आइतबार, वैशाख ३०, २०८१

कोही व्यक्ति भाइरल किन र कसरी हुन्छ ?, नियन्त्रण गर्ने कसले ?

‘उजागर गर्ने भनेको नङ्ग्याउनुपर्छ भनेको होइन, सही के हो गतल के हो भन्ने देखाइ दिनुपर्छ भनेको हो ।’

जगत भण्डारी २०७८ असार २३ गते १४:३४

सामाजिक सन्जालमा भाइरल हुने प्रवृत्ति बढ्दै, मिडियाको भूमिका के हो ?


काठमाडौं । सन् २००० देखि विश्वव्यापी रूपमा सुरु भएको सोसल मिडियाको युग अर्थात् सामाजिक सन्जाल (फेसबुक-ट्‌विटरलगायत) नेपालमा खासगरी २००८ देखि व्यवहारिक प्रयोगमा आयो । १२ वर्षको अवधिमा इन्स्टाग्रामदेखि युट्युब हुँदै अहिले टिकटक बढी प्रयोगमा आएको देखिन्छ । पछिल्लो केही वर्षयता त केही साइटमार्फत झुटा र कपोकल्पित सूचना समाचार पनि दिने गरिएको छ ।

ट्‌विटर स्ट्यान्डर्ड र लिमिटेड शब्द राख्न मिल्ने भएकाले यसमा आममानिसको भन्दा बौद्धिक मानिने/भनिनेहरू बढी चलाउँछन् । फेसबुक प्रायः सबैले चलाउँछन् । यसमा आफ्ना तस्बिरदेखि विचार, मनोभावना सजिलै पोख्न सकिन्छ । तर कतिपयका लागि भने यो भाइरल बन्ने र पैसा कमाउने माध्यमका रुपमा स्थापित हुन थालेको छ ।

फेसबुकदेखि युट्युब हुँदै टिकटकसम्म भाइरल हुनेहरूको सूची नेपालमा लामै बनिसकेको छ । कोही टिकटकमा नाचेर मोडेल बनेका छन् त कोही नेता । आफ्नो रोजीरोटीका लागि तेस्रो मुलुक गएकाहरूसँग सहयोग मागेर दु:खीलाई दान गर्ने कथित दाता (अभियानकर्मी) ले सामाजिक सन्जालको प्रयोगमार्फत आफूलाई समाजमा छुट्टै परिचय बनाएका छन् ।

कतिपय त भाइरल बन्नको लागि दिनहुँजसो युट्युबमा अन्तर्वार्ता दिनेदेखि हरेक ५ मिनेटमा विश्वका जुनसुकै कुनाका मात्रै होइन सारा ब्रह्माण्डका सूचना/समाचार पोस्ट गर्नेहरू पनि यहीँ छन् । त्यतिले मात्र नपुगेर उनीहरूले एक-अर्कामाथि आरोप प्रत्यारोप, गाली-गलौज असभ्य शैलीमा राख्ने र अपुष्ट खबरहरू बाँडिरहेका हुन्छन् । केही त चौबीसै घण्टा यी माध्यमबाट खराब (हानिकारक) सूचना, भ्रम र अनर्गल सामग्रीहरू छरिरहेका हुन्छन् ।

तर हाम्रो मुलुकमा यिनीहरूलाई नियमन नियन्त्रण गर्ने न त सरकारी संयन्त्र छ न त ऐन कानुन नै । त्यसैले होला उनीहरूमध्ये केही कहिलेकाहीँ पक्राउ पर्ने र लगत्तै छुट्ने गरेका समाचारहरू हामी सुनिरहेका हुन्छौं ।

यस्ता प्रवृत्तिबाट समाजलाई मुक्त गर्न के गर्नुपर्छ त ? प्राध्यापक डाक्टर सुधांशु दाहाल उनीहरूलाई नियन्त्रण, नियमन गर्नेभन्दा पनि एक्सपोज (उजागर) नै गर्नुपर्ने बताउँछन् । ‘खराबलाई खराब र सहीलाई सही हो भनेर मूलधारको मिडियाले अगाडि ल्याउनुपर्छ तब मात्र समाजले गलत र सही के हो भन्ने जानकारी पाउँछ,’ उनी भन्छन्, ‘उजागर गर्ने भनेको नङ्ग्याउनुपर्छ भनेको होइन, सही के हो गतल के हो भन्ने देखाइ दिनुपर्छ भनेको हो ।’

सामाजिक सन्जाललाई वैयक्तिक रुपमा मानिसले चलाउने भएकाले सरकारले नियन्त्रण गर्न सम्भव नहुने उनी बताउँछन् । ‘कुनै खराब प्रवृत्तिको मानिसको सन्जाल राज्यले बन्द गरिदिएर मात्र यो नियन्त्रण हुने सम्भावना हुँदैन आज एउटा बन्द गर्‍यो भोलि दशवटा अरु आउँछ त्यस्तो बेला के गर्ने ? त्यसैले मूलधारका मिडियामा यो बहस थाल्नुपर्छ । अहिले भाइरलको सूचीमा रहेका मुख्य दशजना मानिसको विचारले नै मुलुक नियन्त्रित छ त ? यिनीहरूद्वारा नै समाज निदृष्ट छ ? यिनै मानिसको पोस्टले व्यक्ति, समाज र देशको समस्या समाधान भइरहेको छ ? यसको जवाफ प्रस्ट रुपमा खोज्न सक्नुपर्छ,’ प्राध्यापक दाहाल भन्छन् ।

आफूसम्म आइपुगेको सूचनालाई नपर्गेलेर सीधै लाइक, कमेन्ट र सेयर गरिदिने अर्को प्रवृत्तिले यो समस्या बल्झिँदै गएको उनको तर्क छ । व्यक्तिगत रुपमा मानिस सडकमा कराउन पाउने अधिकार छ । तर अहिले सडकमा होइन सोसल मिडियामा कराउने गर्छ र एकैपटक धेरै मानिस कहाँ त्यो सामग्री पुग्छ । त्यसले हाम्रोजस्तो अशिक्षित समाजमा (अशिक्षा भनेको साक्षरता मात्रै होइन) कस्तो प्रभाव/असर पर्छ भन्ने बहस हामी कहिल्यै गर्दैनौं । हाम्रो समाज कता गइरहेको छ भन्ने अहिलेको गम्भीर र जटिल प्रश्न हो ।

यस्ता सामाजिक सन्जालमार्फत एक खालको लिडरसिप त आउला, धेरै भ्युज त पाउनुहोला तर त्यो साबुनको फोका (राम्रो देखिन्छ तर केहीबेरमा आफैँ फुट्छ नि) जस्तो मात्रै हो । यस्तो चिजलाई मिडियाहरूले अनावश्यक रूपमा स्थान दिँदा त्यस्तो प्रवृत्ति भाइरल हुन पुगेको दाहाल बताउँछन् । वास्तवमा मिडिया समाजलाई परिवर्तन गर्न सक्ने सशक्त माध्यम हो । यो मूल्यमान्यतालाई त्यसैगरी आत्मसात् गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनी सुनाउँछन् ।

