बिहीबार, वैशाख १३, २०८१

बीपीलाई दरबारले बुझ्न सकेन

बीपीले १८ महिना शासनमा रहँदा भारतसँग जुन व्यापार सन्धि गर्नुभयो, सगरमाथा विवादमा जसरी माओ र चाउ एन लाई लाई सहमत गराउनुभयो त्यसबाट पनि उहाँको क्षमता झल्किन्छ ।

नेपालखोज २०७८ साउन १४ गते ११:३२

‘बीपी आफ्नो राजनीतिक जीवनमा हिंसा र अहिंसाको विवादमा फस्नुभएन’

होमनाथ दाहाल विश्वेश्वरप्रसाद (बीपी) कोइरालासँग निकट रहेर काम गरेका पत्रकार हुन् । २०३३ सालमा बीपी भारतको निर्वासन त्यागेर नेपाल फर्किएपछि दाहाल उनको नजिक मात्र भएनन् दैनिक बैठकीको महत्त्वपूर्ण सदस्य नै बने ।

यो क्रम बीपीको देहावसानसम्मै चल्यो । यसको अर्थ उक्त समयावधिमा दाहालले बीपी कोइरालालाई नजिकबाट चिन्ने-बुझ्ने अवसर प्राप्त गरे । एक जमनामा दाहालद्वारा सम्पादित राष्ट्रपुकार साप्ताहिक बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको प्रवक्ताजस्तै थियो । नेपाल पत्रकार महासंघको निर्वाचित सभापति रहिसकेका वरिष्ठ पत्रकार दाहाल पछि गएर ओखलढुंगाबाट नेपाली कांग्रेसको टिकट पाई सांसदसमेत भए ।

दिवंगत बीपी कोइरालासँगको संगतलगायत विषयवस्तुमा दाहालको स्मरण, अनुभव, मूल्यांकन आदि नेपालखोजले खोतल्ने प्रयास गर्‍यो । दाहालले नेपालखोजसँगको यो कुराकानीका क्रममा केही त्यस्ता ऐतिहासिक र अहिलेसम्म सार्वजनिक नभएका कुराहरु पनि उल्लेख गरे जसको साक्षीमध्ये अहिले उनी एकजना जस्तो मात्र जीवित छन् । दाहालसँको कुराकानी हामी दुई भागमा प्रस्तुत गरेका छौं । यसअघिको भाग (दरबारबाट बीपीलाई बारम्बार धोका !) शीर्षकमा प्रकाशन गरेका थियौं भने आज हामीले कुराकानीको दोस्रो भाग प्रस्तुत गरेका हौं । प्रस्तुत छ वरिष्ठ पत्रकार दाहालसँगको कुराकानीको दोस्रो भाग :

हाइलाइट्स :

