तीर्थ श्रेष्ठकाे गजल
तिर्थ श्रेष्ठ
२०७८ साउन १६ गते ८:०८

गुँडमा बचेरा छन्, चरा चाराको खोजीमा
धरती जलेको छ, मान्छे ताराको खोजीमा
साँझपख अस्ताउनु अघि उदास छ घाम
फेरि उदाउनलाई अर्को सहाराको खोजीमा
जंगल पीठमा बोकेर बसेको छ यहाँ पहाड
तिर्खाले तप्त छ कुनै छहराको खोजीमा
वर्षौंदेखि उभिएको उभियै छ यहाँ रुख
आफूसँग बेरिन आउने लहराको खोजीमा
बाँच्न सकिएन मान्छेको दुष्टताले गर्दा यहाँ
आकाश छ आत्महत्या गर्न पहराको खोजीमा

तीर्थ श्रेष्ठ
तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया