बिहीबार, चैत १५, २०८०

संस्था बलियो बनाउनेभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्ति देखियो

नेपालखोज २०७८ साउन १ गते १४:३१

कांग्रेसलाई जनताको सेवक पार्टी बनाउन चाहन्छौं

नैनसिंह महर सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका युवा नेता हुन् । लामो समय विद्यार्थी राजनीतिमा रहेर नेपाल विद्यार्थी संघको अध्यक्षसम्म भएका महर एकताका पत्रकारितामा समेत सक्रिय थिए । शिक्षा र स्वास्थ क्षेत्रलाई राज्यको नियन्त्रणमा ल्याएर विपन्नवर्गलाई ती सेवा नि:शुल्क उपलब्ध गराउनुपर्छ भनेर अभियान चलाउँदै आएका महर राजनीतिमा नैतिक पक्ष सबल हुनुपर्ने कुरामा जोड दिन्छन् । स्कुल अफ डेमोक्रेसीका संस्थापक अध्यक्ष महरले बीचको एक पदावधिको विश्रामपछि पुन उक्त संस्थाको अध्यक्ष सम्हालिरहेका छन् ।

आगामी भदौको तेस्रो साता हुन गइरहेको नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा नेपालखोजले नेता महरसँग संवाद गरेको छ । प्रस्तुत छ नेपाली कांग्रेसका युवा नेता महरसँगको संवाद :

हाइलाइट्स

– जतिसुकै संसय भए पनि जतिसुकै बाधा-अवरोध आए पनि हामी यस्तो किनारमा पुगिसकेका छौं जहाँ कुनै निकास भएन भने नेपाली कांग्रेसले आफ्नो वैधानिकता गुमाउने अवस्था छ । त्यसो हुँदा कांग्रेसको अधिवेशन भदौ महिनाभन्दा बाहिर जानसक्ने स्थिति छैन । कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यसले आफ्नो शक्ति प्रजातन्त्रबाटै प्राप्त गर्दछ । यो महाधिवेशन वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व चयन गर्ने अपूर्व अवसर पनि हो ।
– बीपी कोइरालाले प्रस्तुत गर्नुभएको अवधारणालाई समयानुकूल परिष्कृत गर्दै समाजवाद प्राप्त गर्नु हाम्रो लक्ष्य हो । हामी कांग्रेस पार्टीलाई साँचो अर्थमा जनताको पार्टी बनाउन चाहन्छौं । हामी सरकारमा रहँदा होस् वा नरहँदा जनताका माग र समस्या समाधान गर्दै अघि बढ्छौं । हामी कांग्रेसलाई जनताको सेवक पार्टी बनाउन चाहन्छौं ।
– नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको क्रियाकलाप, हर्कत र बितेका पाँच वर्ष यो कार्यसमितिमा बसेकाहरुको गतिविधि हेर्दा मलाई अलिकति लज्जा बोधचाहिँ हुन्छ । ४ वर्षमा हुनुपर्ने अधिवेशन ५ वर्ष पुग्दा पनि हुन सकेको छैन । केन्द्रको मात्र होइन वडादेखि जिल्लासम्म त्यस्तै अवस्था छ । पार्टीभित्रको पछिल्लो गतिविधि हेर्दा सबैले भाषण मात्र गर्ने, कामचाहिँ गर्दै नगर्ने प्रवृत्ति हाबी भएजस्तो देखिन्छ । सभापतिका लागि करिब एक दर्जन आकांक्षी छन् केन्द्रमा मात्रै । तर पार्टीको महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीमा भएकाहरुले गर्नुपर्ने योगदान वा निर्वाह गर्नुपर्ने भूमिकामा उनीहरु चुकेका छन् । अहिले पनि पार्टीको महाधिवेशन भदौमा सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन केन्द्रीय समितिका कोही पनि चिन्तित देखिँदैनन् ।
– पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसक्नुभएको छ कि म इतिहासमा कलंकित हुने काम गर्दिनँ, यसपटक जसरी भए पनि महाधिवेशन सम्पन्न गराएरै छाड्छु । सभापतिको भावनाअनुरुप त्यही किसिमले गतिविधि पनि अगाडि बढेको छ । महाधिवेशन सम्पन्न गर्ने कुरा पार्टीको प्रजातान्त्रिकीकरणका साथै पार्टीको ओजलाई जोगाउने र वैधानिकता कायम राख्ने कुरा पनि हो ।
– अधिवेशन भनेपछि त पार्टीको राजनीतिक दस्तावेजको कुरा होला, भविष्यको कार्ययोजनाको कुरा होला पार्टीको भावी सांगठनिक स्वरुपको कुरा होला भन्ने हुन्छ तर यस्ता कुरामा केही काम भएको मैले पाएको छैन । बरु सक्रिय सदस्यमा अनेक बखेडा सिर्जना गरेर अवरोध खडागर्ने कामचाहिँ भएको छ । निकट भविष्यमा हुने अधिवेशनलाई लिएर केन्द्रीय पदाधिकारीहरुमा चिन्ता, चासो तथा गम्भीरता नदेखिनु विडम्बना नै हो ।
– पार्टीभित्र नीति तथा कार्यक्रमलाई प्रधानता दिनुभन्दा नेतृत्वमा जाने कुराले प्राथमिकता पाएको देखियो । संस्था बलियो बनाउनेभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्ति देखापर्‍यो । यसले पार्टीको क्षयीकरण मात्र गर्छ ।
– नेतृत्व मुख्य कुरा त हुँदै हो तर नेतृत्वसँगै यसका आधारभूत संस्थागत प्रक्रिया पनि हुन्छन् । विधि, प्रक्रिया, विधान, कार्यक्रम आदिको कार्यान्वयनको कुरा हुन्छ । वास्तवमा कुनै पनि पार्टीलाई उसको नीति तथा कार्यक्रमले डोर्‍याउने हो ।

