मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा निष्पक्ष छानबिनकाे माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रासस २०७८ असार २१ गते १४:२१

चितवन । मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका-३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

स्थानीयवासीले पूर्व-पश्चिम राजमार्गमा सवारी तेस्र्याएर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन् । घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिका प्रमुख प्रभा बरालले आफूहरु छलफलमै रहेको बताए ।

शव ल्याउन अवरोध गरेपछि सो स्थलमा नगर प्रमुख बराल पुगेर सहजीकरणमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीयवासीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

तस्बिर : सामाजिक सञ्जाल

रासस

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया