शुक्रबार, वैशाख १४, २०८१

हिउँको पहाडको जीवन गाथा ‘द्रौपदी अवशेष’

कृष्ण कँडेल २०७८ साउन १६ गते ११:५८

उच्च हिमाली भेकको संस्कृति र जीवनशैलीलाई समेटेर नीलम कार्की निहारिका सांग्रिला बुक्सको प्रकाशनमा नयाँ उपन्यास “द्रौपदी अवशेष “ लिएर प्रकट भएकी छन् । डायस्पोरामा बसेर साहित्य साधनमा लागेकी नीलमको यो विशुद्ध सांस्कृतिक उपन्यास हो । नेपालको उच्च हिमाली भेकमा बस्ने जनता तिनको रहन सहन र दु:खले जेलिएको जीवन गाथा छ यो उपन्यासमा । र, छ बहुपति प्रथा जसलाई देशको कानुनले वर्जित गरेको छ । तर पनि पुस्तौं-पुस्तादेखि उनीहरू त्यसैमा अभ्यस्त छन् । यो उपन्यासका मुख्य पात्र पेमा र ग्याल्जेनको ह्रदयमा यसका विरुद्ध विद्रोहको राँको नसल्केको पनि होइन तर नङ-मासु भएर बसेको मानव सभ्यताको कलंकको यो पर्खाललाई कसले ढाल्न सक्ने ? यस्ता कुसंस्कार ढाल्ने त शिक्षा हो नि तर ति उच्च हिमाली गाउँमा शिक्षाको ज्योति जूनकिरी झैं पिर्लिक्क देखिएर गायब हुन्छ ।

आमाको उमेरको भाउजूलाई श्रीमती स्वीकार्न ग्याल्जेनको मनले मानेकै छैन् । तर महाभारतमा पाँच पाण्डवकी आमाले अर्जुनलाई दाजुभाइ मिलेर बाँड्नु भन्ने आदेशको कारण द्रौपदी साझा श्रीमती भएजस्तै रहेछ बहुपति प्रथा ती सुदूर हिमाली भेकका गाउँहरूमा । परिवारको जेठो दाजुले बिहे गरे अरू भाइहरूलाई पनि लोग्ने सरहकै हक लाग्दो रहेछ ।

दु:खको माखे सांग्लोमा जेलिएर पनि माया प्रितीका फूलहरू फूलेका छन् त्यहाँ । कतिपय मायाहरू अंकुराएर पनि फूल्न सकेका छैनन् ।उपन्यासमा पेमा ग्याल्जेन र वाग्दीहरूका मनभित्रका आँधीलाई लेखकले छाम्ने प्रयास गरेकी छन् । बिरामीलाई डाक्टरले छामे झैं ।
उपन्यासको मुख्य पात्र ग्याल्जेन भन्छ- “यही कालो पहाड़ हिउँको टोपी लगाएर सेतो हिमाल हुन्या छ ।” एकछिन हेर्न रमाईलो हो सर बाँच्न्यालाई मुस्किल छ ।“ आफैंले भोगिरहेको जीन्दगीप्रति व्यंग्य कस्दै ग्याल्जेन अगाडि भन्छ- “तम्रो जस्तो मोटरको बाटो भया सरर मोटरमा आउन्या थियो । कुहिएका रासन खान पर्थेन । हिँड्दा-हिँड्दै भिरबाट लड्थेन । माथिबाट ढुंगा खसेर मर्थेन ।“ यो पात्रले बेलाबेलामा दार्शनिक कुरा गरेर झकझोर बनाउँछ । “सपनाले आकांक्षा बढाउँछ । त्यही आकांक्षाले दास बनाउँछ मान्छेलाई ।” सपना देख्न निदाउन पर्छ म राम्रो निदाउन सक्या नाईं, कसरी निदाउन यी पात्रहरू कतै प्रकृतिले ठगेको छ कतै देशको शासन शैलीले ठगेको छ ।

यहाँ जाडो छल्न पहाडबाट तराई झर्नुपर्ने बाध्यता छ । जाडोमा ५/६ महिना स्कुल बन्द हुने र स्कुललाई अस्थायी रूपमा तल सार्नुपर्ने बाध्यता छ । तराईमा जाडोमा गाह्रो । हिउँदमा पहाडमा सारो । पीडा छ न्यून आय भएका सबै नेपालीलाई तिनै पीडै-पीडाको भिन्न संस्कृतिमा बाँच्न विवश नेपालीको कथा हो द्रौपदी अवशेष ।

कर्णालीको दु:खबारे नीलमको टिप्पणी यस्तो थियो- यार्सा खोज्न जानेको व्यथा ,भोकमरी र मक्किएको चामलको कथा अनि तुइनमा झुन्डिएको जीवन देख्दा मेरो मनले सोधीरह्यो नेपाल सबै नेपालीको हो कि होइन ? यही प्रश्न मैले पनि गर्छु निहारिका हिमाल, पहाड, तराई मधेसमा बस्ने सबै नेपालीको हो कि होइन नेपाल ? राणा ,पञ्चायत, प्रजातन्त्र, गणतन्त्र अझ भनौं संघीय गणतन्त्रसम्म आइपुग्दा पेमाहरू किन शिक्षाको उज्यालो घामबाट वञ्चित छन् ? मलार सदाहरू भोक-भोकै किन मर्नुपर्छ ? यो देशको एउटा नागरिकले आफन्नो सन्तानको लास गाड्ने ठाउँ नपाएर कोसीमा बगाउन किन बाध्य छ ?

अन्त्यमा मैले निहारिकाको चीरहरण र योगमाया पढेको छु । चीरहरणको लेखकीय शैली र प्रस्तुतिले म अत्यन्त प्रभावित भएको थिएँ । यो उपन्यास पनि अध्ययन अनुसन्धान गरेर लेखेको हुँदा वर्तमान र भावी पुस्तालाई उच्च हिमाली भेकमा बस्ने नेपालीको जीवनशैलीबारे जानकारी गराउन रिफरेन्स बुक साबित हुनेछ ।

प्रतिक्रिया