पार्टीभित्रको पछिल्लो गतिविधि हेर्दा सबैले भाषण मात्र गर्ने, कामचाहिँ गर्दै नगर्ने प्रवृत्ति हाबी भएजस्तो देखिन्छ । सभापतिका लागि करिब एक दर्जन आकांक्षी छन् केन्द्रमा मात्रै । तर पार्टीको महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीमा भएकाहरुले गर्नुपर्ने योगदान वा निर्वाह गर्नुपर्ने भूमिकामा उनीहरु चुकेका छन् ।

– जबसम्म शिक्षा र स्वास्थ्यलाई राज्यको नियन्त्रणमा राखेर नि:शुल्क गर्न सकिँदैन तबसम्म देश भ्रष्टाचारबाट मुक्त पनि हुँदैन । अहिलेको अवस्थामा त दुईथरी नागरिक उत्पादन भएर एकथरीमा निराशा र आक्रोश मात्र उत्पन्न भइरहेको छ । हामीकहाँ व्यक्ति केन्द्रित सेल्फिस समाज निर्माण हुँदै छ । मैले कानुन मिचेर होस् वा कानुन संशोधन गरेर होस् नपाउने कुरा पनि पाउनुपर्छ तर अरुले कानुनमा भएका कुरा पनि नपाऊन् भन्ने धारणामा परिवर्तन नआई समाज अघि बढन सक्दैन ।

– राजनीति स्वच्छ र पारदर्शी हुनुपर्छ र त्यो नैतिकताको धरातलमा उभिएको हुन जरुरी छ । समाजको विकास अनि सुधार गर्छु भन्नेले केही न केही त्याग त गर्नुपर्‍यो नि, नैतिक आचरण त देखाउनुपर्‍यो नि । जलविद्युत्‌मा पनि नेताहरुको इच्छा हुने, स्कुलमा पनि नेताहरुको इच्छा हुने, अस्पतालदेखि बन्द-व्यापारसम्ममा नेताहरुको इच्छा हुने हो भने नेता र व्यापारीमा के भिन्नता भयो र ? राजनीतिमा अयोग्य पनि नेता हुने, भ्रष्ट पनि नेता हुने अपराधी पनि नेता हुने अनि एउटा राम्रो मानिस पनि नेता हुने हो भने जनताले कसरी फरक छुट्टाउने ? समाज सुधारक र अपराधीबीच भेद त हुनुपर्‍यो नि !

