शनिबार, जेठ ५, २०८१

‘यौनहिंसाका घटनामा पीडितले बयान फेर्दा न्याय दिलाउन गाह्रो भइरहेको छ’

नेपालखोज २०७८ असार १६ गते ११:१८

महिला भएकै कारण समाजमा गरिने विभिन्न विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा र उनीहरुको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघात नै महिला हिंसा हो ।


महिला हिंसाका घटना हरेक वर्ष होइन, महिना होइन हरेक दिन बढिरहेका छन् । हरेक दिन महिला हिंसासम्बन्धीका घटनाहरू सार्वजनिक भइरहेका हुन्छन् । यस्तो कुनै दिन भेटिँदैन जुन दिन, कुनै महिला हिंसामा परेको घटना नभएको होस् । हरेक वर्ष महिला हिंसाविरुद्धको अभियान चलाइन्छ, हिंसा कम गर्न भन्दै विभिन्न संस्थाहरू पनि लागि परेका हुन्छन्, हिंसा रोक्नैका लागि भनेर सरकारले पनि विभिन्न योजनाहरू ल्याइ रहेकै हुन्छ, पनि तर महिला हिंसाका घटना घट्नुको साटो बढिरहेका छन् । महिला हिंसा नियन्त्रण गर्न नसकेको आरोपमा सरकार पनि दिनप्रतिदिन आलोचित नभएको होइन् । भनिन्छ, राज्य समाजको प्रतिबिम्ब हो। समाजको चरित्र जस्तो हुन्छ, राज्यको चरित्र पनि त्यस्तै हुन्छ। अवश्य पनि बलात्कार, हत्याजस्ता महिला हिंसाका घटना कम गर्न राज्यको जिम्मेवारी सबैभन्दा बढी हुन्छ । तर, राज्य त्यस्तो गर्न सकिरहेको छैन । वार्षिक रुपमा नयाँ नयाँ योजनाहरू पनि नल्याएको होइन सरकारले ल्याइरहकै छ तर पनि सरकार चुकिरहेको छ । 
आखिर किन भइरहेका छन् होला त महिला हिंसा ? यसमा जिम्मेवार को ?महिला हिंसासम्बन्धी घटना कम गर्न के गर्नुपर्ला ? लगायत विविध विषयमा वरिष्ठ अधिवक्ता मीरा ढुंगानासँग नेपालखोजकी मीना साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ वरिष्ठ अधिवक्ता ढुंगानासँग गरिएको कुराकानी :

महिला हिंसा केलाई भनिन्छ ?
महिला हिंसा धेरै छन् । महिलालाई शारीरिक, मानसिक, यौनिक र मनोवैज्ञानिक रूपमा हानि गर्ने जुनसुकै कुराहरू महिला हिंसा हुन् । त्यस्तै महिला भएकै कारण समाजमा गरिने विभिन्न विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा र महिलाको आत्मसम्मानमा पुर्‍याइने सबै किसिमको आघात नै महिला हिंसा हो । जस्तो सामान्य रुपमा भन्दा महिलालाई कामकै बोझ बढी हुनु पनि महिला हिंसा हो । आराम गर्ने समय हुँदैन ऊसँग । त्यस्तै आर्थिक हिंसा, सामाजिक हिंसा, यौनजन्य हिंसा, मनोवैज्ञानिक हिंसाहरू हुन्छ । सामाजिक हिंसाका कारणले उसले मलाई यो हिंसा भयो भनेर बोल्न सकिरहेको हुँदैन । महिलाहरूलाई परनिर्भर बनाएर राखिएको हुन्छ, त्यसलाई आर्थिक हिंसा भनिन्छ । खान, लगाउन पाउनु भनेको त सबैभन्दा ठूलो अधिकार हो । अझ नेपालको कानुनले आर्थिक हिंसालाई हिंसा हो भनेर मानिरहेको अवस्था थिएन । त्यो पनि हिंसा हो । हाम्रो समाजमा थुप्रै किसिमका हिंसाहरू भइरहेका हुन्छन्, तर त्यो हिंसा हो भनेर महिलाले महसुस पनि गर्न सकेका हुँदैनन् ।

