भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद

कञ्चनपुर । वेदकोट नगरपालिका-१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।
चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो ।
सुपप्र०१००१ क १९०१ नंको ट्रकमा अवैधरूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
उनका अनुसार बरामद चिनीको मूल्य रु तीन लाख १८ हजार ५०० र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य रु छ लाख ८१ हजार गरी जम्मा रु नौ लाख ९९ हजार ५०० रहेको छ ।
चिनीसहितको मिनी ट्रक र चालक भरत विष्टलाई कानूनबमोजिम आवश्यक कारवाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबीच प्रहरीले आज भीमदत्त नगरपालिका-१ भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनीसमेत बरामद गरेको छ ।
गुप्ताको गोदाममा छापा मारी प्रहरीले रु दुई लाख ७३ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया