११ महिनामा १९ हजार दुर्घटना, २३१६ जनाले गुमाए ज्यान
दुर्घटना न्यूनीकरण गर्न सरोकारवालासँग समन्वय गरी ट्राफिक नियम पालना गराउन जुट्यो प्रहरी ।

काठमाडौं । नेपालमा गत वर्षको तुलनामा यस वर्ष सडकमा सवारीसाधनका दुर्घटना बढेका छन् । चालु आर्थिक वर्ष ०७७/७८ को जेठ मसान्तसम्म देशभर कुल १९ हजार १३५ सवारीसाधन दुर्घटना भएका छन्, भने गत वर्ष १५ हजार ५५४ घटना भएका थिए ।
चालु आर्थिक वर्ष ०७७/७८ को जेठ मसान्तसम्म भएका कुल १९ हजार १३५ सवारीसाधन दुर्घटनामा परि २ हजार ३१६ जनाले ज्यान गुमाएका छन् । जसमा १ हजार ८१९ पुरुष, ३२१ महिला, १२३ बालक र ५२ जना बालिका छन् ।
त्यस्तै, गत वर्ष ०७६/७७ मा १५ हजार ५५४ सवारीसाधन दुर्घटनामा परि २ हजार २५१ जनाले ज्यान गुमाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । तथ्यांकमा हेर्दा गत वर्षभन्दा यस वर्ष दुर्घटना बढेको जस्तो देखिए पनि समग्रमा पछिल्लो समय सवारीसाधन दुर्घटना हुने दर घट्दै गएको उनले बताए ।
चालु आर्थिक वर्ष ०७७/७८ को जेठ मसान्तसम्म भएका सवारीसाधन दुर्घटनामा ४ हजार ६५४ जना सख्त घाइते भएका छन् । १५ हजार ३१८ जना सामान्य घाइते भएका छन् । सोही अवधिमा दुर्घटनामा परि १ सय १२ पशु-चौपायाको मृत्यु भएको छ, भने ३२ घाइते भएका छन् ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा बढी काठमाडौं उपत्यकामा ८ हजार ९६५ सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कुन प्रदेशमा कति दुर्घटना ?
प्रदेश १
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रदेश १ मा २ हजार ८५० सवारी दुर्घटना भएकामा ४०९ जनाले ज्यान गुमाएका छन् । जसमा ३३२ पुरुष, ५९ महिला, ११ बालक र ७ जना बालिका छन् । १ हजार १९ जना सख्त घाइते भएका छन् भने ३ हजार ४२३ जना सामान्य घाइते भएका छन् ।
प्रदेश २
प्रदेश २ मा ३ हजार ६५९ दुर्घटना भएकामा ४८९ जनाले ज्यान गुमाएका छन् । जसमा ३६७ पुरुष, ६५ महिला, ३४ बालक र २३ जना बालिका छन् । ३६३ जना सख्त घाइते भएका छन्, भने ३ हजार ७४२ जना सामान्य घाइते भएका छन् ।
वाग्मती प्रदेश
वाग्मती प्रदेशमा कुल १ हजार ३८९ सवारीसाधन दुर्घटना भएकामा ३१७ जनाको मृत्यु भएको छ । जसमा २५४ जना पुरुष, ३७ महिला, २० बालक र ६ जना बालिका छन् । ९८७ जना सख्त घाइते भएका छन्, भने १ हजार ६४९ जना सामान्य घाइते भएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कुल ३७४ दुर्घटना भएकामा १९८ जनाले ज्यान गुमाएका छन् । जसमा १५७ जना पुरुष, २६ महिला, ११ बालक र ३४ जना बालिका छन् । दुर्घटनामा ३२४ जना सख्त घाइते भएका छन्, भने २२८ जना सामान्य घाइते भएका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कुल १ हजार १२१ सवारीसाधन दुर्घटना भएकामा ४८४ जनाको मृत्यु भएको छ । जसमा ३७४ पुरुष, ७४ महिला, ३० बालक र ६ जना बालिका छन् । १ हजार २६ जना सख्त घाइते भएका छन् । ६९० जना सामान्य घाइते भएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा जम्मा २५२ दुर्घटना भएकामा ९७ जनाको मृत्यु भएको छ । जसमा ७९ पुरुष, ११ महिला, ६ बालक र १ बालिका छन् । उक्त दुर्घटनामा १६२ जना सख्त घाइते भएका छन् भने ३१० जना सामान्य घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कुल ५२५ सवारीसाधन दुर्घटना भएकामा १७४ जनाको ज्यान गएको छन् । जसमा १३३ पुरुष, ३० महिला, ८ बालक र ३ बालिका छन् । दुर्घटनामा ५५१ जना सख्त घाइते छन् । ४८८ जना सामान्य घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरण गर्न के गर्दै छ प्रहरी ?
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले सवारीसाधनको दुर्घटना न्यूनीकरण गर्न सबै सरोकारवाला पक्षसँग समन्वय गरेर ट्राफिक नियमहरूलाई प्रभावकारी ढंगबाट पालना गराउन प्रहरीले अभियान अघि बढाएको बताएका छन् ।
दुर्घटना कुनै एउटा कारणले मात्रै नभई चालक, सह-चालक, सडक तथा नियम पालना नगर्नेलगायत कारणले हुने भएकाले यी सबै पक्षलाई सचेत र जिम्मेवार बनाउने हिसाबले प्रहरी लागि परेको उनले बताए । दुर्घटना न्यूनीकरण गर्न विशेष गरी सचेतनामूलक कार्यक्रम नै बढी प्रभावकारी हुने भएकाले सबै सरोकारवाला पक्षसँग समन्वय गरेर नियमलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गराउन सचेनतामूलक कार्यक्रमलाई बढी प्राथमिकता दिएर अभियान अगाडि बढाइएको उनको भनाइ छ ।
अर्कोतर्फ आमसर्वसाधारणले सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमलाई प्रभावकारी ढंगबाट पालना गर्न सके दुर्घटना न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने उनले बताए । ‘आमसर्वसाधारणले नियमको कडाइका साथ पालन गरिदिनुपर्यो । मापसे गरेर गाडी चलाउनु भएन, जानै छ भनेर सवारीसाधनमा ओभरलोड गर्नु भएन, छतमा चढ्नुभएन, एउटै मोटरसाइकलमा तीनजना चढ्नुभएन,’ उनले भने, ‘यी यावत् कुराहरूमा विचार गर्नुपर्यो । परि आएको बखतमा यो भएन भनेर आफूले पनि भन्नुपर्यो र कानुन कार्यान्वयन गर्ने निकायलाई पनि जानकारी गराउन सक्नुपर्यो ।’ यति गर्न सके सवारीसाधनको दुर्घटना न्यूनीकरण गर्न निकै मद्दत पुग्ने उनले बताए ।
प्रतिक्रिया