– बीपी आफ्नो बौद्धिक समूहबीच रमाइलो गर्नुहुन्थ्यो । ख्याल-ठट्टा, मजाकमा पनि रमाउनुहुन्थ्यो । कहिलेकाहीँ बेलुका थोरै पिउनुहुन्थ्यो, सीमित मान्छेहरुसँग मात्र अनि त्यो पनि हाई क्वालिटीकाे ।
– उहाँ पटकपटक भन्नुहुन्थ्यो- अब म लेख्छु, मलाई लेख्नु छ, दुर्भाग्य उहाँले भने जसरी लेख्न पाउनु भएन । कतिपय कुराहरु उहाँकै कलमबाट आउनुपर्ने थियो तर उहाँलाई स्वास्थ्यले साथ दिएन ।
– बीपीको अन्तिम लेख धर्म, ईश्वर र नियति हो जुन उहाँले हामी केही साथीहरुसँगको छलफलमा भन्नुभएको कुरा समेटेर मैले तयार गरेको थिएँ ।
– बीपीलाई नेपालको दरबारले बुझ्न सकेन, त्यतिबेलाको नेपाली समाजले पनि बुझ्न सकेन । अहिलेको स्थिति हेर्दा मलाई के लाग्छ भने उहाँलाई नेपाली कांग्रेस, उहाँका हामी अनुयायी, कार्यकर्ताहरुले पनि बुझ्न सकेनौं ।
– बीपी आफ्नो राजनीतिक जीवनमा हिंसा र अहिंसाको विवादमा फस्नुभएन । उहाँले बारम्बार दुवै किसिमका अभियान चलाउनुभयो तर जीवनको पछिल्लो चरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति बुझेर देशको हितलाई सर्वोपरि मानेर हिंसात्मक राजनीति त्याग्नुभयो भने देशबाहिर बसेर राजनीति पनि गर्नु भएन ।
– बीपीले हामीलाई दिनुभएको मूलमन्त्र राष्ट्रिय मेलमिलापको मन्त्र हो जुन आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ । अहिले देशमा उत्तर र दक्षिणका शक्तिबीच जुन हानाथाप छ, टाढाको शक्ति पनि यसमा भिडेका छन् यस्तो बेला बीपीको राष्ट्रिय मेलमिलाप अझै सान्दर्भिक भएर गएको छ ।
– हामीले आफ्नो क्षमताअनुसार राजनीति गर्दै विशेषत: दुई छिमेकीसँग मित्रवत् व्यवहार गर्न सक्यौं भने हाम्रो अस्तित्व रहन सक्ला । त्यसका लागि पहिले हामीबीच नै मेलमिलाप हुनुपर्‍यो । यो बीपीको अन्तिम सन्देश हो र यो नेपालको अस्तित्व रहुन्जेल नेपालहरुले बिर्सन नहुने कुरा हो ।
– बीपी बिरामी भइरहनुभयो, हिँडिरहनुभयो, संगठन गरिरहनुभयो, आफ्ना विचारहरु दिइरहनुभयो, उहाँमा एउटा बेग्लै किसिमको ऊर्जा थियो जसले गर्दा उहाँले सारालाई साथ लिएर हिँड्नुभयो ।
– अहिलेको पुस्ताका नेताले बीपीबाट लिने कुरा भनेको जुनसुकै पार्टी वा विचारमा लागे पनि राष्ट्रिय एकता कायम रहनुपर्छ त्यसका लागि प्रमुख शक्तिहरुबीच मेलमिलाप हुनुपर्छ भन्ने नै हो ।
– मूल कुरा जनता हुन्, मुलुकको अस्तित्व हो भन्ने कुरामै जोड छ मेलमिलापको नीतिमा ।
– बीपी गम्भीर अध्येता हुनुहुन्थ्यो । विश्वको समसामयिक राजनीति तथा इतिहासको गहिरो अध्ययन थियो उहाँमा ।
– बीपीले १८ महिना शासनमा रहँदा भारतसँग जुन व्यापार सन्धि गर्नुभयो, सगरमाथा विवादमा जसरी माओ र चाउ एन लाई लाई सहमत गराउनुभयो त्यसबाट पनि उहाँको क्षमता झल्किन्छ ।
– केमो दिएको ३/४ घण्टा बीपीलाई निकै गाह्रो हुन्थ्यो । यद्यपि उहाँ कुरा नगरी बस्न सक्नुहुन्न्थ्यो । कुरा गर्न पाउनुभएन भने उहाँ झन् बिरामी हुने ।
– असाधारण क्षमता भएको राष्ट्रवादी नेता हुनुहुन्थ्यो बीपी । हरदम जनताको पक्षमा काम गर्ने इमानदार नेता । राष्ट्रियता र प्रजातन्त्र उहाँको मूलमन्त्र । बीपीमा दूरदृष्टि थियो ।
– उहाँको जीवन राष्ट्रियता र प्रजातन्त्रका लागि संघर्ष गर्दागर्दै बित्यो । जुन मिसन लिएर उहाँ नेपाल आउनुभएको थियो त्यो मिसन पूरा हुन पाएन । त्यसैले उहाँ असफल पनि ठहरिनुभयो ।
– नयाँ पुस्तासम्म बीपीको विचार, काम र व्यवहार पुर्‍याउनुपर्ने आवश्यकता छ । यो काम हुन सकेको छैन तर अहिलेको नेपाललाई यसको ठूलो आवश्यकता छ ।
– नेपालमा सबैभन्दा बढी पीएचडी बीपीकै बारेमा भएको छ ।

प्रतिक्रिया