बिहीबार, वैशाख २०, २०८१

मेलम्चीमा फेरि बाढी, यस्ता छन् कारण !

‘मेलम्चीमा अझै सोच्दै नसोचेको बाढी आउन सक्ने जोखिम उच्च’

मीना साउँद २०७८ साउन १८ गते १८:३५

बाढी-पहिरोबाट आगामी क्षति हुन नदिन के गर्ने ?

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढी आएको छ । जसले गर्दा मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो नोक्सानी पुर्‍याएको छ । मनसुनको सुरुवातमै गत असार १ गते गएको बाढीले हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँचजनाको मृत्यु भएको थियो । २० जना अझै बेपत्ता छन् । नेपालमा यस वर्ष जेठ २८ गते नै मनसुन भित्रिएको थियो ।

यस वर्ष मनसुनमा औसत बढी वर्षा हुने र बाढी–पहिरोका घटना पनि बढी हुन सक्ने भन्दै मौसमविद्‌हरूले सरकारलाई पर्याप्त पूर्वतयारी गर्न आग्रह गरेका थिए । तर, सरकारले भने क्षति न्यूनीकरण कसरी गर्ने भन्ने भन्दा पनि बाढी–पहिरो गइसकेपछि राहत वितरण कसरी गर्ने भन्नेतर्फ बढी केन्द्रित हुँदा मनसुनको सुरुमै बाढी–पहिरोले ठूलो जनधनको क्षति गरेको जानकारहरू बताउँछन् ।

यस्तो छ मेलम्चीमा फेरि बाढी आउनुको कारण :
गत असार १ गते गएको बाढी-पहिरोले ठूलो क्षति गरेको मेलम्चीमा ४६ दिन नबित्दै पुनः बाढी आएको छ । जलवायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार शनिबार मेलम्ची क्षेत्रका दुई मौसम मापन केन्द्रमा एउटामा २० मिलिमिटर र अर्कोमा जम्मा ३७ मिलिमिटर वर्षा भएको छ, जसले बाढी जान सक्ने सम्भावना हुँदैन । तर, माथि त्यसको सिरानमा ठूलो मात्रामा लेदो थुप्रिएको थियो । जसलाई पहिला हिउँले रोकेर राखेको थियो भने अहिले त्यो हिउँ पग्लिएको छ । त्यहाँ रुख बिरुवाहरू पनि छैनन् । पहिला माथि जुन गेग्रान थेग्रिएको अवस्था थियो त्यसैमाथि गत असार १ गते पहिलो पहिरो गयो । त्यो पहिरोले त्यहाँको भू-बनोट अझै कमजोर बनाइदिएको थियो । त्यही ठाउँबाट अलिअलि गर्दै पहिरोको ढिक्का खस्दैखस्दै नदीमा गइराख्यो । यसपालि पनि जुन कमजोर भू-बनोट थियो त्यो खसेर त्यही नदीमा गयो र नदी थुनियो । थुनिएको नदी सामान्य वर्षाले पनि एकैचोटि फुट्यो र अहिलेको दोस्रो बाढी आएको हो । सामान्य भाषामा यसलाई एकसँग अर्को जोडिएको विपत् पनि भनिन्छ ।

मेलम्चीमा फेरि हामीले सोच्दै नसोचेको बाढी आउन सक्छ
जलवायु तथा प्रकोप विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार मेलम्चीमा अझै हामीले सोच्दै नसोचेको बाढी आउन सक्ने जोखिम छ । मेलम्चीमा पहिरो खस्ने क्रम रोकिएको छैन । ‘पानी त धेरै ठूलो होइन । पानी पर्‍यो । पानीले पहिरो ल्यायो । पहिरोले नदी थुनियो । पहिरोले नदी थुनिएर त्यहाँ भएको पागो माटोसहित एकैचोटि फुटेर नदीको दुवै किनाराहरू काट्यो,’ प्रकोपविद् डा. उप्रेतीले भने, ‘दुवैतिरको भू-बनोट काटेपछि त्यहाँ पहिरो खस्ने क्रम अझै रोकिएको छैन । अहिले त धेरै आएकै छैन । अब ठूलो पानी पर्‍यो भने त्योभन्दा ठूलो बाढी आउन सक्ने सम्भावना छ । अहिलेसम्मकै नआएको बाढी आउन सक्छ । हिजो नेपाल सरकारले सार्वजनिक गरेको भिडियो हेर्दामाथिको भू-बनोटको अवस्था हामीले आकलन गरेभन्दा पनि अझै खतरनाक छ भन्ने देखाएको छ ।’

आगामी क्षति हुन नदिन के गर्ने ?

माथिल्लो भू–बनोटको विस्तृत अध्ययन गर्ने
जलवायु तथा प्रकोप विज्ञ डा. उप्रेतीका अनुसार मेलम्चीमा आगामी क्षति हुन नदिन माथि मुहानमा क्षेत्रमा रहेको भू–बनोटको विस्तृत अध्ययन गर्न अत्यन्तै जरुरी छ । अहिले देखिएको भू–बनोटको नक्सा माथि हेलिकोप्टरबाट देखिएको नक्सा मात्रै हो कि ? या त्योभन्दा अझै बढी खतरा छ कि ? विज्ञहरूको टोलीले गएर त्यसको फिल्ड सर्वेक्षण गर्न आवश्यक छ । त्यो सर्वेक्षणमा अब त्यस क्षेत्रमा पहिरो आउन सक्ने सम्भावना कति छ वा पहिरो कति तल खस्न सक्छ भन्ने कुराको विज्ञहरूले विस्तृत अध्ययन गर्नुपर्‍यो ।

बाढी पूर्वसूचना प्रणाली जडान
बाढी आउने जोखिम छ वा छैन भन्ने कुराको पूर्वजानकारी दिने बाढी पूर्वसूचना प्रणाली जडान गर्न अत्यन्तै आवश्यक रहेको विज्ञ डा. उप्रेतीले बताएका छन् । यसले नदीमा पानीको वहाब कति छ र बाढी आउने जोखिम छ वा छैन भन्ने कुराको पूर्वसूचना दिन मद्दत गर्छ । यसले बाढी आउनबाट रोक्न नसके पनि जनधनको क्षति कम गर्न सहयोग हुन्छ । मेलम्चीमा रहेको बाढी पूर्वसूचना प्रणाली यसअघि आएको बाढीले बगाएको थियो । अहिले त्यहाँ कम्तीमा पनि चारवटा स्टेसन राख्न आवश्यक रहेको उनले बताए ।

नागरिकलाई सूचना प्रणालीमा जोड्ने
त्यहाँ जडान गरिएको सूचना प्रणालीसँग समुदायलाई जोड्नका लागि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको स्थानीय आपत्‌कालीन केन्द्रसँग त्यसको समन्वय गर्न आवश्यक रहेको विज्ञ डा. उप्रेतीले बताएका छन् । त्यसपछि नगरपालिकाले नदीमा पानीको वहाब कति छ, कति बढी रहेको छ भन्ने कुराको मोनिटरिङ गर्नुपर्‍यो । र, नगरपालिकाले त्यहींबाट आफ्ना नागरिकलाई एसएमएसमार्फत जानकारी गराउन जल तथा मौसम विज्ञान विभागको समन्वयमा एनटीसी र एनसेलको एसएमएस सिस्टमबाट बाढीको सूचना दिन आवश्यक छ । विज्ञ डा. उप्रेतीका अनुसार त्यो सूचनालाई तुरुन्तै लागु गर्न सरकारले त्यसलाई हाइप्रायोरिटीमा राखेर गर्न आवश्यक छ ।

प्रतिक्रिया