– राजनीति गर्ने हरेक व्यक्तिले आफ्नो सम्पत्ति जनतासामु देखाउनुपर्छ र त्यसलाई हरेक ४-४ वर्षमा आवधिक गर्ने प्रथा विकसित गर्नुपर्छ । समाजका अरु कुरा पारदर्शी हुनुपर्ने तर पूरै समाज परिवर्तन गर्छु भनेर हिँड्नेले चाहिँ पारदर्शी हुनु नपर्ने ।

– हामीकहाँ युवापुस्ता ३५ प्रतिशतको हाराहारीमा अर्थात् एक करोड जति छ । हाम्रो युवापुस्तामा केही समस्या पनि छ, टिनएज पुस्तामा अझ बढी समस्या छ । हाम्रो समाज पैसामुखी हुँदै गएको छ । २० वर्षपहिलेको पुस्ता नैतिक मूल्य-मान्यता अनि सामाजिकताको कुरा गर्थ्यो तर अहिलेको पुस्ता अलिक व्यक्तिवादी भएर गएको छ । यद्यपि आजको युवाले अवसर पायो भने स्वभाविक रुपमा राम्रो परिणाम दिनसक्छ। युवाशक्तिलाई परिचालन एवं व्यवस्थापन गर्न राज्यले विशेष नीति बनाउनुपर्छ ।

– नेपाली कांग्रेसमा यो पाँच वर्षयता मात्र होइन १० वर्षदेखि नै केन्द्रीय समितिमा युवाहरुकै बाहुल्यता रहँदै आएको छ । तर यी दुई कार्यकाललाई विगतसँग तुलना गरेर हेर्ने हो भने कता-कता भद्दा, गतिहीन अनि जनताको भावनाविपरीत गएर काम गर्ने प्रवृत्ति पाइयो ।

यो दश वर्षमा हामी जसरी गुट-उपगुटहरुमा समावेश भएर जे-जस्ता काम-कारबाहीमा सामेल भयौं त्यसबाट देश, जनता र पार्टीको जीवनलाई कुनै फाइदा पुगेन ।

– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि त्यसका पदाधिकारीहरु के युवा, के बूढा सबैजसो जो ५-७ वटा गुटमा विभक्त भएका हुन्छन् । एक-एकवटा कोठामा पसेर आ-आफ्नो गुटको बैठक बस्छन् । केन्द्रीय समितिको बैठकमा समग्र पार्टीको कुरा हुँदैन, ती गुटमा आएका कुरा कसैले चिटमा त कसैले मोबाइलमा टिपेर ल्याएका हुन्छन् त्यही कुरा मात्र बोलिन्छ । कार्यसमितिमा स्वतन्त्र रुपमा कुराहरु आउनु-उठ्नुपर्ने हो । त्यहाँ त देश, जनता र पार्टीका विषयमा गम्भीर छलफल, चिन्तन-मनन आदि हुनुपर्ने हो खुला रुपमा, तर त्यसो हुँदैन । त्यहाँ जनजीविका, देशको विकास वा पार्टीको सुधारका कुरा उठ्दैनन् । खाली आफ्नो गुटले के-कति भाग पाउने ? कुन व्यक्तिले के पाउने ? पार्टी ले के लिने ? यदि पार्टी सरकारमा छ भने सरकारबाट क-कसले के प्राप्त गर्ने ? आदि कुरा मात्र हुँदै आएका छन् । यो अहिलेको दुर्भाग्य नै हो ।