नेपालमा महिला हिंसा घटनाको पछिल्लो अवस्था कस्तो छ ?
महिला हिंसाका घटना बढ्दै गएका छन् । यो निषेधाज्ञामा पनि यस्ता घटना बढेकै छन् र अघिल्लो वर्षको लकडाउनमा त झन एकदमै बढी घटना भएका थिए । हामीलाई नै एकदमै बढी त्यस्ता घटनाहरू भएका सूचनाहरू आएको थियो । यो कोरोना संक्रमण पछि नेपालमा मात्रै होइन सिंगो विश्वमै महिला हिंसाका घटना अत्यधिक बढेका छन् । यतिबेलाको निषेधाज्ञामा यत्ति नै घटना भए भन्ने तथ्यांक त मैले हेरेको छैन तर पनि महिला हिंसाका घटना त धेरै नै भएका छन् । घटनाहरू भएका फोनहरू आइरहेका छन्, अदालतहरू खुल्न सकेका छैनन् । वैकल्पिक बाटो अपनाएर जान परिरहेको छ । विभिन्न कारणले अधिकारबाट नै वञ्चित हुने हो कि भन्ने अवस्था आइरहेको छ ।

किन बढ्दै छन् महिला हिंसाका घटना ?
सबैभन्दा हाम्रो समाजमा रहेको पितृसत्तात्मक सोच र मूल्यमन्यताका कारण समाजमा सबैभन्दा बढी महिला हिंसासम्बन्धी घटना भइरहेका छन् । नेपालको कुरा गर्ने हो भने कानुन आयो । कानुन आउँदा पनि त्यो कार्यान्वयन भएको छैन । जस्तो- छोरीले पनि छोरासरह अंश पाउने भनेर जुन कानुन आयो नि, त्यसले पनि आर्थिक रुपमा निर्भर हुन सक्थ्यो नि त ? तर त्यो त छोराहरूको मात्रै अधिकार हो भन्ने किसिमले छोरीहरूलाई नदिइरहेको अवस्था छ । त्यो पनि हिंसा हो । यो अधिकार महिलाहरूको हो भनेर मान्छेहरूले सोच्दै सोच्दैन । यस्ता यस्तै विभिन्न कारणहरूले हिंसा बढिरहेका छन् ।

महिला हिंसासम्बन्धी घटनाहरू दैनिक रुपमा भइरहेका हुन्छन् । तर सबै घटना प्रहरीसम्म आइपुग्दैनन् किन होला ?
धेरै हिंसामा परेका महिलाहरूलाई त आफू हिंसामा परेको कुरा कहाँ कसलाई उजुरी गर्ने भन्ने कुराको नै जानकारी हुँदैन । अब त्यो जानकारी लिने कसले भन्दा घरको मूली मान्छे । फेरि त्यो पनि पुरुष नै हुन्छ । कहाँ जाने, कसो गर्ने, के गर्ने भन्ने कुरा नै पुरुषमा भर पर्नुपर्ने हुन्छ । फेरि घरमा पुरुषबाटै हिंसा सुरु हुन्छ । अर्को बढी हिंसा हुनुको कारण हो, वैवाहिक परम्परा । विवाह गरेर पुरुषकै घरमा जानुपर्ने परम्परा । अर्काको घरमा त म बोल्न पनि सक्दिनँ, तेरो बोल्ने अधिकारै छैन भन्छन् त्यो घरकाले पनि अनि आफू जन्मेको घरमा पनि तेरो अधिकार छैन भन्ने खालका कुराहरू भइरहेका हुन्छन् जसले गर्दा समाजमा सबैभन्दा बढी हिंसाका घटना हुन्छन् । तर सबै घटनाहरू बाहिर आउँदैनन् । अझ कतिपय घटनाहरू त पीडितलाई डर, धम्की, लालच दिएर समाजमै समासुम पारिन्छ भने यौन हिंसाका कुरा बाहिर आउँदा प्रायः पीडितकै चरित्रमाथि प्रश्न उठ्ने डरले पनि यस्ता घटना भित्रभित्रै मिलाउने प्रयास भइरहेका छन् ।

हिंसामा परेका प्रायः महिलाहरूले आफ्नो बयान फेर्ने गरेको पाइन्छ । के कारणले हुन सक्छ ?
सबैभन्दा पहिलो कुरा उजुरी गरिसकेपछि कहाँ गएर बस्ने ? उजुरी त गर्‍यो तर अब कहाँ गएर बस्ने ? के खाने त ? हिंसा त्यही घरबाट भएको छ त्यसैविरुद्ध उजुरी गर्‍यो भने भोलि अर्को समस्या सिर्जना हुन्छ भन्ने खालको त्रासका कारण जहाँसम्म महिलाहरूले उजुरी नै दिँदैनन् दिइहाल्यो भने पनि बयान फेर्ने गर्छन् । अर्को पीडक पक्ष शक्तिशाली भएको अवस्थामा पनि पीडितहरूले बयान फेर्ने गरेको पाइन्छ । संरक्षणको अभावमा पनि पीडितले आफूले लगाएको आरोप र आरोपित व्यक्तिबारे बयान फर्ने गरेका हुन्छन् । मानसिक रूपमा एकदमै बलिया अनि न्यायका लागि लड्नै पर्छ भन्ने महिलाबाहेक अन्य धेरैले विभिन्न कारणले बयान फेरिरहेका हुन्छन् ।

प्रायः महिला हिंसासम्बन्धी घटनामा न्याय दिन कठिन भइरहेको देखिन्छ । खासगरी कस्ता घटनामा न्याय दिन कठिन हुन्छ ?
यदि कुनै कारणवश पीडितले बयान फेर्यो भने न्याय दिन कठिन हुन्छ भने विशेषगरी यौनहिंसाजन्य घटनाहरूमा पीडितलाई न्याय दिलाउन कठिन भइरहेको हुन्छ । अझ बलात्कारको घटनाभन्दा बलात्कारको प्रयासको वा अन्य प्रकृतिका यौन हिंसामा पीडितले बयान फेरिदिँदा न्याय दिलाउन कठिन भइरहेको हुन्छ । अर्को न्याय दिने व्यक्तिमा पनि भर पर्न सक्छ ।

बर्सेनि महिला हिंसाविरुद्धको अभियान चलाइन्छ, हिंसा कम गर्न विभिन्न संस्थाहरूले पनि काम गरिरहेका छन्, हिंसा रोक्नैका लागि भनेर सरकारले पनि विभिन्न योजना ल्याइरहकै हुन्छ, तर यस्ता खालका घटना घट्नुको साटो बढ्दै गइरहेको देखिन्छ । के गर्न सक्यो भने महिला हिंसासम्बन्धी घटना रोक्न सकिन्छ वा कम गर्न सकिन्छ ?
विभिन्न सचेतनामूलक कार्यक्रम ल्याउनुपर्‍यो । हिंसा एकदमै बढी हुनुको पछाडि महिलालाई एउटा वस्तुका रुपमा हेरिराखिएको छ । महिला एउटा वस्तु होइन मानव हो भनेर साबित गरेर देखाउनैका लागि हरेक क्षेत्र, तह-तप्काबाट कार्यक्रम गर्नुपर्छ । विशेषगरी यस्ता कार्यक्रम मूल रुपमा सरकारबाटै आउनुपर्‍यो अनि त्यो कार्यक्रममा हामी सबैले हातेमालो गरेर अगाडि बढ्न सक्यो भने यस्ता घटना कम गर्न मद्दत पुग्नेछ ।

प्रतिक्रिया