शनिबार, जेठ ५, २०८१

‘मोतिविन्दुको समस्या पहाडमा भन्दा तराईमा बढी’

नेपालखोज २०७८ असार १९ गते १८:४१

आँखा उपचारमा नेपाल सक्षम छ

काठमाडौं । आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील अंग हो । आँखा मानिसलाई प्रकृतिले दिएको एउटा उपहार हो । शरीरका पाँच इन्द्रीयमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ आँखा । कुन राम्रो-नराम्रो भनेर छुट्याउन पनि आँखाले मद्दत गर्छ । अहिलेको विज्ञान तथा प्रविधिको युगमा हरेक मानिसको हात-हातमा मोबाइल अनि हरेकका घर-घरमा टेलिभिजन छन् । इन्टरनेट र विज्ञान प्रविधिको जमानालाई सदुपयोग गर्दै यी साधनहरुको अत्यधिक प्रयोग गरिँदा अहिले साना बालबालिकादेखि वृद्धवृद्धा सबै उमेर समूहले नै चस्मा लगाउनुपर्ने वा आँखासम्बन्धी विभिन्न समस्या बढ्न थालेको तपाईं-हामीले प्रत्यक्ष देखिरहेका छौं । अहिले धेरैजसो मानिसहरु आँखाको समस्या लिएर अस्पताल धाइरहेका हुन्छन् । धेरै फोन चलाउने, धेरै टेलिभिजन हेर्नाले आँखामा अत्यधिक समस्या देखापर्छ । त्यसैले यस्ता वस्तुहरुको प्रयोग कम गर्न डाक्टरहरु सुझाव दिन्छन् । यस्ता खालका आँखासम्बन्धी समस्याहरु ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी देखिन थालेको छ । सागपात बढी खाने, कम मात्रमा मोबाइल फोन चलाउने, धुवाँधुलोबाट टाढा रहने गर्नाले आँखा स्वस्थ राख्न मद्दत गर्छ । यस्तैयस्तै आँखासम्बन्धी समस्याका विषयमा हामीले नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर तथा एभरेस्ट आई सेन्टर चाबहिलका डाइरेक्टर डा. कमल खड्कासँग कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. खड्कासँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :

नेपालमा आँखाको समस्या कस्तो छ ?
पछिल्लो समय नेपालमा आँखाका रोगीहरु बढिरहेका छन् । अहिलेको प्रविधिको युगमा मोबाइल फोनहरुको बढी प्रयोग, कम्प्युटरलगायत इलेक्ट्रोनिक साधन तथा वायुप्रदूषण अनि सहर बजारमा हुने धुवाँधुलोका कारण आँखासम्बन्धी समस्याहरु बढी नै देखिन थालेका छन् । त्यसमा पनि सबैभन्दा बढी मोतियाविन्दुको समस्या बढी छ । दोस्रोमा मधुमेहका बिरामीमा हुने आँखाको समस्यालाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । यसले अन्यको तुलनामा आँखामा असर दुई गुणा बढी र दृष्टिविहीन हुने सम्भावना पच्चीसौं गुणा बढी हुन्छ । डाइबेटिक रेटिनोपेथीमा मधुमेहले खास गरी रक्तनशाहरूमा असर गरी पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने, सुन्निनेजस्ता समस्या हुन्छन् । पछिपछि रक्तसञ्चारमा कमी हुन गई पर्दा खुम्चने, आँखाभित्र अत्यधिक रक्तस्राव हुने र अन्त्यमा जलविन्दुको समस्या देखापर्ने हुन सक्छ । यही कारण मधुमेहका रोगीहरूले आँखा कम देख्ने गर्छन् । समयमा रोग पहिचान गरी उपचार गर्न सके मधुमेहबाट हुने दृष्टिविहीनताबाट पूर्ण रूपमा बच्न सकिन्छ । त्यस्तै, तेस्रोमा धेरै मोबाइलहरु हेर्ने, ल्यापटप चलाउने, अनलाइन क्लासलगायत कारणले बालबालिकाहरुमा आँखामा ड्राइनेस (सुक्खापना) हुने समस्या पनि देखिन थालेको छ ।

नेपालमा कुन उमेर समूहका मानिसमा बढी आँखाको समस्या छ ?
हो त हेरिहेरी सबै उमेर समूहमा देखिन्छ । जस्तो, ४० देखि ५० वर्ष उमेर समूहमा मोतियाविन्दुको समस्या धेरै हुन्छ । त्यसमा पनि चिसो ठाउँमा बस्ने मानिसहरुमा त्यस्तो समस्या कम हुन सक्छ भने तराई क्षेत्रमा बसोबास गर्नेहरुमा बढी हुन्छ । त्यस्तै, डाइबेटिक रेटिनोपेथी अनि जलविन्दु पनि ४० देखि ५० वर्ष उमेर समूहमा बढी देखिन्छ । भने रेफ्रेक्टिभ एरर, ड्राइनेस बालबालिकाहरुमा बढी हुन्छ ।

आँखासम्बन्धी समस्या भूगोलको हिसाबले पनि फरक हुन्छ ?
अवश्य पनि हुन्छ । विशेषगरी मोतियाविन्दुको समस्या भूगोलको हिसाबले पनि फरक हुन्छ । जस्तो- तराई क्षेत्रमा गर्मी बढी हुन्छ । त्यसले गर्दा पसिना बढी बग्छ, डिहाइड्रेसन हुन्छ । त्यसले गर्दा आँखाको लेन्समा परिवर्तन आउँछ । मोतियाविन्दुले आँखो लेन्समै बढी असर गर्ने हुन्छ त्यसैले बढी गर्मी हुने ठाउँमा यसको असर पनि बढी हुन्छ भने कम गर्मी हुने पहाडी क्षेत्रहरुमा यसको असर अलि कम नै हुन्छ ।