– यो दश वर्षमा हामी जसरी गुट-उपगुटहरुमा समावेश भएर जे-जस्ता काम-कारबाहीमा सामेल भयौं त्यसबाट देश, जनता र पार्टीको जीवनलाई कुनै फाइदा पुगेन । यो हामी सबैले अनुभूति गरेका छौं, केन्द्रीय समितिका साथीहरुले पनि गर्नुभएको होला ।

– नेतृत्व कसैले दानमा दिँदैन यो थुतेरै लिने हो । त्यसरी थुतेर लिनका लागि महाधिवेशनमा जुन चार हजार-पैंतालीस सय प्रतिनिधि आउँदै छन् उनीहरुलाई विश्वासमा लिने आधार हामी युवाहरुले प्रस्तुत गर्न सक्यौं भने जुनसुकै पदमा युवा नेतृत्व स्थापित हुन समस्या छैन ।

– नेपाली कांग्रेसलाई युवाहरुको पार्टी बनाउनुपर्ने कुरामा दुईमत छैन । अहिले पनि हाम्रा करिब ३५ प्रतिशत सदस्यले युवा पुस्तालाई प्रतिनिधित्व गर्छन् । अब सक्रिय सदस्यमा मात्र होइन पार्टीका सबै समितिहरुमा पनि युवाहरुको त्यतिकै सहभागिता हुनुपर्छ ।

– लोकतन्त्रलाई संस्थागत गर्नु नै कांग्रेसको अहिलेको प्राथमिकता हो । लोकतन्त्र संस्थागत नभई विकास सम्भव छैन । तर इतिहास हेर्ने हो भने नेपालमा प्रजातन्त्रको संस्थागत विकासमै बारम्बार समस्या सिर्जना हुने गरेको छ ।

– राजनीतिक अधिकार मात्र प्रजातन्त्र होइन, राजनीतिक अधिकारसँगै जनताका केही आधारभूत अधिकार र आवश्यकता हुन्छन् । जस्तो खानाको अधिकार, शिक्षा, स्वास्थ अनि संस्कृतिको अधिकार, सुरक्षा आदिको अधिकार । जनताका यी आधारभूत आवश्यकताहरु पूर्ति गर्न सकिएन भने राजनीतिक अधिकारले मात्र लोकतन्त्र बलियो हुन सक्दैन ।

नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको क्रियाकलाप, हर्कत र बितेका पाँच वर्ष यो कार्यसमितिमा बसेकाहरुको गतिविधि हेर्दा मलाई अलिकति लज्जा बोधचाहिँ हुन्छ । ४ वर्षमा हुनुपर्ने अधिवेशन ५ वर्ष पुग्दा पनि हुन सकेको छैन ।

– नेपाली कांग्रेस सोसल डेमोक्रेसीमा विश्वास राख्छ । नेपालको संविधानमा पनि त्यही लेखेका छौं हामीले । प्रजातान्त्रिक समाजवादको जगमा खडा हुने समाजमा सामाजिक सुरक्षालगायत रुल अफ लसम्मको कल्पना त गरियो तर त्यसको कार्यान्वयन गर्न नसकिरहेको स्थिति छ अहिले । अब नेपाली कांग्रेसले प्रमुख रुपमा यसमा ध्यान पुर्‍याउन सक्नुपर्छ ।

– पछिल्ला केही समयययता हामीकहाँ नेगेटिभिटी मात्र भएको छ । कुनै पनि कुरालाई नकारात्मक रुपमा हेर्ने पर्सेप्सनको माइन्ड सेट भएजस्तो भएको छ । यो नकारात्मक सोचको अन्त्य जरुरी छ । हामीमा पोजेटिभ एटिच्युटको विकास पनि जरुरी छ ।

– श्रम गर्ने मानिस हामीकहाँ सबैभन्दा तल्लो स्तरको मानिन्छ । मैले पार्टीमा श्रमका प्रति सम्मान गर्ने वातावरण सिर्जना गर्न एउटा अवधारणासमेत प्रस्तुत गरेको छु । हामीले श्रम गर्ने मानिसलाई अपमानका दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य गर्नैपर्छ ।

विस्तृत संवाद भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया