शनिबार, जेठ ५, २०८१

‘खोप नलगाए नयाँ भेरियन्ट उत्पत्ति हुने सम्भावना उच्च हुन्छ’

नेपालखोज २०७८ असार १८ गते १८:५७

कोरोनाको लहर त तेस्रो, चौथो, पाँचौं, छैटौं अनि सातौं पनि आउन सक्छ

जबसम्म हामी खोप लगाउँदैनौं तबसम्म नयाँ भेरियन्टहरू आइरहन्छन्

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँमा जारी निषेधाज्ञा यतिबेला खुकुलो पारिएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न तथा संक्रममण थप फैलिन नदिन भन्दै गत वैशाख पहिलो सातादेखि निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । यद्यपि, काठमाडौं उपत्यकामा भने वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । नेपालमा २०७६ को चैतमा पहिलो लहरको कोरोना संक्रमण फैलिएको थियो । जुन लहरले सम्पूर्ण क्षेत्र तहसनहस बनायो । पहिलो लहरको संक्रमण विस्तारै कम हुँदै आमनागरिक भर्खरै सामान्य अवस्थातर्फ फर्किंदै गरेका थिए । फेरि २०७८ वैशाख पहिलो सातादेखि नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएर देशभर संक्रमण लगभग नियन्त्रणबाहिर गइसकेको थियो । धेरै अस्पतालहरूले संक्रमितलाई आवश्यक पर्ने अक्सिजन पुर्‍याउन सकिरहेका थिएनन् । अक्सिजनको अभावमा धेरैले ज्यान पनि गुमाए । तर, अहिले भने फेरि संक्रमणदर कम हुँदै गएको छ । कतिपय जिल्लामा संक्रमण शून्यमा झरिसकेको छ । तर, पछिल्लो समय सरकारले परीक्षणको दायरा घटाउँदै लिएको र निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको भिडभाड पनि बढ्दै गएको भन्दै नेपालमा फेरि कोरोनाको तेस्रो चौथो लहर पनि आउन सक्ने विज्ञहरूले सतर्क रहन सुझाव दिइरहेका छन् । यस्तैयस्तै विषयवस्तुमा हामीले जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा यतिबेला निषेधाज्ञा खुकुलो पारिएको छ । जसले गर्दा नागरिकको भिडभाड पनि बढेको छ ? यो भिडले फेरि कोरोना संक्रमण बढ्न सक्ने जोखिम छ ?
त्यो त अवश्य पनि छ । जससम्म राज्यले खोपको सुनिश्चित गर्दैन सबै जनसंख्यामा तबसम्म संक्रमण फेरिफेरि फैलिने जोखिम रहिरहन्छ । मानिसहरूको हिँड्डुल सधैंभरि रोकिरहन सकिँदैन । मानिसहरू काममा जानैपर्छ । हिँड्डुल भइरहन्छ । योसँगै अन्य क्रियाकलापहरू भइरहन्छन् । कोरोनाको संक्रमण हाम्रो समाजमा रहिरहेसम्म थप व्यक्तिहरूमा सर्न सक्ने सम्भावना सधैं रहिरहन्छ । जहाँ संक्रमण बढी छ त्यहाँ अवस्था हेरेर लकडाउन अथवा निषेधाज्ञा थपघट गर्न सकिन्छ । नभए कि सबै जनसंख्याले खोप लगाउन पर्‍यो कि सबै जनसंख्या संक्रमण पार गरेर मुक्त हुनुपर्‍यो । नत्र यो क्रम चलिरहन्छ । संक्रमण बढ्ने, लकडाउन हुने फेरि संक्रमण घट्ने लकडाउन खुल्ने क्रम चलिरहन्छ ।

सरकारले अहिले गरेको निषेधाज्ञाको तरिका सही छ ?
सरकारले निषेधाज्ञा गर्दा पनि यतिबेला गर्ने कि नगर्ने ? कुन लेबलमा गर्ने भन्ने कुरा एकदमै स-प्रमाण, तथ्यांकसहित विचार गरेर, विज्ञहरूसँग सुझाव सल्लाह लिएर मात्रै गर्नुपर्छ । न कि एकैचोटि झ्याम्मै बन्द गर्ने अनि एकैचोटि खोल्ने गर्नु हुँदैन । मिलाएर सेवाहरू हेरेर, विकल्पहरू दिएर मात्रै गर्नुपर्छ । मनलाग्दी रुपमा गर्नु उपयुक्त हुँदैन यसले जनतालाई दुःख मात्रै हुन्छ ।

सार्वजनिक सवारीबाट कोरोनाको संक्रमण बढ्न सक्ने जोखिम कतिको हुन्छ ?
मान्छे सडकमा आउनेबित्तिकै जोखिम उत्तिकै पनि बढेर जान्छ । जोखिममै हुन नदिनका लागि त मान्छेलाई थुनेको थुन्यै गरी राख्नुपर्‍यो । थुनेको थुन्यै गरेर राख्न सक्छौं कि सक्दैनौं ? सकिन्छ भने कहिलेसम्म ? राज्यले परीक्षणलाई एकदमै व्यापक अनि निरन्तर गरेर अनि जबजब मान्छे संक्रमित भनेर देखिन्छ उसलाई छुट्टयाउन सक्नुपर्छ । त्यो गर्‍यो भने खुकुलो पार्दै अघि भन्न सकिन्छ । राज्यले न परीक्षणलाई बढाउन सक्ने, नखोप दिन सक्ने अनि मान्छेलाई थुनेर मात्रै हुँदैन । अब अवज्ञाहरू हुन थाल्छन् ।
आमनागरिकलाई जीवन गुजारा गर्न गाह्रो भइसकेको छ । त्यसैले राज्यले यस्तो कुराहरूमा एकदमै विचार पुर्‍याउनुपर्छ । सीडीओ’साबहरूले पनि ठप्प पारे । मैले सडक एकदमै सुनसान पारें भन्ने कुरामा उहाँहरूले गौरव मान्नु पर्दैन । संक्रमण फैलिने जोखिम पहिलो पनि थियो अहिले पनि छ । तर, त्यसको समाधानचाहिँ टोलटोलमा, वडावडामा र्‍यापिड एन्टिजेन टेस्टहरू गरेर निगरानी गरिराख्नुपर्‍यो । जब अलि बढी नै संक्रमण छ जस्तो लाग्छ त्यसबेला कडिकडाउ गर्ने, होइन अलि कम छ जस्तो लाग्छ भने सामान्य रुपमा अगाडि बढ्न दिनुपर्छ । त्यो गर्नु एकदमै जरुरी छ ।

नेपालमा कोरोनाको तेस्रो चौथो लहर पनि आउँछ भनिएको छ । यो आउन सक्ने सम्भावना छ ?
लहर त तेस्रो, चौथो, पाँचौं, छैटौं अनि सातौं पनि आउन सक्छ । यो सबै कुरा अब खोपमा निर्भर हुन्छ । ३० देखि ४० प्रतिशत जनसंख्यालाई खोप लगाउन सक्यौं र बाँकी २० देखि ३० प्रतिशत जनसंख्या संक्रमणमुक्त हुन्छ भने लहरहरूले केही पनि फरक पर्दैन । लहर त आउँछ तर त्यसले व्यापकता लिन पाउँदैन । तर, त्यो गर्न यदि सकेनौं भने सबैलाई सधैंभरि थुनेर पनि राख्न सकिँदैन । मान्छे सडकमा निस्कियो कि लहरहरू त आउँछ-आउँछ । त्यसमा कुनै आशंका नै छैन । जबसम्म हामी खोप लगाउँदैनौं तबसम्म नयाँ भेरियन्टहरू आइरहन्छन् । खोप नलगाएको जनसंख्यामा नयाँ-नयाँ भेरियन्टहरू उत्पत्ति हुने सम्भावना उच्च हुन्छ । खोप लगाएको जनसंख्यामा त्यो सम्भावना कम हुन्छ । यो सबै खोपमा भर पर्छ । खोप लगाउन सक्नेलाई खोप लगाउनुपर्‍यो । नभए परीक्षणलाई व्यापक बनाउनुपर्‍यो । र्‍यापिड एन्टिजेन टेस्ट हरेक वडा, हरेक टोलटोलमा गएर हरेक साता धेरैभन्दा धेरै मान्छेमा गर्नुपर्‍यो । त्यो गर्न सक्यो भने संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिन्छ । नत्र त लहरहरू आइरहन्छन् ।

