
निजी र सार्वजनिक जीवनमा महिलामाथि लक्षित गरी गरिने क्रियाकलाप वा कार्य जसले महिलालाई शारीरिक, मानसिक, यौनिक र मनोवैज्ञानिक रूपमा हानि गर्छ, त्यसलाई नै महिला हिंसा भनेर बुझिन्छ । महिला भएकै आधारबाट मानवअधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ । जसअन्तर्गत बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह, जबरजस्तीकरणी र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना पर्छन् । हिंसा जुनसुकै जातजाति, समुदाय र वर्ग, गाउँ र सहर, तल्लो निकायदेखि माथिल्लो निकाय, सर्वहारादेखि सामन्ती र पुँजीपति वर्गसम्म जताततै भएको पाइन्छ। 

लकडाउनमा महिला हिंसाका घटना बढे
कोरोना महामारीले उत्पन्न गरेको विषम् परिस्थितिमा महिला हिंसासम्बन्धी घटना अझ बढेको पाइन्छ । वरिष्ठ अधिवक्ता मीरा ढुंगानाका अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको गत वर्षको लकडाउन तथा त्यसपछिका निषेधाज्ञाको समयमा अन्य वर्षको तुलनामा महिला हिंसाका घटना निकै बढेका छन् । उनका अनुसार लकडाउनले सबै मानिस घरमै रहँदा र मानसिक समस्या बढेको र तनाव हुँदा मदिराजन्य पदार्थको सेवनले गर्दा महिलामाथि हुने हिंसा अझ बढेका हुन् । पछिल्लो समय अपरिचित व्यक्ति तथा बाहिरका व्यक्तिहरूबाट भन्दा पनि आफ्ना आफन्त र घरभित्रै महिलामाथि हुने हिंसा बढेको उनको बुझाइ छ ।

कोरोना संक्रमण फैलिएपछि जारी गरिएका लकडाउन तथा निषेधाज्ञाको बीचमा धेरै महिलाहरूको हत्या, बलात्कारलगायत शारीरिक तथा मानसिक पीडा दिएका घटना बाहिरिए । योबीचमा कतिले त ज्यानै गुमाए । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण धेरैजसो परिवारसँगै रहँदा महिलामाथि हुने हिंसा र त्यसमा पनि घरेलु हिंसा बढी भएको तथ्यांकले देखाएको छ ।

के भन्छ तथ्यांकले ?
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा देशभर कुल १६ हजार १९८ महिला हिंसाका घटना भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कुल १६ हजा १९८ घटनामध्ये सबैभन्दा बढी ११ हजार ८६३ घरेलु हिंसाका घटना भएको जानकारी दिए ।

योबीचमा देशभर कुल जबरजस्ती करणीका २ हजार ३२९, जबरजस्ती करणी उद्योगका ६६६, बहुविवाहका ७८४, बालविवाह ७८,बोक्सीको आरोप ६०, अवैध गर्भपतनका २५, जातीय छुवाछुतका ३६, अप्राकृतिक मैथुन ३२, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहारका २४८, मानव बेचबिखन र करणी २१, अपहरण र करणी ६०, जबरजस्ती करणी गरी कर्तव्य ज्यान ४ र घरेलु हिंसाका ११ हजार ८६३ घटना भएका छन् । चालु आर्थिक वर्ष ०७७/७८ मा महिला हिंसासम्बन्धी घटना सबैभन्दा बढी प्रदेश २ मा ३ हजार ८३६ घटना दर्ता भएका छन् । त्यस्तै प्रदेश ५ मा २ हजार ६५३, वाग्मती प्रदेशमा १ हजार ६१४, प्रदेश १ मा १ हजार ४९२, गण्डकी प्रदेशमा १ हजार ४४६, प्रदेश ७ मा १ हजार ३३० र सबैभन्दा कम प्रदेश ६ मा १ हजार १२ घटना दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा प्रदेश १ मा सबैभन्दा बढी जबरजस्ती करणीका ५५७ घटना, घरेलु हिंसाका ५२३, जबरजस्ती करणी उद्योगका १५१, बहुविवाह १४८, बालविवाहका १३, बोक्सीको आरोप ३, अवैध गर्भपतन ५, जातीय छुवाछुत ६, अप्राकृतिक मैथुन ५, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार ६६, मानव बेचबिखन जबरजस्ती करणी ११, अपहरण जबरजस्ती करणी ३, जबरजस्ती करणी गरी कर्तव्य ज्यान एक र घरेलु हिंसाका ५२३ घटना दर्ता भएका छन् ।

त्यस्तै, प्रदेश २ मा जबरजस्ती करणीका ३३९, जबरजस्ती करणी उद्योग १०७, बहुविवाहका १०१, बालविवाह १०, बोक्सीको आरोप २५, अवैध गर्भवतन ९, जातीय छुवाछुत १, अप्राकृतिक मैथुनका ७, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार ३०, मानव बेचबिखन जबरजस्ती करणी २, अपहरण र जबरजस्ती करणी ३०, जबरजस्ती करणी गरी गरी कर्तव्य ज्यान १ र घरेलु हिंसाका ३ हजार १७४ घटना भएका छन् ।

त्यस्तै, वाग्मती प्रदेशमा जबरजस्ती करणीका २७१, जबरजस्ती करणी उद्योगका ८०, बहुविवाह ७९, बालविवाह ७, बोक्सीको आरोप १३, अवैध गर्भपतन १,जातीय छुवाछुत २, अप्राकृतिक मैथुन १,बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार ४१,अपहरण जबरजस्ती करणी ५ र घरेलु हिंसाका १ हजार ११४ घटना भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा जबरजस्ती करणीका १९०, जबरजस्ती करणी उद्योगका ५४, बहुविवाह ७८, बालविवाह ७, बोक्सीको आरोप २, अवैध गर्भपतनका १, जातीय छुवाछुत १, अप्राकृतिक मैथुन ३, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार ३५ र घरेलु हिंसाका १ हजार ७५ घटना भएका छन् ।

त्यस्तै, प्रदेश ५ मा जबरजस्ती करणीका ३९९, जबरजस्ती करणी उद्योग ११६, बहुविवाह १२२, बालविवाह १०, बोक्सीको आरोप ९, अवैध गर्भपतन ४, जातीय छुवाछुत ६, अप्राकृतिक मैथुन १०, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार ३१, मानव बेचबिखन र जबरजस्ती करणी १,अपहरण जबरजस्ती करणी ११ र घरेलु हिंसाका १ हजार ९ सय ३४ घटना भएका छन् ।

त्यस्तै, प्रदेश ६ मा जबरजस्ती करणीका १४३, जबरजस्ती करणी उद्योग ४३, बहुविवाह ९३, बालविवाह १८, बोक्सीको आरोप ४, अवैध गर्तपतन १, जातीय छुवाछुत ४, अप्राकृतिक मैथुन १, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार ३, मानव बेचबिखन र जबरजस्ती ३, अपहरण र जबरजस्ती करणी १ र घरेलु हिंसाका ६९९ घटना भएका छन् ।

यस्तै प्रदेश ७ मा जबरजस्ती करणी २१३, जबरजस्ती करणी उद्योगका ८२, बहुविवाह १०१, बालविवाह ९, बोक्सीको आरोप ४, अवैध गर्भपतन १, जातीय छुवाछुत १४, अप्राकृतिक मैथुन ३, बालयौन दुरुपयोग र बालयौन दुर्व्यवहार १६, मानव बेचबिखन र जबरजस्ती करणी ४, अपहरण र जबरजस्ती ८, जबरजस्ती करणी गरी कर्तव्य ज्यान २ र घरेलु हिंसाका ८७३ घटना दर्ता भएका छन् ।

प्रतिक्रिया