सबल पक्ष
भाइरल हुने ट्रेन्ड हाम्रोमा मात्रै होइन विश्वभरि नै चलेको देखिन्छ । अहिले व्यक्तिगत मिडिया र मास मिडियाबीचको खाडल पुरिएको छ । पहिला व्यक्तिगत मिडिया थिएन । भित्ते पत्रिकामा आफ्ना कुरा राख्नुपर्थ्यो । अहिले प्रविधिको सहायताले धेरै मानिसहरू सामाजिक सन्जालको पहुँचमा छन् । यसको चरित्र विचित्रको छ । यसमा धेरैले आफ्नो विचार राख्ने गर्छन् । त्यो कुराहरू समाजले हेर्छ पनि । यसमा समाजको चरित्र कस्तो छ भन्नेले पनि अर्थ राख्छ । समाजले जहिले पनि विवादास्पद कुराहरू, नकारात्मक र घोचपेचका कुराहरू ध्यान दिएर हेर्ने र भाइरल बनाउने गरेको पाइन्छ । अहिले यही नै शसक्त माध्यम बनेको छ । जसलाई मूलधारको मिडियाले समेट्न सकेको हुँदैन ती मानिस र विचारहरू यो माध्यमबाट आउनु राम्रो पनि हो । मूलधारको मिडिया व्यापार र राज्यको सहयोग र सहमतिमा निर्माण हुन्छ । यी सबैको जिम्मेवारी समाजमा दबिएका, उजागर हुन नसकेका र अन्यायमा रहेका आवाज बाहिर ल्याउनु हो । तर अहिले सोसल मिडियाबाट झनै समाजलाई छिन्नभिन्न बनाइदिने, सानो कुरालाई पनि अनावश्यक ढंगले ठूलो बनाइदिनु चिन्ताको विषय हो ।

कसरी व्यवस्थापन गर्ने ?
समाजले पनि कहिलेकाहीँ त्यस्ता युट्युब च्यानल, व्यक्ति सामग्रीलाई बन्द गर्नुपर्छ भनेको (विरोध अर्थात् धेरै गाली गरेको) पाइन्छ । सरकारले पनि त्यस्तो सामग्रीलाई कानुनमार्फत नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । सामाजिक, सांस्कृतिक, भाषिक, लैंगिक र जातीय विखण्डन ल्याउने त्यस्ता भाइरलहरूलाई नियन्त्रण र नियमन गर्न जरुरी पनि छ । तर त्यसलाई कसैसँग राजनीतिक रिसिइबी साँध्न शक्तिशालीहरू (सरकार, राजनीतिक दल, ठूला उद्योगी व्यापारी) ले कमजोर वा आफ्ना प्रतिस्पर्धीमाथि नियन्त्रण गर्ने र कब्जा जमाउन यसैलाई दुरुपयोग गर्न सक्ने सम्भावना पनि हुन्छ । त्यसैले यो विषयमा गम्भीर ध्यान दिन आवश्यक छ ।

मिडियाको भूमिका के हो ?
मिडिया जो आधिकारिक रुपमा दर्ता भई पत्रकारिताको आचारसंहिताको पालना गर्दै मर्यादित र जिम्मेवार पत्रकारितामा विश्वास गर्छ । उसले नियम कानुनको पूर्ण पालना गरेर पत्रकारिता गर्छ । अर्को दर्ता नभएरै (खासगरी युट्युब, अनलाइन) आदिले जस्तोसुकै सामग्री पनि भ्युजका लागि प्रयोग गर्ने र त्यसलाई क्यासमा कन्भट गर्नेतिर मात्रै सोच्दछ । त्यसले नै भाइरल बनाउने काम गरिरहेको हो ।

खासगरी मेनस्टिमको अनलाइन मिडिया समाजको ऐनाका रुपमा मात्रै प्रस्तुत भएको देखिन्छ । हालै देखिएको रुपा सुनारको घटनामा दुवै पक्षलाई उसैगरी देखाइएको छ । अर्कोतिर त्रिविमा पीएचडी र एमफिल नि:शुल्क हुनुपर्ने भन्दै गरिएको आन्दोलनको समाचार पनि । यी दुई घटनालाई जसरी उठाइयो । त्यो गलत छ । यस्तोमा गहिर्‍याइमा पुगेर समाचार प्रकाशन प्रसारण गनुपर्ने थियो ।

कोही व्यक्ति भाइरल किन र कसरी हुन्छ ?
मानिस भित्री रुपमा कस्तो चरित्रको छ । समाजमा आफूलाई कसरी चिनाउँछ, उसले के कुरामा विश्वास गर्छ भन्नेले विशेष अर्थ राख्छ । कहिलेकाहीँ ठूलाबडा भनिएकाहरू, जान्ने-मान्ने मानिनेहरू र आफूलाई आफैँ विद्वान् दाबी गर्ने पनि त्यहाँ देखिन्छन् । त्यसभित्र धेरै कारणहरू लुकेको हुन्छ ।

के गर्दै छ प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत उल्लेखित घटनाक्रमलाई विशेष चासोका साथ हेरिरहेको बताउँछन् । उनले आफू नेतृत्वमा आएपछि अन्य निकायहरूसँग पनि सहकार्य गरेर काम गरिरहेको सुनाए । तर अहिले सामाजिक सन्जाल फेसबुक, ट्‌विटर र खासगरी युट्युबमा जे जस्ता विषयहरू आइरहेका छन् यिनलाई कसरी व्यवस्थापन गर्ने भनेर ठोस योजना तयार भइनसकेको उनले स्वीकारे ।

‘हामीकहाँ मिडिया र गैरमिडिया भन्ने प्रस्ट हुन सकेको छैन । त्यसले मिडियाप्रति समाजले हेर्ने दृष्टिकोण गलत बनाइरहेको छ,’ उनले भने, ‘यसलाई छुट्याउन वा व्यवस्थित गर्नका लागि नीतिगत रुपमा काम भएको जस्तो लागेको छैन । तर हामी यसमा लागिरहेका छौं जसका लागि राज्यका सम्बन्धित निकायहरू पनि समन्वय भइरहेको छ ।’

प्रेस काउन्सिललाई भरोसा राख्नेहरूका लागि उनको जवाफ काउन्सिलले केही गर्नेभन्दा पनि स्वयं भाइरल हुने व्यक्तिहरूले नै ख्याल गर्नुपर्ने सुझाए । ‘उहाँहरूमध्ये केही बौद्धिक व्यक्ति वा सेलिब्रिटी पनि हुनुहुन्छ । त्यस्ता मानिसले के सामग्री दिने वा नदिने भन्ने आफैं विचार गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो व्यक्तित्व कायम राख्न, आफ्ना कुराहरू सामाजिक सन्जालमा राख्ने अधिकार त हुन्छ तर यसले देश, जनता र समाजलाई के कस्तो प्रभाव असर पर्छ, आमनागरिकले कसरी लिइरहेका छन् । त्यो बुझ्न सक्नुपर्छ ।’ भाइरल बन्ने होडमा लागि रहेकाहरूलाई अध्यक्ष बस्नेतको सुझाव छ ।

के भन्छ प्रहरी ?
विभिन्न किसिमका गलत सूचना प्रवाह गर्ने, अरुलाई भ्रमित बनाउने र अनर्गल सामग्री हालेर चर्चा कमाउने, भाइरल बन्ने र त्यसलाई कमाइ खाने भाँडोका रुपमा प्रयोग गर्ने लगायतलाई मनिटरिङ गर्ने जिम्मा मुख्यत: प्रेस काउन्सिलको काँधमा रहेको प्रहरीको बुझाइ छ । त्यसका लागि बेला-बेला सबै पक्षसँग बैठक गरेर आवश्यक निर्णय गर्नेदेखि सम्बन्धित पक्षसँग समन्वय गरी चिठी काटेर कारबाहीका लागि सिफारिस गर्नेसम्मको काम काउन्सिलकै रहेको प्रहरी बताउँछ ।

नेपाल प्रहरी प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवर यस्ता व्यक्तिलाई प्रहरीले सूक्ष्म रुपमा निगरानी गरिरहेको बताउँछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका बारेमा अनर्गल प्रचार गर्नेहरू पक्राउ पर्ने र छुटिहाल्ने देखिन्छ नि भन्ने नेपालखोजको प्रश्नमा उनले नियन्त्रणमा लिनेबित्तिकै छुटेको नभई कानुनअनुसार अनुसन्धान गर्ने क्रममा छुटेको हुनसक्ने जवाफ फर्काए ।

साइबर ब्युरोले विशिष्ट व्यक्तिलगायत आमनागरिकलाई पनि चोट पुग्ने खालका सामग्री छन् भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सूचना नै जारी गरेपछि र आएका मुद्दामा थप प्रमाणहरू संकलन गरेर कारबाहीको दायरामा लिने क्रम बढाएपछि आमनागरिकको विश्वास बढेको प्रहरीको दाबी छ ।

‘विशिष्ट व्यक्तिको हकमा प्रहरी आफैंले पनि काम गरिरहेको छ तर अन्य व्यक्तिहरू पनि पीडित भएपछि उजुरी दिनुपर्छ अनि प्रहरीले कारबाहीको दायरामा ल्याउँछ,’ उनले भने, ‘केहीलाई कानुनी दायरामा ल्याउने काम पनि भएको छ, थप प्रमाणहरू जुटेमा कानुनी कारबाहीमा ल्याउन पनि सकिन्छ, धेरैले न्याय पनि पाएका छन् ।’

कानुन कार्यान्वयन गर्ने क्रममा अदालतले आदेश दिएका, कतिपय अनुसन्धान भइरहेका र अनुसन्धान सकिएका मुद्दाका कतिपय घटनामा आ-आफ्नै हिसाबले तर्क-वितर्क गर्दा अनुसन्धान प्रभावित पार्ने, गोलमटोल गर्न खोज्ने प्रवृत्तिहरूका कारण कहिलेकाहीँ प्रहरीलाई अप्ठ्यारो परेको गुनासो उनको छ । यो राम्रो होइन यसले स्वभाविक रुपमा कानुनी राज्य कायम गर्न असर पुर्‍याउँछ । दण्डहीनताविहीन समाज निर्माण हुनेतिर अघि बढ्छ ।

‘प्रचारप्रसार र लोकप्रिय हुने हिसाबले कानुन हातमा लिने गरी सार्वजनिक अभियानकर्मीका रुपमा मसँग जनसमर्थन छ, भन्ने हिसाबले गरिएका कुनै पनि गतिविधिमाथि प्रहरीको निगरानी रहन्छ । त्यस्ता गैरकानुनी कार्यले दण्डहीनता निम्त्याउँछ । त्यस्तो कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले भने ।

प्रहरी प्रतिवेदनले चल्न सक्ने वा सोझै हेर्न सक्ने कुनै केस (मुद्दा) हुन सक्छन् तर कुनै व्यक्ति पीडित भएको अवस्थामा भने सम्बन्धित व्यक्तिले उजुरी दिनुपर्छ । यदि नदिएमा पीडकलाई कानुनी दायरामा ल्याउन सकिने अवस्था रहँदैन । त्यसकारण कानुन कार्यान्वयन गर्ने निकायलाई सहयोग र सहजीकरण गर्नुपर्नेमा प्रहरीको जोड छ ।

भइरहेका कानुनकै आधारमा पनि आवश्यक नीति-नियम, निर्देशिका र कार्यविधिहरू बनाएर सबै निकायले सफल ढंगले कार्यान्वयन गर्न सके यस्ता गतिविधि नियन्त्रणमा लिन सकिने अवस्था छ । यु-ट्युबलगायत कतिपय घटना वा सामग्री नियन्त्रणमा लिने सन्दर्भमा वा केही घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन धेरै ढिला भइसकेको उनको भनाइ छ । ‘सम्बन्धित निकायहरू सचेत छन् । प्रेस काउन्सिलमा आएका नयाँ आएका अध्यक्षलगायतले विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ ।, उनले अन्तिममा भनेका छन्, ‘मैले जे गरे पनि हुन्छ भन्ने मानसिकता बढ्दै गइरहेका बेला राज्यका सबै सुशासन कायम गर्ने कानुन कार्यान्वय गर्ने र सेवा प्रवाह गर्ने निकाय सक्रिय हुनुपर्‍यो ।’

प्रतिक्रिया