यो नयाँ-नयाँ भेरियन्ट कसरी आउँछ ?
सामान्य भाषामा भन्दा यो भेरियन्ट भनेको भाइरसले प्रकार परिवर्तन गर्नु हो । भाइरसले आफ्नो अस्तित्व जोगाइ राख्न पनि उसले प्रकार परिवर्तन गरिरहनुपर्ने हुन्छ । नत्र शरीरले उसलाई चिन्न थालेपछि त शरीरले उसलाई मारिहाल्छ । शरीरलाई झुक्याउन पनि उसले आफ्नो प्रकार परिवर्तन गरिरहेको हुन्छ । उसले आफ्नो अस्तित्व परिवर्तन गरेपछि मानव शरीरभित्र बस्न सक्ने अवस्था सिर्जना हुन्छ । संक्रमणले अस्तित्व परिवर्तन गर्नु भनेकै भेरियन्टहरू बनाउनु हो । त्यो भनेको उसको साधारण प्रक्रिया हो । त्यो हरेक भाइरसले गर्छन् । तर त्यो गरुन्जेल हामीहरूलाई जहिले पनि जोखिम रहिरहन्छ ।

यसभन्दा पछि आउने लहर कस्तो खालको हुन सक्छ ?
यसभन्दा पछि आउने लहर कडाखालको हुन्छ कि नरम खालको हुन्छ त्यो त अहिले नै भन्न सकिने अवस्था छैन । किनभने, लहर कडा खालको या नरम खालको कस्तो रहने भन्ने कुरा लहर केले गर्दा आएको हो भन्ने कुरामा भर पर्छ । नयाँ खतरनाक भेरियन्ट भयो भने त्यो अझ बढी कडाखालको हुन्छ तर होइन यस्तै सामान्य भेरियन्ट आयो भने त जनसंख्यामा खोप लगाएर निको भइसकेका धेरै छन् भने त लहरहरू कमजोर हुन्छन् । सामान्य रुपमा समाजमा प्रतिरक्षा प्रणाली विकसित भइसकेको जनमानस छ । खोपबाट अथवा संक्रमणमुक्त भएर भने त्यस्तो बेलामा लहरहरू कमजोर हुँदै जान्छ । तर होइन प्रतिरक्षा प्रणाली विकसित नभएको समाज छ भने त्यहाँ थप कडा हुन्छ । त्यो हेरिहेरि हुन्छ । अहिले नै ठ्याक्क भन्न सकिन्‍न ।

यसभन्दा पछि कुनै पनि लहर आउनै नदिनका निम्ति आमनागरिक र सरकारले कस्तो भूमिका खेल्नुपर्ला ?
१) सरकारले बढीभन्दा बढी नागरिलाई कसरी खोप लगाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्‍यो ।
२) हरेक टोल-टोल, गाउँगाउँमा परीक्षणलाई व्यापक बनाउनुपर्‍यो ।
३) आमनागरिकले कामबाहेक अनावश्यक भिडमा जाँदै नजाने ।
४) जनस्वास्थ्यका मापदण्डलाई नियमित अनि जिम्मेवारपूर्ण रुपमा पालना गर्ने ।

प्रतिक्रिया