कोभिड-१९ का बिरामीमा आँखा बिगार्ने खालको कालो ढुसी देखिने समस्या सुरु भएको छ । यो कस्तो प्रकारको रोग हो ?
यो रोग ढुसीले नै प्रभाव पर्ने एक खालको रोग हो । यसले इम्युनिटी पावर कम भएका र वृद्धवृद्धाहरुलाई बढी असर गर्दछ । कोरोना संक्रमण भएका व्यक्तिमा अवश्य पनि इम्युनिटी कम नै हुन्छ । त्यसैले यसले कोरोना संक्रमितहरुलाई प्रभाव पार्दछ । यसले आँखालाई मात्रै होइन नाकभित्र, घाँटीमा, मुटुका साथै नाकबाट दिमागमा पनि असर गर्दछ । यसले दिमागमा असर गर्ने भएको हुँदा यो भएकाहरुमा मृत्युदर उच्च हुन्छ । यदि कसैको मृत्यु भएन भने आँखामा यसले अन्धोपना नै ल्याउने गर्छ ।

आँखाको क्यान्सर कसरी हुन्छ ?
आँखाको क्यान्सर बच्चामै हुन्छ । ठूलो भएर हुँदैन । ५ वर्षभन्दा मुनिका बालबालिकामा यस्तो समस्या देखिने गर्छ । आँखाको क्यान्सर भएकाहरुमा मृत्युदर उच्च हुन्छ । हाम्रो आँखामा जुन रेटिना हुन्छ । त्यो सेल्फ म्युटेट भएको हुन्छ जसलाई हामीले रेटिनोब्लास्टोमा भन्छौं । आँखाको क्यान्सर भएका धेरै बच्चाहरुको मृत्यु नै हुन्छ । हुन त यो अत्यन्तै कम मात्रै हुन्छ । तर आँखाको क्यान्सरको समस्या नेपालमा मात्रै होइन विश्वमै छ ।

आँखाको क्यान्सर भएको कसरी थाहा पाउन सकिन्छ ? अथवा यसका लक्षण कस्ता हुन्छन् ?
हेरेर थाहा पाउन सकिन्छ । पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनुका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखापर्न सक्छ । साथै आँखाको क्यान्सर भएका बच्चाको आँखा पनि हामीले राति बिरालोको आँखामा हेर्दा जस्तै टल्किन्छ । जसलाई क्याट आई रिफ्लेक्स भनिन्छ । त्यो देखिन्छ ।

आँखासम्बधी सबै रोगको उपचार नेपालमै सम्भव छ कि छैन ?
आँखाको उपचारका लागि नेपाल एकदमै सक्षम छ । जति पनि बाहिरी मुलुकहरुमा आँखाको उपचारका लागि आवश्यक पर्ने हाई-टेक्नलोजीहरु छन् ती सबै टेक्नलोजीहरु नेपालमा छन् । आज भन्दा २० र २५ वर्षअघि अहिलेको जस्तो विकास भएको थिएन । जसले गर्दा आँखाको उपचारका भारतका विभिन्न सहरहरुमा जानुपर्ने बाध्यता थियो । तर अहिले हामी आँखाको उपचारका लागि सक्षम छौं । कुनै पनि आँखाको उपचारका लागि बाहिरी मुलुकमा जानु पर्दैन बरु अन्य मुलुकका मानिसहरु नेपाल आउँछन् ।

कस्तो अवस्थामा आँखाको दृष्टि नै गुम्न सक्छ ?
कुनै पनि आँखासम्बन्धी समस्या छ, त्यसको लामो समयसम्म पनि उपचार गरिएन भने अन्तिममा त्यसले आँखाको ज्योति गुम्छ । जस्तो- मोतियाविन्दुको समयमा शल्यक्रिया गरिएन भने त्यसले जलविन्दु हुन्छ । जल विन्दु भइसकेपछि त्यसको उपचार गरिए पनि प्रभावकारी हुँदैन् । आँखासम्बन्धी अन्य कुनै पनि समस्या छन् तर त्यसको समयमा उपचार गरिएन भने त्यसले अन्धोपना ल्याउँछ । त्यसैले आँखाको जुनसुकै समस्या छ भने पनि यसको समयमै उपचार गर्न एकदमै आवश्यक छ ।

आँखामा कुनै समस्या आउनै नदिन के गर्नुपर्छ ?
१. हरेक ४० वर्ष कटिसकेका मान्छेहरुले वर्षमा एकपटक आँखाको अनिवार्य जाँच गराउनु पर्दछ । ताकि कुनै समस्या छ भने पत्ता लगोस् र त्यसको समयमै उपचार होस् ।
२. प्रविधिको प्रयोग सकेसम्म कम गर्ने ।
३. डाक्टरहरुको सल्लाहअनुसार यदि चस्मा लगाउनुभएको छ । भने समयमा जाँच गराउनुपर्‍यो ।
४. बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नुअगाडि आँखाको जाँच गराएर मात्रै भर्ना गराउने ।
यसरी साना साना दुई-चारवटा कुरामा हामीले समयमै ध्यान दिन सक्यौं भने यसले भविष्यमा हुन सक्ने ठूलो हानिबाट जोगाउँछ । सबैभन्दा मुख्य कुरा हामीहरुले आँखासम्बन्धी कुनै समस्या छ भने समयमै डाक्टरहरुको सुझाव लिन अत्यन्तै जरुरी हुन्छ ।

प्रतिक्रिया